
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले च्याटबटको प्रयोग गरेर कार्यालयमा सेवाग्राहीलाई अभिवादनका साथै सेवाबारे जानकारी गराउँदै आएको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा नेपाली वा अंग्रेजीमा बुटवल उपमहानगरपालिका खोजेर कुराकानी (च्याट) गर्न थाल्नु भयो भने तुरुन्त जबाफ पाउनु हुन्छ । पालिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग गरेर करिब एक वर्षयता फेसबुक म्यासेन्जर मार्फत सामाजिक सञ्जालमा आधारित ‘च्याटबट’ सञ्चालनमा ल्याएपछि यस्तो सुविधा सम्भव भएको हो ।
नागरिक बडापत्रमा उल्लेख गरिएका नगरबाट प्राप्त हुने सेवासुविधाबारे जानकारी दिन र सेवाग्राहीलाई सहज बनाउन च्याटबट सञ्चालनमा ल्याएपछि यहाँका बासिन्दाले खुसी व्यक्त गरेका छन् । एआई सफ्टवेयरको उपयोग गर्दै नगरबाट प्राप्त हुने सेवासुविधा कहाँबाट, कसरी, कुनकुन प्रक्रिया पूरा गरेर, कति राजश्व बुझाउनु पर्ने–नपर्ने र कति समयभित्र सेवा प्राप्त भइसक्छ भन्ने जानकारी घरमै बसेर लिन पाइन्छ । घरमै बसेर नगरले दिने सेवा र सुविधाबारे जानकारी मिल्न थालेपछि सजिलो भएको बुटवल–११ की शर्मिला क्षेत्रीले जानकारी दिइन् ।
‘मैले च्याटबट संचालन पछि अधिकांश सेवाबारे घरबाटै जानकारी लिएकी छु’, उनले भनिन्, ‘यसले निकै सहजता तुल्याएको छ । प्रविधिको प्रयोग गर्ने हो भने हरेक सेवाबारे सम्बन्धित कार्यालयमै पुगेर बुझ्नुपर्छ भन्ने कुरा अन्त्य हुन्छ । यो कार्य बुटवलले सुरु गरेर प्रशंसनीय काम गरेको छ ।’
यो प्रविधि प्रयोगको समय हो । आर्टिफिसियल इन्टिलीजेन्स (एआइ) को प्रयोगले दुनियाभर मानिसको भौतिक उपस्थितिलाई खुम्च्याउँदै लगेको छ । पछिल्लो समय सरकारी, नीजि संघसंस्था र व्यापारिक प्रतिष्ठानले समेत यसको प्रयोग गर्न थालेका छन् । पत्रकारिता क्षेत्रमा समेत समाचार लेखन र वाचनमा एआईको प्रयोगबारे बहस भइरहेको छ । यस्तो बेला बुटवलले गर्दै आएको प्रविधिको प्रयोग सबैका लागि मननयोग्य भएको स्थानीय बताउँछन् ।
बुटवलले सुरु गरेको सेवाबाट अहिलेसम्म १० हजार बढीले सेवा लिइसकेका छन् । ‘प्रविधिको प्रयोग गर्न जान्नेले घरमै बसेर उपमहानगरका सेवा र गतिविधिबारे जानकारी लिइरहनु भएको छ । हामीले यसका धेरै भन्दा धेरैलाई सहभागी गराउने प्रयास निरन्तर गरिरहेका छौं’, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले भने । उनका अनुसार च्याटबटबाट सेवा लिनेमा अधिकांश युवापुस्ता छन् । केही प्रविधिमा पोख्त युवापुस्ताले पनि सेवा लिइरहेका छन् ।
कामका लागि नगर वा वडा कार्यालय जाँदा के कामका लागि के–के कागजात र अरु कुराहरु चाहिन्छ भन्ने थाहा नहुँदा पटक–पटक कार्यालय जानुपर्ने समस्याको समाधान भएको स्थानीय डुकबहादुर खड्काले बताए । ‘म घरमा हुँदा मैले सेवाबारे जानकारी लिन्छु, नहुँदा छोराहरुले सेवाबारे जानकारी लिन्छन्’, उनले भने, ‘यसले निकै सहजता दिलाएको छ । बुटवलले नागरिक बडापत्रमा उल्लेख भएका सबै जानकारी च्याटबटमा राखेको छ । सूचना तथा प्रविधि अधिकृत रोशनकुमार रेग्मीले छिट्टै अरु धेरै सुविधाहरु थप गर्दै लगिरहेको बताए ।
‘जति धेरै जना यसको पहुँचमा पुग्नुहुन्छ, यसको स्पिड रिप्लाई सुविधा बढ्दै जानेछ,’ उनले भने, ‘जानकारी थप्ने काम साथसाथै हुन्छ ।’ उपमहानगरका हरेक जानकारी फोन मार्फत लिएर वा पालीकामै आएर लिनुपर्ने, कागजपत्र छुटेमा दोहोरो धाउनुपर्ने बाध्यताबाट स्थानीयलाई सहज तुल्याउन र नागरिकलाई प्रविधियुक्त जमाना अनुसार सिकाउँदै अघि बढाउन च्याटबट सञ्चालनमा ल्याएको उनको भनाई छ ।
उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवलले प्रविधिको प्रयोगलाई विशेष जोड दिएको जनाए । ‘हामीले यहाँका बासिन्दालाई धेरैभन्दा धेरै तरिकाबाट प्रविधिसँग जोड्ने प्रयास गरिरहेका छौं’, उनले भने, ‘अहिलेको युग नै प्रविधिको हो, यसले गर्दा हाम्रो जोड सुशासन, विकाससँगै प्रविधिको प्रयोगमा केन्द्रित छ ।’