तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बडादशैं शुरू, आज घर-घरमा घटस्थापना गरी जमरा राखिँदै

हिन्दुहरूको महान् चाड बडादशैं आजदेखि विधिवत् शुरू भएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैंको रौनक छाएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइन्छ।

आज बिहानै नित्यकर्म सकेर सफा माटो वा बालुवामा गाईको गोबरले लिपी दशैं घर वा पूजा कोठामा जौ (यव) रोपेर घटस्थापना गर्ने परम्परा छ, जसलाई ‘जमरा राख्ने’ भनिन्छ।

जौ दुर्गालाई प्रिय हुने भएकाले जमरा रोप्ने चलन चलेको हो। विजयादशमीको दिन टीकासँगै समृद्धिको प्रतीकका रूपमा यही पहेँलो जमरा ग्रहण गरिन्छ।

घटस्थापना र टीकाको साइत
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ९:१३ बजे तोकेको छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन तोकिएको हो।

यसैगरी, असोज १६ गते विजयादशमीको दिन देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीका ग्रहणको उत्तम साइत बिहान ११:५३ बजे रहेको समितिले जनाएको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने चलन छ।

नवरात्र र दुर्गा पूजाको महत्त्व
घटस्थापनासँगै नौ रातसम्म चल्ने नवरात्र सुरु भएको छ। यी नौ दिनसम्म दुर्गाका तीन स्वरूप- महाकाली (शक्ति), महालक्ष्मी (ऐश्वर्य) र महासरस्वती (विद्या) का साथै उनका नौ विभिन्न रूपहरू (नवदुर्गा) को विशेष पूजा-आराधना गरिन्छ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी गर्दै नवौँ दिन सिद्धिदात्रीको पूजा हुन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार, दशैं पर्व असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक हो।

नवरात्रभर दुर्गा सप्तशती (चण्डी) पाठ गर्ने र देशभरका गुह्येश्वरी, मैतीदेवी, पलाञ्चोक भगवतीजस्ता शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

हनुमानढोका दशैं घरमा विशेष पूजा
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा पनि आज बिहान तोकिएको साइतमा घटस्थापना गरिएको छ। त्यहाँ नवरात्रभरि दैनिक बलि दिएर विधिपूर्वक पूजा-आराधना गरिन्छ।

बडादशैंलाई पारिवारिक जमघट र पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कामले घरबाहिर रहेकाहरू यस अवसरमा घर फर्कने गर्छन्, जसले गर्दा गाउँघरमा विशेष चहलपहल बढेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित