
हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप अहिले कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।
देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोसी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। अहिले काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ।
त्यसैगरि सुदूरपश्चिम क्षेत्रको डडेलधुरा, कञ्चनपुर, बैतडी लगायतका ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित पानी परिरहेको महाशाखाले जनाएको छ।
केही समयपछि यो प्रणाली पूर्व (कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश)तिर सर्दै जाने महाशाखाको अनुमान छ।
आज कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ। त्यसैगरि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ।
आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका विभिन्न स्थानमा हुने मेघगर्जन र चट्याङसहितको वर्षा तथा हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने अनुमान गर्दै महाशाखाले त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि सबैमा अनुरोध गरेको छ।