
रुपन्देही प्रहरीले मिलमतोमा हातहतियार खरखजना र डाकाचोरीमा संलग्न मुद्दाका अभियुक्तले प्रयोग गरेको भारतीय नम्बर प्लेटको कार छाडेको पाइएको छ । दृष्टिलाई प्राप्त गोप्य विवरणअनुसार प्रहरीले हातहतियार तथा खरखजना मुद्दाका अभियुक्त अभिनाश यादव र डाकाचोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका रवि यादवले प्रयोग गरेको भारतीय नम्बर प्लेट युपी ३२ एचएस ३२५९ नम्बरको रातो सुजुकी ब्रेजा कार छाडेको हो ।
२०७९ पुस ८ गते कोटहीमाई गाउँपालिका–३, त्रिलोकपुरका गोली पड्किएको भन्दै स्थानीयले प्रहरीमा सूचना दिएका थिए । सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थलबाट प्रहरीले १ भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको थियो । यस्तै, घटनामा दुई राउण्ड गोली पड्किएको प्रमाण फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार एक थान गोलीको खोका र एक थान फायरिङ भएको गोली (तर नपड्किएको) घटनास्थलमा भेटिएको थियो ।
त्यतिबेला तीन जनालाई तत्कालै प्रहरीले पक्राउ गरे पनि उक्त घटनामा संलग्न रुपन्देहीको मर्चवारी गाउँपालिका–१ घर भई सिद्धार्थनगर नगरपालिका–६, भैरहवा बस्ने २१ वर्षका अभिनाश यादव भने फरार भए । फरार भएका यादव केही महिना भारतमा लुकेर बसेका थिए । पक्राउ परेका तीनजनालाई भने रुपन्देही प्रहरीले अनुसन्धान गरी मुद्दा चलायो । र, तीनैजना रुपन्देही जिल्ला अदालतबाट २५ हजारका दरले धरौटीमा रिहा भएका छन् । उनीहरुको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।
अभिनाश भने फागुन २६ गते मात्रै भारतमा पक्राउ परेका थिए । भारतको उत्तर प्रदेशस्थित कोलही भन्ने ठाउँबाट प्रहरीले उनलाई फागुन २६ मा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । अभिनाशसँगै २६ गते नै रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, भलवारीमा सुन र नगद पैसा चोरी घटनामा संलग्न रहेर फरार रहेका कोटहीमाई गाउँपालिका–३ का २३ वर्षीया रवि यादवलाई पनि प्रहरीले पक्राउ गरेर ल्याएको थियो ।
रविमाथि २०७९ फागुन १० गते भलवारीमा सुन र नगद गरी आठ लाख रुपैयाँ बराबरको डाकाचोरी गरेको आरोप छ । उक्त घटनामा संलग्नहरुको प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय, भैरहवामा सोमबार फाइल बुझाएको छ । सुन र नगद चोरी घटनामा रविसहित चारजना आरोपित छन् । रविलाई डाकाचोरी कसूर लगाएको प्रहरीले अन्य तीनजनालाई भने अभद्र व्यवहारमा अनुसन्धान गरी सरकारी वकिलकोमा फाइल पेस गरेको रुपन्देही प्रहरी प्रवक्ता (डीएसपी) श्यामु अर्यालले जनाए ।
फागुन २६ गते पक्राउ गरेर भैरहवा ल्याइएका अभिनाशलाई २८ गते प्रहरीले अदालतमा पेस गरेको थियो । तर, उनी २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । प्रहरीले अभिनाश र रविलाई भारतबाट पक्राउ गरेर ल्याउँदा भारतीय युपी ३२ एचएस ३२५९ नम्बरको रातो सुजुकी ब्रेजा कारमा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेका दुवैजना सँगै भारतमा थिए र उनीहरुले ब्रेजा गाडी प्रयोग गरिरहेका थिए । गाडीमै रहेकाबेला उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले भने मिलेमतोमा उक्त गाडी छाडेको छ । गोखरपुरका अशोककुमारको नाममा रहेको उक्त गाडी घटनामा संलग्न रहेका अभियुक्त भन्दा फरक मानिसको नाममा रहेको भन्दै फिर्ता गरेको डीएसपी अर्यालले बताए । ‘हामीले गोली पड्किँदा फेला परेका मोटरासाइकल फिर्ता गरेका छैनौं तर अभियुक्तले प्रयोग गरेको गाडी अर्कैको नाममा रहेकाले फिर्ता गरेका हौं’, उनले भने । हामीलाई विवरण उपलब्ध गराउने प्रहरी अधिकृतका अनुसार आर्थिक लाभ लिएर केही प्रहरी अधिकृतको मिलेमतोमा गाडी छाडिएको हो ।
ती प्रहरी अधिकृत भन्छन्, ‘भुलबस भन्सार नगरी नेपाल आएको भारतीय गाडी भेट्टायो भने प्रहरीले बरामद गर्छ तर जघन्य घटनामा संलग्न अभियुक्त सवार गाडी भने तुरुन्तै छाड्नु पर्ने के कारण थियो र ? यसमा राम्रै चलखेल भएको थियो ।’ अभिनाशको हकमा प्रहरीले अर्को पनि बद्मासी गरेको छ । अदालतबाट २५ हजार धरौटीमा छुटेका अभिनाशलाई प्रहरी तुरुन्तै पक्राउ गर्ने तयारी गरेको थियो । तर, उनै फरार भएका छन् । अभिनाश तस्कर रहेको प्रहरी बताउँछ । उनले मर्चवारबाट तस्करी गर्दै आएका थिए । स्थानीयले तस्करी रोक्न अवरोध गर्ने संकेत पाएपछि तर्साउन उनको समूहले गोली चलाएको थियो ।
हामीलाई प्राप्त विवरण अनुसार प्रहरीले अभिनाशलाई अदालतबाट छुट्दावित्तिकै तुरुन्त पक्राउ गरी अर्को मुद्दा चलाउने तयारी गरेको थियो । यसका लागि उनलाई पक्राउ गर्न एक प्रहरी जवान खटाएको थियो । तर, अदालतमा थुनछेक बहस हुँदैगर्दा उच्च प्रहरी अधिकारीको अभिनाशका नजिकका मान्छेसँग साठगाँठ भयो । त्यसपछि मिलमतोमा उनी सहजै भाग्न सफल भएका छन् । उनलाई भगाएवापत प्रहरीले ३ लाख रुपैयाँ लिएको स्रोतको दावी छ । मर्चवारको स्थानीय नेताको दवावमा अभिनाशलाई आर्थिक लाभ लिएर प्रहरीले भगाएको हो । ती प्रहरी अधिकृत भन्छन्, ‘एउटा सामान्य केही नबुझेको जवानलाई हातहतियार जस्तो गंभीर घटनामा मुछिएका व्यक्तिलाई पक्राउ गर्न पठाउनु नेतृत्वको गलत निर्णय थियो, योजनाबद्धरुपमै उनलाई भगाउन त्यसो गरिएको हो । यसमा प्रहरी जवानको दोष छैन, माथिल्लो तहका अधिकृत दोषी हुन् ।’ आर्थिक लाभ लिएकै कारण प्रहरीले अभिनाशलाई अदालतबाटै भगाएको दावी ती अधिकृत गरे ।
प्रहरी प्रवक्ता डीएसपी अर्यालले अभिनाश भाग्नुमा प्रहरीको केही कमजोरी भएको पनि स्वीकारे । ‘हामीले उसलाई पक्राउ भनेका थियौं तर केही कमजोरीले भाग्न सफल भए’, उनले भने । यो घटनामा प्रहरीको मिलेमतो छ रे नी ? भन्ने प्रश्नमा डीएसपी अर्यालले मुद्दा शाखामा बरिष्ठ सई डेलिम्बर घिमिरेका बारे बेलाबेला केही गुनासा आउने गरेको जनाए । ‘गुनासा आउनेवित्तिकै हामीले सचेत गराउने र गल्ती गरे कारबाही गर्ने चेतावनी पटकपटक दिइरहेका छौं’, उनले भने, ‘यसबारेमा पनि थप बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछौं ।’ घिमिरे लामो समयदेखि मुद्दा शाखामा कार्यरत छन् । उनका बारे आर्थिक चलखेल गरेको गुनासो आउने गरे पनि कारबाही भने हुनसकेको छैन । दृष्टि अनलाईबाट साभार