बुटवल । न्यू होराइजन स्पोर्टस् क्लबको आयोजनामा बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजक न्यू होराईजन इङ्लिस सेकेण्डरी स्कूलले जितेको छ ।
शनिबार बुटवलमा सम्पन्न फाइनल खेलमा कालिका मानवज्ञान माविलाई शुन्यका विरुद्ध तीनको सोझो सेटमा पराजित गरेको हो ।
न्यू होराइजनले पहिलो सेट २० का विरुद्ध २५, दोस्रो सेट १७ का विरुद्ध २५ र तेस्रो सेट १९ का विरुद्ध २५ अंकले जितेको हो । उपाधिसंगै न्यू होराइजनले नगद ४० हजार, उपविजेता कालिका मानवज्ञान मावि बुटवलले नगद ३० हजार, तृतिय भएको कान्ति मावि बुटवलले नगद २० हजार र सान्त्वना भएको सैनामैना मावि सैनामैनाले नगद १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी टिम र खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, न्यू होराईजन माविका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यहरु वासुदेव अर्याल र राजीव श्रेष्ठ,न्यू होराइजन स्पोटर््स् क्लबका अध्यक्ष चेतन उचै ठकुरी, संस्थापक अध्यक्ष प्रकाश खनाल, उपाध्यक्ष बालकृष्ण बस्याल,प्रतियोगिता संयोजक नरेन्द्र सारु,क्लबका सदस्य मिलन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरले खेलकुदलाई वार्षिक नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिएर पर्याप्त वजेट विनियोजन गर्ने गरेको बताए । प्राचार्य लोकनाथ उपाध्यायले संस्थाले गुणस्तरीय शिक्षासंगै वद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएर विभिन्न १७ विधाका खेल प्रशिक्षक राखेर खेलकुद प्रतियोगिताहरु सञ्चालन गरेको बताए ।
कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । यस्तै काभा महिला भलिबल प्रतियोगितामा सहभागी न्यू होारइजनकी खेलाडी प्रतिभा चौधरीलाई पनि सम्मान गरिएको थियो ।
प्रतियोगितामा जिल्लाका ९ संस्थागत र ७ सामुदायिक गरी १६ टिमको सहभागिता रहेको थियो । समापन समारोहमा बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर, स्पाईकर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर, बेस्ट कोच, अनुशाशित खेलाडि र उदियमान खेलाडीलाई पनि पुरस्कृत गरिएको छ । क्लबले एक वर्ष छात्र भलिबल र अर्को वर्ष छात्रा भलिबल प्रतियोगिता गर्दै आएको छ ।










