
स्थानीय उद्धार टोलीबाट पत्ता नलागेपछि रुपन्देहीको मर्चवार क्षेत्रमा मंगलवार मूर्ती बिसर्जनको क्रममा डुबेर बेपत्ता भएका स्थानीय युवाको खोजतलासका लागि सशस्त्र प्रहरी बलका तालिम प्राप्त खोताखोरको परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीका डीएसपी तुलसीराम पाण्डेले मुग्लिङ नजिकको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको बिपतद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना खोताखोर ल्याएर खोजतलास सुरु गरिएको बताए ।
उनका अनुसार बुधवार बिहान ७:३० देखि खोजतलास सुरु गरिएको छ । स्थानीय युवाहरु डुबेको स्थानमा नदी गहिरो र पिंधमा लेदो र ठुला ढुंगाहरु पनि रहेको उनले बताए । दुर्गा भवानीको मूर्ती बिसर्जनका क्रममा मंगलवार दिउँसो रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सीमानामा रहेको दुई मुहानमा डुवेर कोटहीमाई-१ का २० बर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए ।
मूर्ती बिसर्जनकै क्रममा डुवेर उक्त ठाउँकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यू भएको थियो । उक्त स्थान तिनाउ र दानव नदीको संगमस्थल हो । विगतका वर्षमा पनि मूर्ति बिसर्जन गर्ने क्रममा उक्त स्थानमा यस्ता घटनाहरु हुने गरेको स्थानीयले बताएका छन् ।
स्थानीय उद्धार टोलीबाट वेपत्ताको पत्ता नलागेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले गोताखोर परिचालनका लागि गृह मन्त्रालयसँग माग गरेपछि गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको तालिम प्राप्त गोताखोर टिम परिचालन गर्न भनेको हो ।