बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

हरेक वर्ष दसैँसँगै गुञ्जिने नेपाली गीतहरू

वर्ष र दिनको रमाइलो चाड
घरघरमा आइपुग्यो
नेपालीजनको महान् पर्व
आँगनमा आइपुग्यो
हो….. दसैँ आयो
हो……दसैँ आयो ।’

चलचित्र ‘मुग्लान’काे याे गीतले दसैँकाे माहाैल र गाउँकाे परिवेश सम्झाउँछ । यतिबेला गाउँशहरमा यही ‘मास्टरपिस’ घन्किरहेकाे छ । अझै केही दिन घन्किनेछ । याे गीतले झल्काउँछ, राताे टीका, जमरा, जमघट, मिलन । गाउँमा काेदाे फुलेकाे, खेतमा धान झुलेकाे, परदेशिएकाहरू गाउँ फर्किन थालेकाे, दसैँमा मान्यजनबाट टीका आशीर्वाद ग्रहण गरेकाे, पिङ खेलेकाे, घरकाे खुसीलगायत भान ‘दसैँ आयो’ गीतले दिन्छ । लाेकनाथ सापकाेटाले रचेकाे याे गीत दुई दशकअघि रेकर्ड भएको थियाे । २०५८ सालमा केही साथीहरूसँग मिलेर सापकाेटाले गीत गाएका थिए । २० वर्षअघिकाे परिवेशमा लेखिएकाे गीतमा सुरेश अधिकारीकाे संगीत छ । उदितनारायण झा, दीपा, नारायण लामा र जुना प्रसाईंले याे गीत गाएका हुन् ।

‘पिँढीमा बसी औँला भाँची
छोराको आउने दिन गन्दैथिन्
दसैँको दिन ती बुढी आमै
आइपुग्दा छोरा दंगै छिन् ।

भदौरे झरी छुटेर जाँदा
असोजमा नौलो रङ छाउँछ
ठूलाको हात सानाको माथ
आशिष दिँदै दसैँ आउँछ ।’

गीतले दसैँसँगै घरघरमा आउने खुसी र दसैँ परिवेशको चर्चा गरेको छ । यसको भिडियोमा गाउँको माहौल र रमझम देखाइएको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा रहेको यो पुरानो गीतलाई अहिलेसम्म २ करोड १० लाखभन्दा बढी पल्ट हेरिएको छ ।

०००

‘वर्षमा दिनमा लै-लै
हर्षका दिन यी लै-लै
दसैँ–तिहार चाड र बाड
खुसीले सारा भर्‍याे नि संसार
आ…हा….हा…हा…
खुसीले सारा भर्‍याे नि संसार ।’

दसैँदेखि तिहारसम्म गाउँशहरमा घन्किने अर्काे गीत छ सुगम पोखरेलको स्वरमा । रवि श्रेष्ठले लेखेकाे ‘दसैँ–तिहार’ बाेलकाे याे गीतले परभूमिमा रहेका नेपालीकाे भावना बाेल्छ । सुगमले नै लय भरेकाे गीतले नेपालमा मात्र हाेइन, प्रवासमा रहेका नेपालीहरूलाई पनि दसैँ सम्झाउँछ ।

‘अर्काको देशमा लैलै
सम्झना आको नि मैलाई
सयपत्री फुलेको आँगन
रातो अक्षता जमरा लगाई
यता मेरो आँसुको धारा
उता होलान् रातै ती निधार ।’

यो गीतले तिहारकाे माहाैल पनि सम्झाउँछ । परदेशिएका दाजुभाइ र दिदीबहिनीकाे भावना बाेल्छ ।

‘सुपारी माला यो दाइलाई
बाटोभरि आँखा ती फैलाई
बस्दै होली मेरी बहिनी
दाजु आउने दिनहरू गन्दै
यसपालि पक्कै आउँछु म बहिनी
सजाउनलाई आफ्नै त्यो संसार ।’ 

याे गीत रेकर्ड भएको पनि १२ वर्ष बितिसकेकाे छ । सन् २०११ मा सुगमकै युट्युब च्यानलमा सार्वजनिक भएको गीतको चर्चा त्यसबेला खासै भएन । तर, सार्वजनिक भएको केही वर्षपछि हरेक दसैँकाे छेकाेमा याे गीत घन्किने गरेकाे छ । म्युजिक भिडियोलाई २ करोड ७० लाखभन्दा बढीपल्ट हेरिएको छ ।

‘दसैँ नि हो कि यो मेरो दशा
फर्की आएको
वर्ष नै पिच्छे किन यो मेरो
टाउको खाएको
दसैँ आएको ?’

