लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र

बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो।

बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताए। ‘अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौं, उनले भने-आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ।’ उनले स्थानीय स्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने बताए।

‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाहरु र अन्यत्रका भाषाहरुमा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाहअनुसार हामीले बुटवलको चलनचल्तीअनुसार नै प्रयोगमा आउने बडापत्र बनाएका छौं, उनले भने-यसमा विज्ञहरुले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा हामीलाई सुझाव दिनुहोला, समयानुकल परिमार्जन गर्दै लगिन्छ।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताइन्। उनले बुटवलले आगामी दिनमा अरु भाषामा बडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताइन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ।

बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन्।

आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ।

सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने छ। कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ।

बडापत्रलाई पुस्तकका रुपमा प्रकाशन गरिएको र छिटै नै डिजिटल रुपमा सबै वडाहरुमा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित