लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

पाल्पाली ढाकाको रहस्य, पाल्पा तानसेन यात्रा, सेन राज्यको अन्तिम निशानी !

लुम्बिनी प्रदेश मा रहेका १२ जिल्ला मध्ये पाल्पा जिल्ला एक पहाडी जिल्ला हो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुपूर्व यो जिल्ला बाइसे चौबीसे राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। नेपालको एकीकरणपछि पनि शैक्षिक, प्रशासनिक र पर्यटकीय दृष्टिले पाल्पा जिल्ला उत्तिकै अग्रणी मानिन्छ। पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा रहेको छ।

भौगोलिक परिचय

सेनवंशी र मगराँती पृष्ठभूमि बोकेको पाल्पा जिल्लालाई इतिहास, कला, शिक्षा, संस्कृति, रहनसहन र सभ्यताको धनी मानिन्छ। राणाकालीन चार कमाण्डरहरुमध्ये एक रहने पाल्पा लुम्विनी अञ्चलभन्दा ठूलो प्रशासनिक इकाइको रुपमा रहेको र सुदुर पश्चिमका जनताले समेत गल्ती गरेमा पाल्पा चलान भन्ने गरेबाट यो पश्चिम नेपालकै राजधानीका रुपमा रहेको पुष्टि हुन्छ।

२०६८ सालको जनगणना अनुसार जिल्लाको जनसंख्या २६११८० रहेको छ। जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.२८ प्रतिशत देखिन्छ। जनघनत्व १९० प्रति वर्ग कि.मी. छ। पाल्पामा जातिगत रुपमा मगर ५२.३९, ब्राम्हण १७.४६, क्षेत्री ७.९०, कामी ६.७२, नेवार ३.४६, सार्की ३.१८, कुमाल २.६०, दमाई १.९५, ठकुरी १.४६, घर्ती ०.६२ र अन्य २.३४ प्रतिशत रहेको छ।

पाल्पा जिल्लामा संघीय संसदका २ क्षेत्र, प्रदेश सभाका ४ क्षेत्र, २ नगरपालिका र ८ गाउँपालिका रहेका छन्। जिल्लाका १० स्थानीय तहहरुमा रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका रहेका छन्।

पाल्पा जिल्लाको इतिहास

भारतमा मुगलहरुको आक्रमण सहन नसकी तुथाराय सेन प्रयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ्गमा लामो समयसम्म बसी पछि कुसुमखोला, पालुङ्गमैनादी र ठिमुरेको सीमानामा पर्ने रिब्दीकोटमा आफ्नो स्वतन्त्र राज्य स्थापना गरे। तानसेन आउनुअधि सेनवंशीय राजाहरु शिलाङ्गथोकको नजिक रहेको पुरानकोटलाई राजधानी बनाई शासन गरेको इतिहास भेटिन्छ। वि.सं. १३६३ मा तुथाराय सेनदेखि प्रारम्भ भई पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६३ मा पाल्पाको राज्यको स्थापना गरेका थिए।
झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजाहरुमध्ये पछिल्ला पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भीमसेन थापाको रणनीतिक चतुर्याइँले पाल्पा राज्य वि.सं. १८६१ मा नेपाल राज्यमा गाभियो। मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौं, धनकुटा र भोजपुरसम्म राज्य बिस्तार गरेको पाइन्छ।

इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाइअनुसार यस जिल्लाको अस्तित्व ईशाको पाँचौं शताब्दीतिर थियो। त्यस समय भारत वर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मड्गोलियाको आधिपत्यमा रहेको अड्कल गरिएको छ। उनको भनाइअनुसार मङ्गोलियन शब्द ‘वाल्वा’बाट पाल्पा बन्न गएको हो। यसको अर्थ सीप, कला र कालीगढ हुन्छ। यस जिल्लाको सदरमुकाम तानसेनको नामाकरण स्थानीय किम्वदन्तीअनुसार धापमा गढेको गोरुलाई उद्धार गर्न सिङ् तान भनी गुहार्दा तानसेन रहन गएको हो भन्ने छ।

