रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

कोरिया गएर कमाउनेभन्दा ‘तेब्बर’ राम्रो प्रगति गरेका ‘ग्रामर किङ’ जेएन सर

पारिवारिक विपन्नता र स्वेदशमा रोजगारीका अवसर नदेखेर सामान्य कामदारको रूपमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१२ मा दक्षिण कोरिया जाने सोचमा थिए जगन्नाथ न्यौपाने । राम्रो कमाइ हुने भएकाले बेलैमा कोरियालाई गन्तव्य बनाउन खोजेका न्यौपाने कोरिया जान पाएनन् ।

कुनै पनि काम फरक ढंगबाट गर्न रुचाउने ‘जेएन सर’ नामले परिचित न्यौपानेलाई अहिले ‘कोरिया सपना’ पूरा नभएकोमा कुनै पछुतो छैन । जेएनले कोरिया गएर कमाउनेभन्दा ‘तेब्बर’ राम्रो प्रगति कोरियन भाषा सिकाएर रूपन्देहीमै गरेका छन् ।

कोरिया सपनाबाट रोकिएपछि बनेको नयाँ सपनाले न्यौपानेलाई पूर्ण सन्तुष्टि दिएको छ । उनलाई अहिले बुटवलमा कोरियन भाषा ‘किङ’ भनेर चिनिन्छ । कहालिलाग्दो विगत, कठिन र अँध्यारा बाटाहरू पन्छ्याएर आफ्नै संघर्ष र मेहनतले चम्किएका न्यौपानेलाई बुटवलमा नचिन्ने सायदै होलान् ।

गडी गाउँपालिका–४ (तत्कालीन आमभञ्ज्याङ–१ बुङदल) मकवानपुरमा जन्मिएका जगन्नाथको बुटवलमा ‘जेएन’ कोरियन भाषा कक्षा, रोजगार इन्स्टिच्यूट छ । बुटवलमा उनलाई ‘ग्रामर किङ जेएन सर’ भनेरै बोलाउने गर्छन् । उनलाई दिइने यी सबै उपनामको एउटै कारण हो, कोरियन भाषा कक्षामा राम्रो पढाइ र नतिजा ।

सन् २०१२ मा क्रिस्टल ल्याङ्वेज इन्स्टिच्युट सैनामैनामा कोरियन भाषा अध्ययन गरेर न्यौपानेले नाम निकालेका थिए । त्यसपछि उनले सन् २०१३ बाट होराइजन इन्स्टिच्युटमा कोरियन भाषा पढाउन थाले । पछि यसको नाम रोजगार इन्स्टिच्युट भयो । सोही सालबाट उनले पढाएका विद्यार्थीले कोरियन भाषा परीक्षामा चामत्कारिक नतिजा ल्याउन थाले । परिणामतः उनको परिचय ‘कोरियन भाषाका वैकल्पिक उपाय जेएन सर’ बन्यो । उनकोमा भाषा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुन्छन् ।

आफ्नो खुशीको फैलिँदो आयतनबारे जेएन भन्छन्, ‘जब मैले भाषा सिकाउन थालें, त्यसपछि मलाई कहिल्यै पछि फर्किनुपरेको छैन । विद्यार्थी थामिनसक्नु भीड छ । मैले पढाएपछि विद्यार्थी पास हुन्छन्/हुन्छन् । त्यहीँ भएर जेएन सरको भाषा सिकाइ केन्द्र भन्दै नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौं फोन आउँछन् ।’

एक दशकमा उनले हजारौं विद्यार्थी उत्तीर्ण गराएर कोरिया पुगिसकेका छन् । ६ दिदीबहिनी, ४ दाजुभाइ मध्येका साइला छोरा हुन् न्यौपाने । गरीब परिवारमा जन्मे, हुर्केका उनले प्रारम्भिक शिक्षा बुङदलमा रहेको सरस्वती आधारभूत विद्यालयबाट प्राप्त गरेका थिए । ६ देखि १० कक्षासम्म उनले आमभञ्जाङको शारदा माध्यमिक विद्यालयमा अध्ययन गरे । न्यौपानेले ‘प्लस टु’ मकवानपुर बहुमुखी क्याम्पसमा पढ्दै थिए, त्यसबीच उनको जीवनले नयाँ मोड लियो । २०६१ साउन २४–२६ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जग्गा–जमिन बगरमा परिणत गराइदियो । बाढीपहिरोले घरबारविहीन उनको परिवार त्यहाँबाट विस्थापित भएपछि तत्कालीन आमभञ्जाङ–३ मा बस्न थाल्यो तर जेएन भने कामको खोजीमा बुटवल आए ।

