
हेलिकप्टर जस्तै आवाज निकालेर पैदल यात्रुलाई तर्साउने मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले कारवाही थालेको छ ।
गत बुधवारसम्म १८ वटा मोडिफाइ गरेका बाइक नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए । उनका अनुसार जिल्लाभर नागवेली गुड्ने, ध्वनि प्रदूषण हुनेगरी आवाज निकाल्ने मोटरसाइकललाई कारवाही चलाइएको छ ।
‘ब्लुबुकमा भए अनुसारबाहेक सवारी साधनको स्वरुप परिवर्तन गर्न पाइँदैन’– प्रमुख मल्लले भने– ‘हामीले पहिलो पटकलाई अधिकतम एक हजार पाँच सय जरिवाना गर्छौं । नमान्नेलाई यातायातमा पठाइदिन्छौं त्यहाँ पाँचदेखि सात हजार जरिवाना हुन्छ ।’
उनका अनुसार साइलेन्सर उचाल्नेदेखि मोडिफाई सम्बन्धी केही पनि गर्न पाइँदैन । पैदल यात्रुलाई आतंकित बनाएको, शान्तसँग घर पसलमा बसेकालाई कानै थुन्नुपर्ने गरी डिष्टर्व गरेको, नागबेली गुड्ने मोटरसाइकलबाट ज्यानै जोगाउन मुस्किल भएको गुनासा आएका थिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयसँग संयुक्त चेकिङ बसेर पनि कारवाही गर्छ । चेकिङ पनि फरक–फरक र नपत्याउँदा ठाउँमा बस्ने गरेको छ । भाग्ने अवस्था नराखिने मल्लको भनाइ छ । विद्यालय अस्पताल आसपामा पनि एक्सीलेटर बटारेर ध्वनि निकाल्ने, हर्न बजाउन र ध्वनि प्रदूषण हुनेगरी आवाज दिन पाइँदैन । कहीं कतैबाट सवारी साधनले भ्वालेन्स गरेको गुनासो आए प्रहरीले तत्काल कारवाही गर्छ ।