जो स्थायी शिक्षक छोडेर राजनीतिमा होमिएका थिए

लुम्बिनी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री जोखबहादुर महरा माओवादी केन्द्रका संसदीय दलका नेता पनि हुन्।

नेकपा एमालेसँगको भागबन्डामा लुम्बिनीले मुख्यमन्त्री पाएको भए उनले यतिबेला प्रदेश सरकारको नेतृत्व गर्थे।

तर पनि लुम्बिनी सरकारको नेतृत्व एमालेका लीला गिरी र महराले आलोपालो गर्ने सहमति भएको दाबी माओवादीको छ।

गिरीको कार्याकालपछि महरा नै मुख्यमन्त्री बन्ने माओवादीले बताइरहेको छ। महरा अहिले मुख्यमन्त्रीसम्म पुग्न मन्त्रीको टेकोमा छन्।

राजनीतिक यात्रा
२०३६ सालदेखि उनी विद्यार्थी संगठनमा जोडिएका थिए। पछि शिक्षण पेशामा लागे। ६ वर्षसम्म रोल्पाको गजुलस्थित जनज्योति माविमा स्थायी शिक्षक रहेका उनी २०५१ सालमा जागिर छोडेर राजनीतिमा होमिए।

सशस्त्र युद्ध सुरु भएपछि २०५३ सालमा नेकपा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी र ०५४ सालमा रोल्पा जिल्ला इन्चार्ज भए।

इन्चार्ज रहेकै समयमा उनको खुट्टामा गोली लागेको थियो। गोली लागेपछि २ वर्ष भारतको अस्पतालमा बसे। २०५६ र ०५७ सालमा पार्टीको बाँके र बर्दिया इन्चार्ज बने। २०५८ सालयता माओवादीको केन्द्रीय समितिमा छन्।

पार्टीमा रहँदा उनले सांगठनीक कामभन्दा बढी हेडक्वाटरको जिम्मेवारी सम्हाले। २०६४ सालमा महरा समानुपातिकतर्फबाट संविधान सभा सदस्य बनेका थिए।

सभासद बन्नुअघि उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव थिए। पहिलो संविधान सभाको कार्याकाल सकिएपछि २ वर्ष उनी पार्टी केन्द्रीय कार्यालयमा रहे।

२०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्दा जोखबहादुर प्रमुख स्वकीय सचिव थिए। त्यसयता प्रधानमन्त्री नहुँदा पनि उनी गत चुनावसम्म प्रचण्डको सचिवालयकै नेतृत्वमा थिए।

गत मंसिर ४ को चुनावमा मुख्यमन्त्री बनाउने गरी प्रचण्डको सचिवालयबाट बिदा भएर महरा रोल्पा ‘क’ बाट प्रदेश सभा चुनाव लड्न पुगेका थिए।

चुनाव जितेर दलको नेता बनेका उनी अहिले मन्त्री बनेका हुन्। एक महिनाअघि मुख्यमन्त्री गिरीसँगै जोखबहादुर पनि मन्त्री बन्ने चर्चा थियो।

तर एमालेले आर्थिक मामिला मन्त्री दिन नमानेपछि शपथ लिएका थिएनन्। अहिले उनले दाबी गरेकै मन्त्रालय पाएका छन्। कृष्णबहादुर महरा र जोगबहादुर महरा रोल्पाको एकै थलोका हुन्। उमेरले कृष्णबहादुर जोखबहादुर भन्दा केही वर्ष जेठा छन्।

तर जोखबहादुर नाताले कृष्णबहादुरका काका पर्दछन्। कृष्णबहादुर लामो समय संसदीय राजनीतिमा हावी रहे। मन्त्रीदेखि सभामुखसम्म बने। गत चुनावमा उनी उम्मेदवार नभएपछि संसदीय राजनीतिबाट टाढिएका छन्।

तर कृष्णबहादुर टाढिँदै गर्दा यसअघि छायामा रहेका काका जोखबहादुर संसदीय राजनीतिमा स्थापित हुँदै छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार