
आत्महत्या रोकथामबारे सम्वाद सुरु गरौं, दृष्टिकोण बदलौं भन्ने नारासहित मंगलबार विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । दिवसको अवसरमा बुटवलमा सचेतनामुलक र्याली निकालिएको छ ।
रुपन्देही भित्र रहेको विभिन्न रोटरी क्लब तथा ईलाका प्रहरी कार्यालय बुटवलको सहभागितामा सचेतनामुलक र्याली निकालिएको हो । बुटवलको राजमार्ग चौराहदेखि ट्राफिकचोकसम्म निकालिएको र्यालीका सहभागिहरुले हातहातमा आत्महत्या रोकथामका विभिन्न सचेतनामुलक सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।
र्याली समापनको अवसरमा बोल्दै ई क्लब मेडिको फ्युजनका अध्यक्ष मानसिक रोग विशेषज्ञ डा विक्रम काफ्लेले आत्महत्या गर्नेहरुको संख्या हरेक वर्ष थपिदै गएकोले रोकथामका लागि ढिलो गर्न नहुने बताए । उनले आत्महत्या गर्नेलाई घृणाको दृष्टिले हेर्ने नभई आत्महत्याको सोंच आउनु पनि एउटा रोग हो भनेर समयमा सम्वाद गर्न सके व्यक्तिलाई आत्महत्या गर्नबाट जोगाउन सकिने बताए ।
हरेक वर्ष ७ लाख भन्दा बढि मानिसले आत्महत्या गर्न थालेपछि त्यसको रोकथाम गर्ने भन्दै विश्व स्वास्थ्य संगठनले २००३ यो दिवस मनाउन थालेको हो । डा. काफ्लेका अनुसार नेपालमा हाल दैनिक २० जनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।
जुन हरेक वर्ष बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वष २०७१र७२ मा ४ हजार ३ सय ५० जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेकोमा गत आर्थिक वर्ष २०८०÷८१ मा बढेर ७ हजार २ सय २३ पुगेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले मानसिक स्वास्थ्य समस्या नै आत्महत्याको कारण बन्दै गएको उल्लेख गर्दै तनाव व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्ने बताए ।
आत्महत्या हिंशा र व्यक्तिको मानसिक अवस्थासंग जोडिएको भनिएपनि आत्महत्याका पछाडी आर्थिक र सामाजिक कारणहरु पनि हुने गर्छन् । बढ्दो बेरोजगारी, बैदेशिक रोजगार, प्रेम तथा अध्ययनमा असफता लगायतका कारण पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दो छ । यसैवर्ष नेपाल प्रहरीले गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक अध्ययन प्रतिवेदन अनुसार आत्महत्या गर्नेहरुमा महिला भन्दा पुरुषहरुको संख्या बढि देखिएकोले यो मानसिक अवस्थासंगै सामाजिक र आर्थिक अवस्थासंग पनि जोडिएको छ भन्ने पुष्टि गर्छ ।
विश्वमा प्रत्येक एक लाख जनसंख्यामा ११ जनाले आत्महत्या गर्छन् भने नेपालमा यो दर प्रति एक लाखमा २४ जना हाराहारी रहेको छ । नेपाल सरकारले लिएको दिगो विकास लक्ष्यमा आत्महत्याको दरलाई घटाएर सन् २०३० सम्ममा प्रति एकलाख जनसंख्यामा ४ दशमलव ७ मा ल्याउने भनिएको छ । तर, संख्या घट्नुको सट्टा हरेक वर्ष बढ्दै जानुले सरकारको उक्त लक्ष्य पुरा हुनेमा चुनौती देखिएको छ ।