
बुटवल उपमहानगरपालिकाले आधुनिक पशु वधशाला सञ्चालन गर्ने निर्णयबाट पछाडि नहट्ने बताएको छ ।
लामो प्रयासपछि सञ्चालनमा आएको आधुनिक वधशालामा जान व्यवसायी नमानेको बताउँदै उपमहानगरले व्यवसायीका समस्या समाधान गर्न तयार रहेको स्पष्ट पारेको छ ।
तर आधुनिक वधशाला सञ्चालन गर्ने निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने उपमहानगरको अडान छ ।
उपमहानगरपालिकाले वधशाला सञ्चालनको विवाद अन्त्य गरी पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीलाई तीन दिनभित्र समस्याबारे जानकारी गराउन पत्राचार गरिएको जानकारी दिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले व्यवसायीलाई पटक-पटक समय दिँदा पनि नआएपछि प्रक्रियागत रूपमा नयाँ कम्पनीमार्फत टेन्डर गरिएको बताए ।
‘उपमहानगरपालिका वधशालालाई दिगो रूपमा सञ्चालन गर्न प्रतिबद्ध छ,’ खनालले भने, ‘टेन्डरमार्फत एउटा कम्पनी छनोट भइसक्यो । अब यो प्रक्रियालाई पाँच वर्ष रोक्न सक्दैनौं, तर व्यवसायीलाई सहयोग गर्न र समस्या समाधान गर्न तयार छौं ।’
आधुनिक वधशालामा जाँदा व्यवसायीलाई परेका मर्काहरू समाधान गर्न तयार रहेको उनले बताए ।
‘कानूनी सर्वोच्चता सबैले मान्नुपर्छ । वधशाला फूलफेजमा सञ्चालन गर्न प्रदेश र संघीय सरकारको निर्देशन छ । वधशालामा जाँदा व्यवसायीलाई परेका मर्का समाधान गर्न तत्पर छौं, नगरबासीलाई स्वस्थकर मासु खुवाउनेबाहेक अन्य कुनै मनसाय छैन,’ खनालले थपे ।
अहिले वधशालामा एउटा खसी/बोका वध गरेको १ हजार रूपैयाँ शुल्क तय गरिए पनि वधशालाले ७०० रुपैयाँ काटिदिएको छ ।
शुरूमा आफूहरूलाई सञ्चालन गर्न दिने भनेर वर्षौं झुलाई अन्तिममा टेन्डरको नाममा धोका दिएको आरोप लगाउँदै मासु व्यवसायी उपमहानगरसँग असन्तुष्ट छन् ।
टेन्डरमार्फत वधशाला मुक्तिनाथ लाइभ स्टक बैंक लिमिटेडले सञ्चालन गरिरहेको छ । मुक्तिनाथले वार्षिक ४७ लाख ३० हजार उपमहानगरलाई बुझाउने गरी टेन्डर पारेको हो ।
वधशालामा गएर खसीबोका वध नगर्ने व्यवसायीलाई उपमहानगरले निरन्तर अनुगमन गरी जरिवाना गरिरहेको छ ।
लुम्बिनी प्रदेश सरकार, हेफर इन्टरनेशनल र बुटवल उपमहानगरको २४ करोडको लगानीमा वधशाला बनेको हो ।
उपमहानगरपालिकाका सूचना अधिकारी तुलसा अर्यालले अहिले पनि समस्याको निकास निकाल्न पालिका तयार रहेको बताइन् । ‘बाटो बन्द भएको छैन । व्यवसायीको ल्याकिङलाई वेएआउट निकाल्न तयार छौं,’ अर्यालले भनिन् ।
उपमहानगरपालिका अनुगमन महाशाखा प्रमुख ठगिश्वर पोखरेलले अब व्यवसायीहरूले अटेरी गर्न नहुने बताए ।
बुटवल उपमहानगरपालिका– १० रामनगरमा २ विघा ३ कट्ठा क्षेत्रफलमा वधशाला बनेको छ ।
वधशालामा खसी बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण गरिएको छ ।