लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको छ । जसका लागि आज माओवादी संसदिय दलको बैठक आव्हान गरिएको छ । माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आज दिउँसो बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने बताए ।
पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर नयाँ गठबन्धनमा एमाले र राप्रपाबाहेक सबै परेपछि एमालेलाई समस्या परेको हो ।
यता माओवादीका सांसदहरु आफ्नै नेतृत्वका सरकारमा जाने नभए अहिलेकै सरकारलाई समर्थन गर्नुपर्ने आवाज उठाएको भएपनि आजको बैठकले ठोस निर्णय गर्ने माओवादीका एक नेताले बताए ।
माओवादीले कांग्रेसलाई मुख्यमन्त्री दिन नसक्ने बताउँदै आएको छ । एमालेका शंकर पोखरेल सत्ताच्यूत भएपछि बनेको गठबन्धन दलले तत्कालिन समयमा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेकाले यस पटकको गठबन्धनबाट नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुपर्ने तर्क कांग्रेसहरुले गरेका छन् ।
कांग्रेसले सरकारको नेतृत्व गर्ने दावी गरिरहँदा माओवादी केन्द्र भने आन्तरिक विवादमा मात्र भुलेको छ । माओवादी केन्द्रका संसदिय दलका नेता जोखबहादुर महरा सिमित गुटको राजनीतिक गरेको भन्दै अहिले माओवादी भित्र तिब्र विवाद छ । कतिपय सांसदहरुले त संसदिय दलको नेता फेर्नुपर्ने समेत बताउन थालेका छन् । आजको बैठकमा आन्तरिक मतभेद टुंगाएर अघि बढ्ने एक माओवादी नेताले बताए ।
८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक हुन्छ । लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सम्मिलित गठबन्धनबाट नयाँ सरकार गठन गर्ने तयारी भइरहेको हो ।