बुटवलमा उनका दाजु पुरुषोत्तम बुटवल–काँकडभित्ता रूटमा गाडी चलाउँथे । उनी केही महिना दाजुसँगै बसे । पछि उनी आफ्नै तरिकाले बस्न थाले । यो २०६२ सालको कुरा हो । त्यसपछि उनले २०६२ सालमै पर्रोहा उच्च माविमा ‘प्लस टु’ पढेर उत्तीर्ण गरे । आर्थिक अभावले गर्दा उनी विक्रम संवत् २०६३ सालमा ‘ब्याचलर’मा भर्ना हुन सकेनन् । आर्थिक कठिनाइका कारण त्यो बेला उनका दिन चुनौतीपूर्ण रहे ।

यसबीचमा आफ्नो दैनिक हातमुख जोर्न उनले रिटेलिङ बिजनेश, होम ट्युसन, अंग्रेजी ट्युसन समेत पढाए । १ वर्षपछि विक्रम संवत् २०६४ सालमा उनी फेरि ब्याचलर पढ्न थाले ।

विक्रम संवत् २०६८ सालमा उनले बीएड उत्तीर्ण गरे । न्यौपाने यो सफलता आफ्ना गुरू ऋषि न्यौपानेप्रति समर्पित गर्छन् । ऋषिकै कारणले आफू आज यो स्थानमा आएको न्यौपाने बताउँछन् । बुटवल तामनगरमा उनले कसैसँग १०० रुपैयाँ माग्दा तिर्न सक्दैन भनेर नपत्याएपछि ऋषिले नै उनलाई संघर्ष गर्न सिकाएका थिए । कुनै बेला १०० रुपैयाँ समेत नपत्याइएका न्यौपानेले कोरियन भाषा पढाएरै बहिनी रजनितालाई स्टार्फ नर्स पढाए । करोडभन्दा बढी सम्पति कमाए । यो सफलतामा उनकी पत्नी आरती न्यौपाने पनि खुशी छिन् ।

न्यौपाने आफूले प्रयोगात्मक विधिबाट कक्षा सञ्चालन गरेकै कारण सफलता मिलेको बताउँछन् । उनले ५ महिना निरन्तर भाषा कक्षा पढाउँछन् । २ महिना त्यही विषयलाई पुनः पढाउँछन् । उनका सबै भाषा कक्षाहरू भरिभराउ छन् ।

सबै भाषा कक्षाका कोर्सहरू यूट्युबमार्फत पनि हेर्न र पढ्न सकिन्छ । यसबीच उनीबाट भाषा सिकेकाहरूले बुटवलमा दर्जनभन्दा बढी कोरियन भाषा कक्षाहरू सञ्चालन गरेका छन् । यो देख्दा जेएनलाई धेरै खुशी लाग्छ । पढाइ अवधिमा करीब १०० आन्तरिक परीक्षाहरू गराउने उनले बताए । ‘१०० भन्दा बढी परीक्षा गराउँदा विद्यार्थीमा थप भाषाको ज्ञान बढी हुन्छ, त्यसकारणले पनि मेरो नजिता राम्रो आएको हो,’ उनी भन्छन् ।

बुटवलमा १०० भन्दा बढी प्रशिक्षक उत्पादन भइसकेका उनले बताए । विपन्न र पालिकाबाट सिफारिस आएकालाई निःशुल्क पढाउने व्यवस्था इन्स्टिच्यूटले मिलाएको छ । उनीसँगै ९ जना प्रशिक्षकले भाषा पढाउँछन् । आरतीले अहिले इन्स्टिच्यूटमा प्राचार्यको भूमिकामा छिन् ।

अनलाइन कक्षा शालिक अधिकारीले हेर्छन् । अनलाइन पढ्न चाहनेका लागि सबै कक्षाका कोर्सहरू निःशुल्क उपलब्ध गराइएको छ । केही इन्स्टिच्यूटले ‘ग्यारेन्टी कोरियन भाषा पास’ भन्ने भ्रम फैलाएर कक्षा सञ्चालन गरेको भन्दै त्यसबाट जोगिन भाषा पढ्न रुचि भएकाहरू सचेत रहन जेएनको आग्रह छ । विगतका पीडाका ठूला पहाडहरूलाई छिचोलेर यहाँसम्म आइपुगेका जेएन आफ्नो सफलताको श्रेय आफूसँगको टीमलाई दिन्छन् ।

‘राम्रो रिजल्ट दिन मेरो टीम लागेको छ । सीप र ज्ञानले नै अहिले त मलाई चाहिने खुशी र सन्तुष्टिको सर्वस्व नै छ,’ उनले भने ।

लोकान्तर डटकमका लागि यो स्टोरी बुटवल बाट प्रकाश आचार्यले लेखेका हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार