
दुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरिएको कपडा र ढुवानीका साधन रुपन्देही प्रहरीले बरामद गरेको छ । ती कपडा र ढुवानीका साधन करिब ५ लाख रुपैयाँबराबरको भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीबाट र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लोफडियाबाट गत सोमबार कपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार, रुपन्देहीको कोटहीमाई गाउँपालिका-३ निवासी विजय भरले चलाएको लु ४७ प ४८३७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको कुर्ता सुरुवाल १ सय ४० पिस र मोटरसाइकलसहित अन्दाजी १ लाख ४९ हजार रुपैयाँबराबरको सामान बेथरीबाट बरामद गरिएको हो ।
यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका ७ का सन्तकुमार खरबिन्दले चलाएको लु १ ह १६९४ नम्बरको ई–रिक्सामा ल्याउँदै गरेको टिसर्टलगायत ३ लाख ६० हजार रुपैयाँबराबरको सामान बरामद लोफडियाबाट बरामद गरिएको हो ।
बरामद गरिएका कपडा, सवारी साधन र चालकलाई भैरहवा भन्सार कार्यालयमा पठाइएको रुपन्देहीका प्रहरी प्रवक्ता तथा डीएसपी श्यामु अर्यालले बताए ।