रुपन्देहीमा उद्योगी र मजदूरको हितमा बोल्ने श्रमिक नेता ६५ वर्षीय कमल गौतमको निधनले अपूरणीय क्षति पुगेको सरोकारवालाले प्रतिक्रिया दिएका छन् । मजदूरको हित भने पछि दिनरात नभनी खटिने नेता पाउनैं मुश्किल भएका बेला गौतमलाई गुमाउनु परेको उनीहरुको भनाई छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सधैं उद्योगी र मजदूरबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ भनेर जोड दिने नेता गुमाउनु परेको बताए । उद्योगीबिना रोजगार सम्भव छैन भन्ने गौतमको मान्यता रहेको उनले बताए । ‘उद्योग फष्टाएमात्र रोजगारी पाइन्छ भन्ने उहाँको भनाई थियो,’ उनले भने, ‘उहाँको भाग्यमा पनि मजदूरको काम र काखमै सहादत प्राप्त गरुन भन्ने रहेछ ।’
जिल्लाकै स्थापित र जेहेन्दार मजदूर नेता गुमाउँदा समग्र उद्योगी–व्यवसायी मर्माहत बनेको उनले बताए । संघको अगुवाईमा बिहीबार बिरोधको कार्यक्रम आयोजना गरिएको थियो । संघले गौतमको निधनमा शोक जनाउन र उनीप्रति सम्मान व्यक्त गर्न शुक्रबार आफ्नो सचिवालय बन्द गर्ने निर्णय गरेको आचार्यले बताए ।
रुपन्देहीस्थित राजनीतिक दल नेतृत्व र उद्योगी मजदूरको हितमा गौतम उभिएको क्षणलाई उनको जिवनकालको दूर्लभ संयोग ठान्छन् । रुपन्देहीका उद्योगीले विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन वापत महशुल नबुझाएको भन्दैं लाइन काटेकोमा बिरोध प्रदर्शन आयोजना गरेका थिए । उक्त प्रदर्शनको तयारी उद्योगी र व्यवसायिक संघसंस्थाले मात्र गरेका थिएनन् । उद्योग बन्द गरिनु हुँदैंन भनेर बुधबार आयोजित भेलामा गौतमले सडक प्रदर्शनका लागि जोड दिएका थिए । प्रदर्शन प्रभावकारी तुल्याउन खटिएका थिए ।
‘२०४१ सालमा रुपन्देहीको पर्रोहा माबिमा उहाँले खिमलाल भट्टराईलाई अध्यक्ष र मलाई कोषाध्यक्ष बनाएर अनेरास्ववियूको प्रारम्भिक कमिटी गठन गर्नुभएको थियो,’ एमाले नेता तेजेन्द्र केसीले भने, ‘पञ्चायत कालमै उहाँ अनेरास्ववियूमा क्रियाशील नेता हुनुहुन्थ्यो ।’
बुटवको पश्चिम नयाँ गाउँमा बसेर उनले पार्टी संगठन बिस्तार गरेको उनले बताए । गौतमसित सहकार्य गरेका धेरै व्यक्ति अहिले पार्टीको पोलिटब्यूरो र मन्त्री बनिसकेका छन् । ‘उहाँले अहिलेसम्म कुनै अवसर लिनु भएन,’ केसीले भने, ‘जीवनकालभरि सडकमै रहनुभयो ।’ गौतम टे«ड युनियन महासंघ (जिफन्ट) केन्द्रिय उपाध्यक्ष र एमाले केन्द्रिय सदस्य हुन् । भने रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत मर्चवार क्षेत्रका इन्जार्च थिए । एकपटक मजदूर विशेष जिल्ला कमिटि अध्यक्ष बनेका थिए । केसीका अनुसार २०४६ सालको पहिलो र २०६२–०६३ सालमा भएको दोस्रो आन्दोलनका बेला आन्दोलन परिचालन समितिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
एमाले नेता भरत पोखरेलले पञ्चायतकालदेखि पार्टीमा योगदान पुर्याउँदै आएका गौतमको सक्रियतामा कहिल्यैं कमी नदेखेको बताए । रुपन्देहीका क्रियाशील मजदूरतको हितमा बोल्नेदेखि सिमावर्ती मर्चवार क्षेत्रमा पार्टीको जग बसाउन गौतम सक्रिय रहेको उनले बताए ।
‘श्रमिकको क्षेत्रमा भिजेका मानिस हुनुहुन्थ्यो,’ उनले भने, ‘पञ्चायतकालदेखि अहिलेसम्म उहाँलाई थकित देखेको थिएन, बिहीबार पनि उर्जासाथ भनाई राख्दा राख्दैं उहाँ ढल्नुभयो ।’ गौतमका श्रीमती र दुई छोरा छन् । बुटवल उपमहानगरपालिका–४, मा बसोबार भएका उनका जेठा छोरा लम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापन गर्छन् । भने कान्छा छोरा बैदेशिक रोजगारीमा दक्षिण कोरियामा छन् ।










