
गाईवस्तुमा देखापरेको लम्पी स्किन रोगको संक्रमण नवलपरासीमा बढ्दै गएको छ । सबैभन्दा बढी गाईमा रोगको संक्रमण फैलिन थालेको हो । यो रोगबाट जिल्लामा १८ चौपायको मृत्यु भएको छ ।
जसमा १७ वटा गाई र १ भैंसी रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिए ।
रोग फैलिएपछि विज्ञ केन्द्रले स्थानीय तहमा रहेका पशुसेवा शाखाबाट चिकित्ससहितको प्रावधिक खटाएर औषधि वितरण र खोप लगाउन सुरु गरेको चौधरीले बताए ।
अहिलेसम्म ४०६ वटा चौपाय संक्रमित भएकाले उनीहरुको उपचार गरिएको छ । रोग संक्रमित देखिएकामा ७ वटा भैसी र बाँकी सबै गाईमा हो । संक्रमणबाट जोगाउन २ हजार ८४५ गाई भैंसीलाई खोप दिइएको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी रामग्राममा १०२ चौपायमा संक्रमण देखिएको छ । रोग नियन्त्रणका लागि ४ हजार डोज खोप आएको छ ।
जसमा पालिकाअनुसार खोप पठाएर उपचार सुरु गरिएको चौधरीले बताए। खोजपड्ताल जारी रहेकाले रोगी पशुको संख्या बढेर १ हजारको हाराहारीमा पुग्न सक्ने विज्ञ केन्द्रका प्रमुख चौधरीको अनुमान छ ।
जिल्लामा व्यवसायीक रुपमा रहेका र घरायसी गाई भैंसीको संख्या १ लाख २० हजारको हाराहारीमा रहेको चौधरीले जानकारी दिए । जसमा गाईको संख्या ७५ हजार र भैंसीको संख्या ४५ हजारको हाराहारीमा रहेको विज्ञ केन्द्रले जनाएको छ ।