
लुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ । सदस्य नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । आयोगमा उपाध्यक्षसहित तीन सदस्य रहने व्यवस्था छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीकाअनुसार सरकारले आयोगको सदस्यमा घोराही उपमहानगरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तुका जीवन अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले एक साताअघि कपिलवस्तुकै सरोज खनाललाई उपाध्यक्षमा नियुक्त गरेको थियो । बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मूल्यांकन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै सहरी विकास तथा खानेपानी मन्त्रालयअर्न्तगत लुम्बिनी प्रदेशका कार्यालय स्थापना हुन बाँकी रहेका जिल्लामा कार्यालय स्थापना गर्ने, २०८०/८१ को चैत मसान्तसम्म योजना आयोगबाट स्वीकृत लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा दर्ता भएर स्रोत सहमति लिएका बहुवर्षीय योजनाहरुलाई जेठ मसान्तभित्र अघि बढाउने निर्णय भएको सरकारका प्रवक्ता पन्थीले बताए ।