नेपालको मानचित्रलाई हेर्दा पाल्पा जिल्ला २७ डिग्री ३४ मिनेट उत्तरी आक्षाशंदेखि २७ डिग्री ५७ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री १५ मिनेट पूर्वी देशान्तरदेखि ८४ डिग्री २२ मिनेट पूर्व देशान्तरबीच फैलिएको पूर्वमा नवलपरासी, पश्चिममा अर्घाखाँची र गुल्मी, उत्तरमा स्याड्जा, तनहुँ र गुल्मी, दक्षिणमा रुपन्देही र नवलपरासीको बीचको भूभाग हो। यो जिल्ला समुद्री सतहबाट २०० मीटरदेखि २००० मीटर उचाइसम्म रहेको छ।

पाल्पा पहाडी जिल्ला भएता पनि माडी, रामपुर, अर्गली, हुंगी, कचल, दर्पूक, सर्देवा, पूर्वखोला, अगाहाँखोला, गेझावर्दले, भयलाटार, दैलातुङ्ग, दर्पुकजस्ता खेतीयोग्य उर्वर फाँटहरु पनि छन्। उष्णदेखि समशीतोष्णसम्म हावापानी भएको यस भूमिमा प्राकृतिक वनस्पति तथा जैविक क्षेत्रमा विविधता पाइन्छ। यस जिल्लाको सरदर औसत तापक्रम २३ डिग्री सेल्सियस भए पनि गर्मी याममा ३५ डिग्रीभन्दा बढी र जाडो याममा ३.७ डिग्रीसम्म रहन्छ।

करीब ५२.०१ प्रतिशत भूभाग ठूला रुख तथा बुट्यानहरुले ढाकिएको यस जिल्लाको खास वन पैदावरहरुमा साल, सल्लो, उत्तीस, चिलाउने, टुनी, साज, चिउरी, मौवा, खल्लुक आदि पर्दछन्। खास गरेर कचल र दोभान लगायत स्थानमा साल काठ प्रशस्त पाइन्छन्। जिल्लाभरिमा मदन पोखरालगायत जिल्लाका विभिन्न ठाउँहरुमा वन उपभोक्ता समितिहरुमार्फत् सामुदायिक वनमा वृक्षारोपण र संरक्षण कार्य पनि गरिएको छ।

जिल्लामा पाइने वन्यजन्तुहरुमा बाघ, भालु, स्याल, चितुवा, बंदेल, घोरल, ढेडु, बाँदर, खरायो, मृग, फ्याउरो, दुम्सी आदि पर्दछन्। चराचुरुङ्गीहरुमा डाँफे, लुइचो, कालिज, ढुकुर, जुरेलो, काठखोलुवा, फिस्टो, तित्रो, बटई, मैना, सारस, काँडेभ्याकुर, कोइली, सुगा, न्याउली, गिद्ध, चील, बाज, गौंथली, भंगेरा आदि पाइन्छन्।

मूख्य ऐतिहासिक/पर्यटकीय स्थलहरु

१. रणउजेश्वरी भगवती मन्दिर – तानसेन भगवती टोलस्थित उजीरसिंह थापाले बनाएको यो मन्दिरको छुट्टै विशेषता छ। आफ्नो सानो फौजको प्रयोगद्धारा ब्रिटिश इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल गरी युद्धमा होमिएका उजीरसिहं थापाको फौजले तत्कालीन पाल्पाको जीतगढीमा अड्ग्रेजहरुलाई परास्त गर्न सफल भएपछि बनाइएको यो मन्दिरमा विजय उत्सवकै प्रतीकस्वरुप प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विशाल रथयात्रा उत्सव मनाइन्छ। वि.सं. १९९० मा पुरानो मन्दिर भत्किएकाले यसको पुनःनिर्माण गरिएको थियो।

२. अमरनारायण मन्दिर – वि.सं. १९६३ मा अमरसिंह थापाले सुन्दर बगैंचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेको अत्यन्त कलात्मक मन्दिर अमरनारायण मन्दिर हो। यो मन्दिर तानसेन नारायण स्थानमा अवस्थित छ। भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा छ। मन्दिर सञ्चालनका लागि गुठीको समेत व्यवस्था गरिएको छ।

३. तानसेन दरबार – पश्चिम कमाण्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि वि.सं. १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरबार ७–१४–२–१ रोपनी क्षेत्रफलमा फैलिएको छ। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरबारमा ४ तला, ६३ कोठा, २ बैठक कोठा र २ बुर्जासमेत रहेको थियो। यस दरबारमा अधिकांश सरकारी कार्यालय सञ्चालनमा रहेका थिए। सशस्त्र द्वन्दका क्रममा क्षति भएपछि यस दरबारको पुनःनिर्माण गरिएको छ।

४. श्रीनगर डाँडा – तानसेन बजारबाट उत्तरतिर उकालो लागेपछि मनोरम श्रीनगरडाँडा आइपुग्छ, जहाँबाट लामो हिमश्रृङ्खला देख्न सकिन्छ, सल्लाघारीको सुसेली सुन्न सकिन्छ। समुद्र सतहबाट १४९२ मीटर उचाइमा रहेको यस श्रीनगर डाँडाको शान्त वातावरणले हरेकको मनलाई आनन्दित तुल्याउँछ। यसै डाँडामा सिद्धीविनायक गणेशको मन्दिर रहेको छ भने पूर्वपट्टी श्रीनगर पारिलेक वन अवस्थित छ। यस ठाउँमा ठूलो तथा अग्लो बुद्धको मूर्ति रहेको छ। बुद्धलाई सेवा गरिरहेका हात्ती तथा बाँदरको मूर्ति पनि यस ठाउँमा रहेको छ। यस ठाउँबाट चारैतिरको हिमाल, पहाड तथा तराईको समथर मैदानहरु, माडी फाँट तथा तानसेन बजारको दृश्य अवलोकन गर्न सकिन्छ। बिहान सबेरै सूर्योदयको अनुपम दृश्य यस ठाउँबाट देख्न सकिन्छ। हाल श्रीनगर डाँडामा भ्यु टावर बनेको छ।

५. रानीघाट दरबार – पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २.३० घण्टा पैदल यात्राबाट पुग्न सकिने जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा यो दरबार बनाएका थिए। एकातर्फ बुर्जाको जग कालीगण्डकीमा नै रहेको, महलभित्र पानी पोखरी, मन्दिर, बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाइ, ११२ फिट अग्लो चार तले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ। रानी महल नामले प्रख्यात यो रानीघाट दरबार उत्तरवाहिनी दिशामा बहेको पवित्र काली गण्डकी नदीको तिरमा अवस्थित छ।

६. ऋषिकेश मन्दिर – सदरमुकामबाट ३० कि.मि. पश्चिम मणिमुकुन्द सेनले स्थापना गरेको यो मन्दिरमा कलात्मक ढङ्गले कुँदिएका विभिन्न मूर्तिहरु छन्। यस क्षेत्रलाई रुरु क्षेत्र पनि भनिन्छ। श्री स्वस्थानी ब्रतकथाअनुसार यहाँ सतीदेवीको अङ्ग पतन भई सत्येश्वर महादेव उत्पन्न भएका थिए। यस क्षेत्रमा माघे संक्रान्तिमा तीन दिनसम्म मेला लाग्दछ। स्याड्जा, पाल्पा, गुल्मीको संगमस्थल यस ठाउँमा तीर्थ गर्न भारत लगायत अन्य देशका हिन्दू भक्तजनहरुसमेत आउने गर्दछन्।

७. अर्गली दरबार – अर्गलीमा पर्ने यो दरबार तानसेनबाट २५ किलोमिटर पश्चिममा छ। जुद्धशमशेरको पालामा निर्माण गरिएको यो दरबार अत्यन्त मनमोहक छ। हाल यो जीर्णोद्धारको प्रतीक्षामा छ। यहाँबाट कालीगण्डकीको किनारमा मनोरम स्थलहरु, रुरुक्षेत्र, स्याड्जा र गुल्मी जिल्लाका विभिन्न भू–भागहरु देख्न सकिन्छ।

८. राधाकृष्ण मन्दिर – भक्त थानेश्वर महाप्रभु (पहेंलो प्रभु) को अगुवाइमा स्थापना भएको यो मन्दिर पाल्पा जिल्लाको उत्तर पश्चिम सिद्धेश्वरको देउले अर्चलेमा पर्दछ। त्यसको नजिकमा जनदुर्गा मन्दिर, यज्ञ मण्डप, चारधाम कुण्ड रहेका छन्। अर्चलेको छाताजस्तो गरी बसेको रमणीय जड्गलमा सिद्धेश्वर गुफा रहेको छ। यसै सिद्धेश्वरमा आलमकालिका मन्दिर समेत रहेको छ।

९. केलादीघाटका कलात्मक मन्दिरहरु – पूर्वी पाल्पाको रामपुर र दर्छामा पर्ने कालीगण्डकीको किनारमा कलात्मक मन्दिरहरु रहेका छन्। यहाँ रामसीता, राधाकृष्ण र शिवका प्राचीन मूर्तिहरु रहेका छन्। विशेष गरी रामनवमी र माघेसंक्रान्तिका दिन यहाँ मेला लाग्ने गर्दछ। आँपका ठूला बगैंचाहरु र खुला टारहरुले यस ठाउँलाई छुट्टै सौन्दर्य थपेको छ।

१०. तानसेन मुलढोका – दरबार क्षेत्रबाट उत्तरतिर शित्तलपाटीमा अवस्थित काठैकाठले बनेको यो मुलढोकालाई नेपालको सबैभन्दा ठूलो बग्गी ढोकाको रुपमा लिइन्छ।

११. रिब्दीकोट – पाल्पा जिल्लाको पश्चिम क्षेत्र कुसुमखोला, ठिमुरे र पालुङ्ग मैनादीको बीच भागमा पर्ने यस कोटको उचाइ १८९३.५ मिटर छ। यस ठाउँबाट सबैभन्दा धेरै हिमशृड्खलाहरु देख्न सकिन्छ। धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ्ग पिक, मनास्लु, गणेश हिमाल, लामटाङ्, सिमीकोट, सेरशिखरलगायत अन्य सानातिना हिमशृड्खलाहरु प्रस्ट देखिन्छन्। साथै यस ठाउँबाट रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतको उत्तर प्रदेशका धेरै जसो भूभागहरु हेर्न सकिन्छ।

पालुङ्ग मैनादी बतासेबाट १ घण्टा दक्षिण रिब्दीकोट लेकमा रहेको पुरानो यो मन्दिर जीर्ण अवस्थामा रहेको छ। यसको माथिल्लो भागमा पानीका मुलहरु रहेका छन्। यहाँबाट लगभग १५ हजार जनसंख्यालाई खानेपानी उपलब्ध भएको छ। यस ठाउँमा जलेश्वर महादेव तथा बुद्धको मूर्ति रहेको छ। साथै यो मूर्तिलाई पाल्पा जिल्लाको सबैभन्दा जेठो बुद्धको मूर्तिका रुपमा मान्यता दिइएको छ। रिब्दीकोटमा राज्य गर्ने सेन वंशका पूर्खाहरुले नै यहाँ मन्दिर स्थापना गरेका थिए। यहाँ अहिले पनि शिवधुनी बलिरहन्छ। वर्षेनी ठूला–ठूला मेला लाग्ने यो ठाउँ विवाह र वनभोजका लागि समेत प्रसिद्ध छ।

१२. तहबिल अड्डा – राणकालीन तानसेन दरबार क्षेत्रभित्र रहेको तहबिलको ढोकामा ३ वटा साँचो लगाइने भएकाले यसलाई तीन साँचो भनिएको हो। त्यस बेला यो पाल्पा गौडाको राजश्व परिचालन गर्न मुख्य अड्डा थियो। तत्कालिन पाल्पा गौडा अन्तर्गतका विभिन्न जिल्लाहरु र सदरमुकाम तानसेनमा भएका रावश्व परिचालन अड्डाहरुबाट राजश्व संकलन गरी तीन साँचोमा जम्मा गरिन्थ्यो।

