गुल्मीको धुर्कोट गाउँपालिकाका किसानले मानव शरीरमा प्रयोग हुने सुई बोकामा लगाएको घटना सार्वजनिक भएपछि विभिन्न कोणबाट बहस सुरु भएको छ ।
सोमबार गाउँपालिकाले पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले बोको÷पाठोलाई संगिनी सुई लगाइदिएको भन्दै त्यसो नगर्न विज्ञप्ति जारी गरेको थियो । संगिनी सुई महिलाले प्रयोग गर्ने गर्भ निरोधक अस्थाई साधन हो । यसको प्रभावअवधि तीन महिना हुन्छ ।
गाउँपालिकाका अनुसार वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुई लगाइदिएका हुन् ।
गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक श्यामबहादुर कार्की स्थानीय किसानले बोकाको तौल बढ्ने विश्वासमा सुई लगाइदिएका हुन् । उनी भन्छन्–‘गाउँमा संगिनी सुई लगाउने महिलाहरु मोटाउँछन् भन्ने मान्यता व्याप्त छ । बोकाको पनि तौल बढ्ने विश्वासमा सुई लगाएका हुन् ।’
बोकामा संगिनी सुई लाइदिएको सूचना गाउँपालिकालाई स्थानीयले नै दिएका थिए । सूचना आएपछि गाउँपालिकाले भनेको छ– ‘तीन महिने संगिनी सुई हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जान्छ । पशुमा यो सुइ प्रयोग नगर्न आग्रह गर्दछौँ ।’
आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानून बमोजिम सजाय दिने भन्दै संगिनी सुई लगाउन तत्काल रोक्न सूचना जारी गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख भएको खवर दैनिक लुम्बिनीमा छ ।
संगिनी सुईले तौल बढाउँछ ?
अमेरिकाको युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका अध्येताहरुले गर्भनिरोधक सुईले उच्च क्यालोरी भएका खानाप्रतिको आशक्ति बढाउने पत्ता लगाएका थिए । युनिभर्सिटीको वेबसाइटअनुसार ती अध्येताले गरेको न्युरो इमेजिङ अध्ययनले सुईका कारण दिमागको यस्तो भाग सक्रिय हुन्छ, जसले गर्दा पास्ता तथा आइसक्रिम जस्ता उच्च क्यालोरी भएका खाना खान मनलाग्ने हुन्छ ।
यस्तै उत्तरपश्चिम इथियोपियामा पाँच जना वैज्ञानिकहरुले गरेको एक अध्ययनले गर्भ निरोधक साधनका रुपमा प्रयोग गरिने सुई (डिपो–प्रोभेरा)ले महिलाहरुको तौल र रक्तचाप परिवर्तन गरेको बढाएको थियो । अध्ययनमा सामेल महिलाहरुमा अधिकांशको तौल बढेको र रक्तचाप अस्थिर रहेको अध्ययनले देखाएको थियो । रोचक के भने केही महिलाको तौल घटेको देखिएको थियो ।
नेपाली समाजमा सुईले तौल बढाउने मान्यता व्याप्त छ । यसका केही वैज्ञानिक आधार भए पनि पशुमा तौल बढाउनका लागि संगिनी सुई प्रयोग गर्नु चिकित्सकीय दृष्टिले अनैतिक हुन जाने भेटेनररी डा. प्रदीप पौडेल बताउँछन् । डा. पौडेल महिलाको शरीरको रसायनिक संरचनामा आधार रहेर निर्माण गरिएको सुई अन्य प्रयोजनका लागि प्रयोग गर्नै नहुने बताउँछन् । उनी भन्छन्–‘यो भनेको एउटा तालाको चाँपी अर्को तालामा प्रयोग गरेजस्तै हो । त्यसको औचित्य हुँदैन ।’
अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थअन्तर्गत रहेको एजेन्सी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले जनावरमा मानवका लागि बनेको गर्भ निरोधक सुईको प्रयोग गर्न अनुमति दिएको छैन । तर केही भेटेनररी डाक्टरहरुले घरपालुवा कुकुरमा यौन क्रियाकलाप तथा आक्रामक व्यवहारलाई नियन्त्रण गर्न यस्तो सुई लगाइदिने गरेको उक्त वेबसाइटले जनाएको छ ।
के हो संगिनी सुई ?
संगिनी सुई एक हर्मोनल साधन हो । जसले शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन । महिलामा दुई किसिमका यौन हर्मोन हुन्छन्, एस्ट्रोजोन र प्रोजेस्टेरोन । महिनावारी भएको दोस्रो दुई हप्तामा बढी हुने प्रोजेस्टेरोन नामक हर्मोनलाई संगिनी सुईले रोकेर राख्छ । यसले पाठेघरको भित्री तहलाई पातलो बनाइदिने भएकाले गर्भ रहँदैन ।
संगिनी सुईले डिम्बाशयलाई समेत रोकेर राख्ने भएकाले गर्भ रहने सम्भावना रहँदैन । प्रजनन् अंग (पाठेघरको मुख)बाट निस्कने पानीलाई संगिनी सुईले बाक्लो बनाइदिन्छ, फलस्वरूप शुक्रकिटभित्र छिर्न पाउँदैन । यसरी गर्भ रोकिन्छ ।