दसैँमा एउटा विपन्न परिवारको समस्या दर्शाउने यो गीत योगेश्वर अमात्यको आवाजमा छ । दसैँको समयमा धेरै सुनिने गीतमध्ये यो पनि एउटा हो । बीचमा यसमा राखिएका संवादहरू रोचक किसिमका छन् । जस्तो कि:

श्रीमान्‌लाई श्रीमतीले भन्छे, ‘हेर्नुस् है रामेका बा, यसपालि त एउटा सारी दिनैपर्छ के दसैँजस्तो चाडाँ । जिन्दगीभर एउटा फरिया र चोलो कति लाउनु ?’

बुढाले भन्छ, ‘लाइस् बुढी सारी, पैसा न सैसा टीकी ट्याँसट्याँस !’ 

गीतको यो संवाद आममानिसले दैनिक जीवनमा समेत प्रयोग गर्ने गरेको सुनिन्छ । कसैलाई पैसा छैन भन्नुपर्दा धेरैले ‘पैसा न सैसा टीकी ट्याँसट्याँस’ भन्ने गर्छन् । जम्मा दुई लाइनकाे याे गीत योगेश्वरले १९ वर्षअगाडि गाएका हुन् । प्रेम बस्नेतले वास्तविक कथालाई दुई लाइनमा कोरे, १५ मिनेट पनि नलगाई न्ह्यु वज्राचार्यले लय दिए, आमात्यले ५ मिनेटमै गाइदिए अर्थात् रेकर्ड गरे । संवादको जिम्‍मा दीपकराज गिरी र दीपाश्री निरौलाले पाएका थिए । सोही दिन लेखिएर सोही दिन रेकर्ड भएको यो गीत विगत १९ वर्षदेखि दसैँकाे ‘आईडी सङ’ जस्तै बनेको छ ।

‘नमुछे आमा दहीमा टीका
नछरे जमरा
दैवले पर्दा उठायो आमा
आउँदिनँ फर्केर  ।’

२०५५ सालमा पहिलोपल्ट नारायण रायामाझीले गाएको यो गीत पनि दसैँमा धेरै बज्नेमध्येमा पर्छ । एक भारतीय सिपाहीको विरहमा लक्ष्मण रायमाझीले यो गीत लेखेका थिए । लाहुरेको कथा बोल्ने गीतले अहिले पनि परदेशमा भएका नेपालीलाई छोएको देखिन्छ ।

‘झोलुङ्गाबाट उठेर छोरी खोइ बाबा भन्नेछिन्
ब्युँझेर मेरी मूर्च्छिंदै फेरि दाँतै पो बान्नेछिन्
नफोरे प्रिया नारीका चुरा झर्‍याम्म पारेर
जाँदैन दुःख आँसुका धारा बरबरी झारेर ।’

यस्तै भावनामा अहिले पनि परदेशमा भएका लाखौँ नेपालीले दसैँलाई सम्झिरहेका छन् । यसैगरी, सशस्त्र प्रहरी बलको ‘फौजीलाई कुन हो दसैँ’ ले गाउँटाेलमा दसैँ लागेकाे महसुस गराउँछ । १४ वर्षअगाडि रेकर्ड भएको गीत हो ‘फौजीलाई कुन हो दसैँ’ । फौजीहरूको कथा बोल्ने यो गीत पनि दसैँमा सर्वाधिक बज्ने गीतमा पर्छ । यसमा सशस्त्र प्रहरीमा रहेका नेपालीहरूले महान् चाडमा पनि बिदा नपाउँदाको व्यथा समावेश छ । यस गीत सशस्त्रकै दीपक कोइरालाले लेखेका थिए । गीतमा जगदीश समालले आवाज भरे । गीतको भिडियोमा सर्जक कोइराला नै फिचर भएका छन् । भिडियोमा उनले बिदाका लागि अपिल गरेको देख्न सकिन्छ ।

मालश्री धुनपछि दसैँमा माथिका यिनै गीतहरूकाे वर्चस्व छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार