
संविधान दिवसमा आममाफी पाएर जेल मुक्त भएकाे महिनादिन नबित्दै रुकुम पश्चिमका लाेकेन्द्र भनिने लाेकबहादुर बिकले महिलाको घाँटी रेटेर हत्या गरेका छन् ।
राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ९ सिम्ली बस्ने ३३ वर्षीय लोकबहादुरले जिल्लाकै मुसीकोट नगरपालिका ७ साँखकी २८ वर्षीय भावना विकको हत्या गरेका हुन् ।
उनी बाहिर निस्केको एक महिना नहुँदै यस्तो घटनामा संलग्न भएपछि गम्भीर अपराधमा जोडिएकालाई आममाफी दिएर आलोचना भएको सरकार र सिफारिस गर्ने राष्ट्रपतिमाथि थप आलोचना हुने भएको छ ।
भावनाको हत्यामा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मंगलबार बिहान खलङ्गाको सत्कार होटेलको १ नम्बर कोठामा भावनाको शव फेला परेको थियो । सो घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा लोकबहादुरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।