


जब साँझ ढल्किँदै जान्छ, व्यापारिक शहर बुटवलको कालिकानगर र देवीगरका बार, लाउन्ज र क्लबमा चहलपहल बाक्लिन्छ । बसपार्कदेखि कालिकानगरसम्म फराकिलो सडक सहितको बजार अहिले काठमाडौंको ‘ठमेल’को रूपमा विकास भएको छ ।
जति रात छिप्पिँदै जान्छ, लाइभ म्यूजिक, मदिराको कक्टेलसँगै युवा पुस्ता रोमान्टिक वातावरणमा रमाउँछन् । घ्यूसँग नून साट्ने शहरको रूपमा चिनिने बुटवल अहिले मनोरञ्जन र मस्तीमा अगाडि देखिन थालेको छ ।
युवा पुस्ता पुस, माघको तराईको शितलहर र आच्छुआच्छु पार्ने चिसोमा पनि हरेक साँझ रेस्टुराँ, पब, लाउन्ज र रकबारमा मस्त भएका भेटिन्छन् । कोरोना महामारीले केही व्यवसायी पलायन भए पनि अहिले बुटवलको रात्री बजार लय, ताल र उचाइमा उक्लिँदो छ ।
बुटवल आफू मात्र रमेको छैन, बुटवलमा रम्न भारतीय, पाल्पा, गुल्मीदेखि कपिलवस्तुबाट आउने युवा पर्यटकको संख्या पनि बढ्दो छ । सन् २०२२ को बिदाइ र सन् २०२३ को स्वागतदेखि बुटवललाई रात्रिकालीन बजारको रूपमा पनि अगाडि सारिएको छ ।
बुटवल घुम्न आउने आन्तरिक तथा अन्य देशका पर्यटक मध्यरातसम्म मनोरञ्जन गर्ने मूडमा हुँदा पनि प्रहरी प्रशासनका कारण चाँडै बन्द गर्न बाध्य हुँदै आएका थिए । यहाँ अहिले राति २ बजेसम्म क्लबलाई सञ्चालनको अनुमति दिइएको छ । रेस्टुरेन्ट ११ बजेसम्म सञ्चालन गर्न पाउँछन् । यसअघिसम्म रेन्टुरेन्ट र होटल साढे ९ बज्न नपाउँदै बन्द गर्न लगाउन भन्दै प्रहरीले सिठी फुक्दै आएको थियो ।
विशेषगरी कालिकानगर क्षेत्रलाई रात्रिकालीन बजारको रूपमा अगाडि बढाइएको छ । बुटवलले स्वरूप फेर्दै पनि गइरहेको छ । नाइट क्लब र लाउन्जहरूका साथै फाइभ स्टार होटल खुल्ने क्रम तीब्र छ ।
रात्रिकालीन मनोरञ्जनमा रमाउन चाहनेका लागि बुटवलको विकल्प नभएको स्थानीय आयुश ढकाल बताउँछन् । १ दशक अगाडिसम्म आवास क्षेत्रको रूपमा चिनिएको कालिकानगर, इँटाभट्टी र देवीनगर अहिले रेस्टुरेन्ट र किचन ‘हब’ बनिसकेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।
‘नयाँ बसपार्क र पुरानो बसपार्क रात्रिकालमा तातिँदै जान्छ,’ गौतम भन्छन्, ‘शुरूआत राम्रो छ । देशमा रहेको आर्थिक मन्दीका कारण अझै पनि सोचेजस्तो हुन सकेको छैन । बिस्तारै यो क्षेत्र रात्रिकालीन स्पेसल बजार बन्दैछ ।’
युवा पुस्ता प्रेमी, प्रेमिकासहित बजारमा भेटिन्छन् । लाइन एण्ड लेमन रेस्टुरेन्ट सञ्चालक सागर पौड्याल १ दशक अघिबाट शुरू भएको क्लब र रेस्टुराको कन्सेप्ट अहिले तीब्र विस्तार भएको बताउँछन् । ‘अहिले दर्जनौं क्लब, लाउन्ज र क्याफेमा लाइभ म्युजिक छन् । हामीलाई ११ बजेसम्म चलाउन अनुमति छ । क्लबहरूले त २ बजेसम्म चलाउन पाउँछन् ।’
बुटवलमा हालसालै खुलेको मोन्टोना रेस्टुरेन्टमा खानासँगै लाइभ गजल हुन्छ । बुटवलकै द कन्सेप्टमा संगीत र डान्स हुन्छ । लाइभ म्युजिक समेत जमेको हुन्छ ।
होटल व्यवसायी माधव खनालका अनुसार लेट नाइट पार्टीका लागि विशेषगरी युवापुस्ता बढी सक्रिय छन् । ‘बुटवल आउनेहरू त आउने नै भए, अहिले स्थानीय समेत परिवारसँगै १५ दिनमा एक रात बाहिर खाने र रम्ने संस्कार विकास भएको छ । रात्रिकालीन म्युजिकल क्याफे, रेस्टुरेन्ट र डिजे पार्टीमा युवाहरूको आकर्षण बढी देखिन्छ,’ खनालले भने ।
रात्रिकालीन मनोरञ्जनका लागि नयाँ–नयाँ उपाय पनि अपनाइरहन्छन्, यहाँ व्यवसायीले पनि पछिल्लो समय कन्सर्टको संख्या पनि ह्वात्तै बढ्न थालेको छ । राष्ट्रियस्तरका कलाकारहरूले पनि सांगीतिक माहोल तताउन आइरहन्छन् । बुटवलको रात्रिकालीन व्यवसायका लागि प्रहरी प्रशासन उदार हुन सकेको थिएन । अहिले व्यवसायीको दबाबले बल्ल ११ बजेसम्म होटलहरू चल्न अनुमति दिएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर सन्तोष घिमिरेले रात्री बजार शान्तिपूर्ण रहेको बताए । ‘बजार क्षेत्रमा प्रहरीले निरन्तर निरीक्षण गरिरहेको हुन्छ । त्यस्ता कुनै घटनाहरू भएका छैनन् । शान्तिपूर्ण रूपमै चलेका छन्,’ इन्सपेक्टर घिमिरेले भने । रात्रिकालीनमा सुरक्षा चुनौती धेरै हुँदा त्यसका लागि व्यवसायी आफैं जिम्मेवार हुनुपर्ने घिमिरेको भनाइ छ ।
रात्रिकालीन मनोरञ्जनमा ड्रग्सको समस्या बुटवलमा पनि छ । यहाँ लागूऔषध कारोबारीको ट्रान्जिट पोइन्ट पनि विकास भइरहेको छ । भारतीय सीमाबाट सहजै भित्रिने लागूऔषधमा यहाँका केही युवा फसेका छन् ।
बुटवल शहर २०० वर्ष अगाडि बसेको मानिन्छ । अंग्रेज फौजलाई पराजित गरी तत्कालीन कर्नेल उजिर सिंहले बुटवलको जग बसालेको मानिन्छ । विक्रम संवत् २०२० सालपछि बुटवल बसाइँसराइँको केन्द्र बन्दै जाँदा पश्चिम पहाडी जिल्लाको व्यापारिक केन्द्र बनेको हो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले रात्री बजारसँगै बुटवलको आर्थिक अवस्था चलायमान भइरहेको बताइन् । रुपन्देही आउने ५० प्रतिशत पर्यटक मनोरञ्जनका लागि आउने गरेका छन् । यो समाचार लोकान्तर डटकमका लागि प्रकाश आचार्यले लेखेका हुन ।