बुटवल । मनसुन सक्रिय भएसंगै तिनाउ नदिको बाढीले आफ्नो स्वरुप देखाउन थालेको छ । ढिलो गरि शुरु भएको यसबर्षको वर्षापछि तिनाउमा आएको बाढीले दुई पटकसम्म खतराको संकेत पार गरिसकेको छ ।
मंगलबार विहान पनि तिनाउको बाढीले खतराको तह पार गरेको थियो । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार मंगलबार विहान तिनाउमा पानीको सतह ७ दशमलव २२ मिटर पुगेको थियो । तिनाउले खतराको तह पार गरेपछि तटिय क्षेत्रका बासिन्दामा भने निद्रा हराउंन थालेको छ । उनीहरु रातभर जाग्राम बस्न थालेका छन् ।
बुटवल १७ शिवनगर दुर्गाटोलकी सरस्वती दर्जीले बाढीको त्रासले रातभर निदाउन नसकेको बताईन । ०६९ सालदेखि दुर्गा टोलमा बस्दै आएकी सरस्वतीले अघिल्लो बर्षपनि बाढीको त्रासले दुईपटक घरभित्रका सामान अन्यत्र सारेको बताईन ।

दुर्गाटोलकी सरास्वती दर्जी
यसवर्षपनि बाढिको त्रास उस्तै रहेको सरस्वतीको भनाई छ । बाढिबाट बस्तीलाई जोगाउन नदि किनारमा वाल लगाउन स्थानिय सरकारलाई बारम्बार आग्रह गरेपनि सुनुवाई नभएको सरस्वतीको गुनासो छ । दुर्गा टोलकै रेखा चमारको पनि अहिले रातमा निद्रा छैन् ।
व्लकको घर बनाएर ०५९ सालदेखि बस्दै आउनुभएकी रेखालाई कतिबेला तिनाउको बाढीले लैजाने हो भन्ने डर छ । ‘यहाँ हामीलाई कोरिडोरले विस्थापित गर्ने भनेको पनि सुनिन्छ । तर त्यो भन्दा पहिले तिनाउको बाढिले लैजान्छ कि भन्ने डर भयो’ उनले भनिन् ।

दुर्गाटोलकी रेखा चमार ।
सरस्वती र रेखामात्र होईन तिनाउ नदि तटका सयौं घरपरिवारमा अहिले बाढीको त्रास बढेको छ ।
तिनाउ नदीले विभिन्न वर्षहरुमा मानवीय तथा भौतिक क्षति पुर्याउँदै आएको छ । २०२७ सालमा तिनाउमा ठूलो बाढी आयो । असार ४ गते आएको बाढीबाट ९२ जना बेपत्ता भए । १९ पशुको नोक्सान भयो ।
बुटवलका पूर्व उपमेयर विमलबहादुर शाक्यको भनाईमा तिनाउबाट बुटवलले बेहोर्नुपरेको सबैभन्दा ठूलो क्षति थियो, त्यो ।
हरेक बाढीमा तिनाउले कहिले दायाँ र कहिले बायाँ धार फेर्दै आएको छ । २०५९ सालमा आएको बाढीका कारण तिनाउले धार फेर्दा बुटवल पवित्रनगरमा पक्की घर नै गर्लम्म ढल्यो । २०६४ भदौ १३ मा पनि तिनाउ निकै उर्लियो ।

नदी किनारका धेरै कच्ची घर बगे । २०६६ सालमा आएको बाढीले उद्योग वाणिज्य संघको छेउतिर रहेका झण्डै सय सुकुम्बासीका घर बगे । २०७३ साल साउन ११ गते बिहान आएको बाढीले दर्जन घर बगे । बुटवल देवीनगरमा रहेको झोलुंगे पुल पनि बग्यो ।
तिनाउमा गएका पाँच दशकमा आएका ठूला बाढीको प्रवृत्ति हेर्दा लाग्छ, नदी उकासमा बसेका बस्तीहरु बसोबासका लागि सुरक्षित छैनन् । नदी अतिक्रमणको चपेटामा पर्दा बुटवल क्षेत्रमा बर्खामासको सामान्य बाढी बग्ने ठाउँ छैन ।