१३. खड्ग स्तम्भ – पाल्पा गैडाका तैनाथवाला खड्गशम्शेरले दरबार र मूलढोका (बग्गीढोका) निर्माण गरी दरबार अगाडि, पछाडि र मूलढोका नजिक स्तम्भहरु बनाएका थिए। ती मूलढोका नजिक रहेको यो महत्वपूर्ण स्तम्भ हो। खड्गशमशेरको नामबाट यसको नाम खड्ग स्तम्भ भनिएको हो। यसको निर्माण कार्य वि.सं. १९५० तिर भएको मानिन्छ। यसलाई विजयस्तम्भ पनि भन्ने गरिन्छ।

१४. भैरव मन्दिर – पाल्पा जिल्लाको सदरमुकामदेखि ९ किलोमिटर पश्चिम भैरवस्थानको आकर्षण पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेषगरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ। विभिन्न चाडपर्वहरुमा बोका, हाँस, कुखुरा र पाडाहरुको बली यहाँका कालभैरवलाई चढाउने परम्परा रहँदै आएको छ। यस क्षेत्रबाट अधिकांश हिमशिखरहरुको दृश्यावलोकन गर्न सकिन्छ।

१५. माण्डव्य मन्दिर माडी – माण्डब्य ऋषिको तपोभूमिको रुपमा रहेको माडीफाँटको दक्षिण दमकडाँमा माण्डब्य ऋषिको मन्दिर रहेको छ। सन्त माण्डब्य ऋषिलाई चोरको आरोप लगाएर पाता फर्काई कुटेर छाडिदिएपछि उनले माडीफाँटको पूर्व, दक्षिण अवस्थित सरापकोट भन्ने ठाउँमा गई ‘माडीफाँटको अन्न खाने मान्छेको बुद्धि पछिबाट मात्र आओस्’ भनी श्राप दिएको हुँदा अहिले पनि अन्नप्राशनमा माडीफाँटको अन्न प्रयोग गरिँदैन। यस सम्बन्धी विस्तृत विवरण पद्म पुराणमा उल्लेख छ।

१६. रम्भापानी – पाल्पा जिल्लाको मध्यभाग ताहुँमा पर्ने यो स्थल, जहाँ प्राकृतिक मनोरम जड्गलको बीचमा रम्भादेवीको मन्दिर छ। यस क्षेत्रमा विशेषगरी कृष्ण जन्माष्टमीका दिन मेला लाग्दछ। यहाँ हाँस, कखुरा, परेवा, बोकाको बलि दिने चलन छ। ताहुँ रम्भापानी विभिन्न जातका जडीबुटीजन्य बनस्पति, चराचुरुङ्गी र पशुपंक्षीका लागि प्रशिद्ध र आकर्षण रहेको छ।

१७. गोलघर – सदरमुकाम तानसेन बजारको मुख्य चोक शीतलपाटी (भगवती टोल) मा अवस्थित गोलघर पाल्पाको एउटा आकर्षणको रुपमा रहेको छ।

१८. वाकुममुढी र रिम्घालेक – प्रकृति, संस्कृति र इतिहासले सम्पन्न यो क्षेत्र पीपलडाँडा, फोक्सिङकोट र ताहुँमा पर्दछ। गोर्खाली फौज र पाल्पाली फौजको रणसंग्रामस्थल बाकुमगढी वीरता र धीरताले भरिपूर्ण छ।

१९. पुराना दरबारहरु – हाल भग्नावशेष र भग्नावेशषका संड्केतहरु देख्न सकिने रिब्दीकोट दरबार, पाल्पा श्रीनगर दरबार, प्रभास दरबार र दोभान नुवाकोट दरबार पनि उल्लेखनीय ऐतिहासिक दरबारका रुपमा रहेका छन्। त्यसका साथै पाल्पामा गोरु काट्ने (ऐतिहासिक ढुङ्गा), राम्दी सिद्धबाबा, भीमसेन मन्दिर, शिवालय, सरस्वती मन्दिर, भैरव मन्दिर, कोकलादेवी मन्दिर, आनन्द विहार, होलाङ्ग्दी बुद्ध विहार, गणेश मन्दिर आदि प्रसिद्ध छन्।

