गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आहिले आन्तरिक उडानमा मात्र सिमित बनेको छ ।
२०७९ साल जेठ ३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपनि अहिले सम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन् । उद्घाटन भएको एक वर्ष पुग्दै गर्दा जजिरा एयरलायन्सले नियमित उडान गर्न सकेको छैन भने अरु उडान नै थपिएका छैनन् ।
जजिरा भैरहवाको आकासमा उड्न छोडेको ३ हप्ता भन्दा बढी भइसकेको छ । गत असोजदेखि उडान रोकेको जजिराले फागुनबाट पुनः उडान सुरु गरेको थियो । तर फेरि अहिले आफ्नो व्यवसायिक कारण देखाउंदै जजिराले उडान हटाएको छ । विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले अर्को सूचना नभएसम्म जजिराको उडान बन्द भएको बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको वर्ष दिनसम्म नेपाल एयरलाइन्सले पनि उडान थालेको छैन । गत बुद्धजयन्ती समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरांतीले आउँदो जेठ १५ गते भैरहवाबाट नेपाल एयरलाइन्सले नियमित उडान थाल्ने बताएका छन् । मन्त्रीले बोले पनि नागरिक उड्यन प्राधिकरणबाट नेपाल एयरलाइन्सले अझै उडानको अनुमति लिएको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता बज्राचार्यले नेपाल एयरलाइन्सको उडानबारे जानकारी नआएको बताए ।
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल एयरलाइन्सले उडान गर्ने जानकारी दिएको तर अनुमति लिइनसकेको बताए । एयरलाइन्सले मे को तेस्रो साताबाट दिल्ली र मलेशिया उडान गर्ने बताइएको छ ।










