१७१ यात्रु लिएर भैरहवा आएको जजिरा १६८ जना लिएर फर्कियो, हप्तामा ३ दिन उडान गर्ने

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट कुवेतको जजिरा एयरवेजले पनि उडानको शुरूआत गरेको छ ।

विमानस्थल सञ्चालनको बेला उडान थाले पनि विभिन्न कारण देखाउँदै उडान स्थगित गरेको जजिराले शनिबार १७१ जना यात्रुसहित पुनः उडान थालेको हो ।

१७१ यात्रुसहित भैरहवा विमानस्थलमा शनिबार बिहान अवतरण गरेको जजिराले १६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।​

जजिराले विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रूपमा व्यावसायिक उडान थालेको थियो ।

‘जजिराको राम्रो अकुपेन्सी छ,’ बज्राचार्य भन्छन्, ‘शुरूआतमा नै १७१ यात्रु ल्याउनु र १६८ यात्रु लैजानु धेरै राम्रो हो ।’

जजिराले हप्ताको तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।

भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एशियाले नियमित उडान शुरू गरिसकेको छ ।

शनिबार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडानको शुरूआत गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित