थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको हो । ‘थाई एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति मागेको थियो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ ।’
उनका अनुसार, प्राधिकरणअन्तर्गत ‘एभिएसन सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन’ निर्देशनालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासन हुँदै प्राधिकरणमा पुगेको प्रस्तावलाई महानिर्देशक प्रदीप अधिकारीले सदर गरेका छन् ।
थाई एयर एसियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ देखि ३ बजेको उडान समयतालिका उपलब्ध गराउने भनिएको छ । भैरहवाको समयबारे थाई एयर एसियाले नै माग गरेअनुसार समय (स्लट) दिइने प्राधिकरणले जनाएको छ ।
५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स रहेको छ । यसअघि थाई एयर एसियाकै लगानीकर्ताहरूसमेत रहेको एयर एसिया भने नेपालबाट फर्किएको थियो । एयर एसियाले २०६९ देखि २०७५ सम्म नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने २७ करोड बक्यौता थियो । थाई एयर एसिया आउने भएपछि एयर एसियाको बक्यौता रकम भने बैंक ग्यारेन्टीमार्फत गत चैतमा बुझाइएको विमानस्थलको महाप्रबन्धक जगन्नाथ निरौलाले गत चैतमै बताएका थिए । ‘साँवा र ब्याज गरी २७ करोड बुझाउन २४ किस्तामा बुझाउन बैंक ग्यारेन्टी प्राप्त भएको छ,’ उनको भनाइ थियो । त्यसपछि थाई एयर एसियालाई नेपालमा उडान अनुमतिको बाटो प्राधिकरणले खुला गरेको हो ।
तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङको कार्यकालमा थाई एयर एसियाले उडानका लागि मन्न्त्रालयमा आवेदन दिएको थियो । मन्त्रालय हुँदै प्राधिकरण र मातहतका कार्यालय पुगेको प्रस्तावमा बिहीबार निर्णय भएको हो । २० वर्षअघि स्थापना भएको यो ‘बजेट क्यारियर’ वायुसेवाले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।