पाल्पामा रहेका गुफाहरुमा सिद्धपानी गुफा, हात्तीलेक गुफा, जुरे गुफा, सिद्ध गुफा, बालसिद्ध गुफा, रिडीका गुफाहरु, सिद्धेश्वर गुफा रहेका छन्। प्रताप शमशेरले तानसेनमा पाइपद्धारा पानी ल्याउनका लागि अन्दाजी ५०० मिटर लामो सुरुङ्ग निर्माण गरेको थिए, जुन आज पनि छँदैछ।

जिल्लाका ताल र कुण्डहरु

क) सत्यवती ताल – बुटवल–तानसेन सिद्धार्थ राजमार्गमा पर्ने चौविसमाइलदेखि डेढ घण्टा दक्षिण पैदल यात्राबाट पुगिने १४०० मिटर उचाइमा रहेको यो ताल कोलडाँडामा पर्दछ। सुन्दर जंगलको बीचमा पहाडको टाकुरामा रहेको यो तालको छुट्टै विशेषता छ। यहाँ कार्तिक पूर्णिमाको दिन मेला लाग्दछ। सत्यवती माइले कानले सुन्न सक्दिनन् भन्ने विश्वास भएकाले भक्तजनहरु ठूलो स्वरमा चिच्याएर तालको वरिपरि बर माग्ने चलन छ।

ख) प्रभास ताल – सिद्धार्थ राजमार्गसँगै जोडिएको यो ताल तानसेन नगरपालिकामा पर्दछ। यो ज्यादै पौराणिक ताल हो। कमलका फूलहरु फुल्ने हुँदा यसलाई कमलपोखरी समेत भनिन्छ। यस तालमा सबै प्रमुख तीर्थस्थलहरुको जल ल्याई राखिएको हुँदा यसलाई प्रभास क्षेत्रको रुपमा मान्ने चलन छ।

ग) सीताकुण्ड – पूर्वी पाल्पाको दर्छामा रहेको यो कुण्ड करिब ४००० फिटको उचाइमा रहेको छ। यहाँबाट धौलागिरी माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमश्रृङ्खला देखिन्छ भने कालीगण्डकीको दृश्य, दर्छा र रामपुरको हरियाली फाँट देख्न सकिन्छ।

जिल्लाका प्रमुख नदीनालाहरु

१) कालीगण्डकी – पाल्पा जिल्लाको उत्तरी सीमानाको रुपमा रहेको यस कालीगण्डकीको उद्गमस्थल मुस्ताड जिल्ला भए पनि रिडिदेखि गाडाकोट हुँदै बाकामलाङ्सम्म यसले सीमानाको काम गरेको छ। यस नदीमा जल पर्यटन र डुङ्गा चलाउन पनि सकिन्छ। यो नदीमा प्रसिद्ध शालिग्राम पाइन्छ।

२) तिनाउ नदी – पाल्पा जिल्लाको देवीनगरबाट उद्गमा भएको यो नदी माडीफाँट हुँदै बुटवलमा पुगी विभाजन भएपछि दानव नदी र तिलोत्तमा नदीको नामबाट चिनिन्छ। तिनाउ पाल्पाको महत्वपूर्ण नदी मानिन्छ।

३) अन्य नदी र खोलाहरु – निस्दी नदी (देवीनगर), आरुङ खोला, रिडी खोला, अंगाहा खोला आदि खोलाहरु पाल्पा जिल्लामा रहेका छन्। यी खोलाहरुले जिल्लाको जमिनलाई उर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्दछन्।

पाल्पा जिल्लाका प्रसिद्ध गढीहरुमा कालिका गढी, नुवाकोट गढी, बल्ढेङ्गगढी, वाकुमगढी, माथागढी लगायत रहेका छन्। पाल्पा जिल्ला पाल्पाली ढाकाटोपी र करुवाका नामले विश्वभर प्रख्यात छ। यहाँ पाल्पाली करुवा, तामाको भाँडाकुँडाहरु, काँसका वस्तुहरु, पाल्पाली ढाका टोपी, चोलो, पछ्यौरा लगायत ढाकाका अन्य वस्तुहरु, झिनियाँ रोटी, बटुक, हाँसको छोइला, चुकाउनी, कफी, अदुवा, जडीबुटी, बेतबाँसका सजावटका सामाग्रीहरु पाइने जिल्लाका रुपमा पनि प्रख्यात छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित