रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

लिभिङ टुगेदरको त्रासदी: नेपालगन्जमा प्रेमिकाको हत्या

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को बेलासपुरमा घटेको एक हृदयविदारक घटनाले समाज, सम्बन्ध र सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका एक पुरुषले आफ्नै प्रेमिकाको निर्मम हत्या गरेका छन्।

ती पुरुष विवाहित मात्रै थिएनन् दुई सन्तानका बुवा थिए। तर उनी अर्की किशोरीसँग वैवाहिक सम्बन्धबाहिरको जीवन बिताइरहेका थिए। अन्ततः त्यो सम्बन्ध हत्या र आत्मसमर्पणमा पुगेको छ ।

बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले २२ वर्षीया निर्मला थापाको सलले घाँटी कसेर हत्या गरेका हुन्। निर्मला दैलेखकी स्थायी बासिन्दा थिइन् र नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्थिन्। उनीहरू नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा विगत तीन वर्षदेखि सँगै बस्दै आएका थिए।

प्रकाश भने नेपालगन्जमै रहेको स्वस्तिक कटेजमा क्याप्टेनका रूपमा कार्यरत थिए। हत्या भएको स्थान प्रकाश र निर्मला सँगै बस्ने डेरा थियो। घटनापछि प्रकाशले निर्मलाकी बहिनीलाई फोन गरेर आफूले हत्या गरेको जानकारी दिएका थिए।

त्यसपछि उनी राति २ बजे प्रहरी कार्यालय जान लागेको खबर दिएर फरार हुन खोजेका थिए। तर जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई नेपालगन्जको धम्बोझी नजिकबाट पक्राउ गरेको हो।

प्रहरीले डेरामा पुगेर निर्मलाको शव बरामद गर्‍यो र शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पुर्‍याइयो । शनिबार मात्रै मृतक युवतीको परिवारको सल्लाहमा शवको पोष्टमाार्टम भएको छ र परिवारको जिम्मा लगाइएको छ।

प्रकाश विवाहित थिए। उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामा बस्दै आएका छन्। तीन वर्षदेखि उनी निर्मलासँग लिभिङ टुगेदरमा थिए। यस्तो सम्बन्धलाई उनले प्रहरीसमक्ष बयान दिने क्रममा ’कान्छी श्रीमती’ को रुपमा सम्बोधन गरेका छन्।

तर कुनै पनि कानुनी र धार्मिक मान्यताअनुसार यस्तो सम्बन्ध वैध थिएन। प्रेमिका भनिएकी निर्मला थापासँग विवाह भएको प्रमाण छैन, न त पारिवारिक सहमति। प्रकाशको यस्तो दोहोरो जीवनशैलीले धेरैखाले जटिलता र अन्ततः हिंसात्मक परिणतिको रूप लिएको अहिले सामाजिक सन्जालमा बहस भइरहेको छ।

उनको हत्या किन भयो ? यसबारे प्रहरी अझै अनुसन्धानमै छ। प्रारम्भिक अनुसन्धान अनुसार, हत्या हुनुमा मानसिक तनाव, व्यक्तिगत ईर्ष्या वा पारिवारिक दबाब हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि एकिन कारण खुलेको छैन। प्रकाशले कुनै विस्तृत कारण नखुलाएको प्रहरी बताउँछ।

बाँके प्रहरीका सूचना अधिकारी डीएसपी दीपक पतालीका अनुसार अभियुक्त प्रकाशले निर्मलालाई कान्छी श्रीमती भनेका छन्। तर हत्या गर्नुको ठोस कारण खुल्न बाँकी छ। अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ।

‘हत्याको घटना स्वीकारेका व्यक्तिले प्रहरीसँग कान्छी श्रीमति भएको स्वीकार गरेका छन् तर त्यसको कुनै कानुनी प्रमाण हामीसँग छैन, आज मृतकको परिवारको तर्फबाट जाहेरी आएको छ, शव पोष्टमार्टम भएको छ, हामी अनुसन्धानमै छौं’ पतालीले भने ।

नेपालको सामाजिक संरचनाभित्र लिभिङ टुगेदरको प्रचलन नयाँ होइन। तर यसप्रति न कानुन स्पष्ट छ, न समाजले सजिलै स्वीकार गर्छ। विवाहबाहेकको सहजीवनले खासगरी महिलाका लागि गम्भीर जोखिम निम्त्याउने उदाहरण यो घटना हो।

समाजशास्त्रीहरू भन्छन्, ‘यस्ता सम्बन्धमा महिलाहरू कानुनी रूपमा असुरक्षित हुन्छन्। उनीहरू न कानुनी पत्नी मानिन्छन्, नत कुनै अधिकार सुनिश्चित हुन्छ। सम्बन्धविच्छेद वा दुर्व्यवहार हुँदा उनीहरूसँग कुनै विकल्प हुँदैन।’ यस्तै घटनाले सम्बन्धको अपरिपक्वता, महिला असुरक्षा र लुकेर बस्ने जीवनशैलीको भयावह असर देखाउँछ।

निर्मलाको परिवार स्तब्ध छ। निर्मलाकी बहिनीले फोनमा हत्या गरिएको खबर सुनेपछि तत्काल प्रहरीलाई खबर गरेकी थिइन्। निर्मलाका बाबुआमा र अन्य आफन्तहरू न्यायको माग गरिरहेका छन्। उनीहरुले निर्मलाको जघन्य हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दै शनिबार जिल्ला प्रहरी बाँकेमा जाहेरी दिएका छन् ।

एक स्थानीय सामाजिक अभियन्ताले भने, ‘हाम्रो समाजमा प्रेम सम्बन्धलाई अपराधजस्तो हेरिन्छ, तर यस्तो सहजीवन स्वीकार गर्न सक्ने वातावरण पनि छैन। युवतीको जीवन सुरक्षित हुन सकेन, त्यो दुर्भाग्य हो।’

प्रहरीका अनुसार हत्या गर्न प्रयोग गरिएको सल, शवको अवस्थामाथि गरिएको परीक्षण, प्रकाशका बयानहरू लगायत सबै पक्षका आधारमा अनुसन्धान भइरहेको छ। प्रकाशलाई अहिले हिरासतमा राखिएको छ र मुलुकी अपराध संहिता अन्तर्गत मुद्दा चलाइने भएको छ।

यसबीच प्रहरी स्रोतले संकेतमात्र गरेको छ कि हत्या हुनुमा आर्थिक तनाव, सम्बन्धमा आएको टकराव वा सामाजिक दबाब कुनै कारक हुन सक्छ। यो घटना केवल एक युवतीको हत्या मात्र नभएर घटनाले प्रेम, सहजीवन, पारिवारिक जिम्मेवारी, सामाजिक स्वीकार्यता, र सुरक्षाको गहिरो अन्तर्विरोध उजागर गरेको विषय पुनः बहसमा आएको छ ।

हाम्रो समाजमा एकातर्फ विवाहबाहेकको सम्बन्धलाई खुला रूपमा स्वीकृति छैन। अर्कातर्फ युवा पुस्ता यस्ता सम्बन्धमा आफू अनुकूलको स्वतन्त्रता खोजिरहेका छन्। यो टकरावमा अकालमा जीवन गुमाउनु पर्ने अवस्था आउनु गम्भीर विषय हो। यस घटनाले प्रहरी प्रशासन, महिला सुरक्षा, कानुनी सुधार, र सामाजिक चेतनाको आवश्यकता झनै बढाएको छ।

‘नेपालगन्जको यो घटना केवल एक आपराधिक मुद्दा मात्र होइन। यो घटना महिला हिंसाको, सम्बन्धको अपरिपक्वताको र कानुनी अनिश्चितताको जीवित चित्र हो। समाज, प्रशासन र कानुनले मिलेर यस्ता घटनाको पुनरावृत्ति रोक्न नसके, ‘लिभिङ टुगेदर’ केवल स्वतन्त्रताको अभिव्यक्ति होइन, असुरक्षाको अर्को रूप बन्न सक्छ। निर्मलाको जीवन गयो, तर हजारौं निर्मलाहरू अझै यस्ता जोखिमपूर्ण सम्बन्धमा छन्। अब यो बहस गम्भीर रूपमा अगाडि बढाउनुपर्ने समय हो।’ बाँकेका अग्रज पत्रकार शरण कर्माचार्यले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित