कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर                
समाचार :

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, जसपा, राप्रपा र जनमतले मन्त्रीको नाम टुंग्याए

बुटवल । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

सकभर आजै नभए आइतबारसम्म नयाँ मन्त्रीको शपथ गराउने गरी तयारी भइरहेको हो ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको आलोचना भइरहेको छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र अन्य साना दलहरुसँग मन्त्रालय भागबन्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए ।

गिरीले आफूसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीलाई बिनाविभागीय मन्त्री बनाएका थिए । उनीहरुको मन्त्रालय पनि अहिलेसम्म टुंगो लागेको छैन ।

मुख्यमन्त्री पाएको नेकपा एमालेले माओवादी केन्द्रलाई अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय दिन तयार भएपछि सहमति जुटेको माओवादी केन्द्र प्रदेश अध्यक्षको दाबी छ । माओवादीले कुल ३ मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले एक/एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो ।

‘हामीले अर्थ, भौतिक पुर्वाधार र आन्तरिक मामिला मन्त्रालय लिने सहमति भएको छ,सम्भवतः आज (शुक्रबार) नभए आइतबारसम्म मन्त्रीहरुको शपथ हुन्छ,’ माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले भने, ‘हाम्रो दलको नेता महराको नेतृत्वमा सरकारमा जाने तयारी छ ।’

बरालले पार्टीबाट सरकारमा जाने नेताहरुको नाम करिब करिब टुंगो लागेको बताए पनि नाम उल्लेख गर्न चाहेनन् ।

यसअघि एमालेले अर्थ मन्त्रालय माओवादीलाई दिन आनाकानी गरेपछि महरा सरकारमा नजाने अडानमा थिए । यही कारण मन्त्रिपरिषद् विस्तार अड्केको थियो ।

जसपा,राप्रपा र जनमत पार्टीले सरकारमा जाने मन्त्रीको टुंगो लगाइसकेका सम्बन्धित दलका नेताहरुले बताएका छन् ।

जसपाबाट संसदीय दलका नेता बाँकेका भण्डारीलाल यादवले आफू नै सरकारमा जाने पार्टीमा सहमति भएको बताए । ‘जसपाले एउटा मन्त्रालय पाउँछ, सरकारमा म आफैं जाने हो’,यादवले भने, ‘मन्त्रालय कुन पाउने भन्ने आज टुंगो लाग्दैछ ।’

राप्रपाले कपिलवस्तुका जानकीप्रसाद यादवलाई सरकारमा पठाउने भएको छ । राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयका अनुसार राप्रपाले उद्योग तथा पर्यटन वा सामाजिक विकास मध्ये एउटा मन्त्रालय पाउने छ ।

जनमत पार्टीबाट रुपन्देही ५ (२) बाट निर्वाचित संसदीय दलका नेता चन्द्रकेश गुप्ता सरकारमा जाने भएका छन् ।

गुप्ताले आफू नै सरकारमा जाने सहमति भइसकेको तर मन्त्रालय टुंगो नलागेको बताए । ‘आजसम्म मन्त्रालयको टुंगो लाग्छ,’ उनले भने, ‘मुख्यमन्त्रीको सचिवालयले सकेसम्म आजै शपथ गराउने तयारी छ भनेको छ ।’

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । सो दलको संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीसहित थुनामा रहेका नेता कार्यकर्ताहरु रिहा नभएसम्म आफूहरु सरकारमा नजाने तर सरकारलाई समर्थन कायमै रहने बताए ।

सरकारका प्रवक्ता चेतनारायण आचार्यले मन्त्रीहरुले शपथग्रहण गरेपछि सरकारी आवास पाउने गरी तयारी गर्दा केही ढिलाई भएको बताए । मन्त्रीहरुको आवासका लागि लमहीमा व्यवस्थापन गरिएको उनले बताए ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबन्डामा करिब करिब सहमति जुटेकाले सकभर आजै मन्त्रिपरिषद् विस्तार गरी शपथ गराउने तयारी भइरहेको बताए । आफ्नो दल एमालेबाट सरकारमा जाने नेताहरुको विषयमा समस्या नभएको उनले बताए ।

‘धेरैजसो दलसंग सहमति जुटिसकेको छ, एकाध दलसँग छलफल चलिरहेको छ,’आचार्यले भने, ‘मन्त्रालयमा बाँडफाँटमा सहमति जुटे आजै सपथ हुनसक्छ,नभए आइतबार भन्दा पर जाँदैन ।’

लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्री बनाउने निर्णय भएको छ । लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा सहकारी गरी १० मन्त्रालय रहेका छन् ।

यसअघि माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री हुँदा १३ मन्त्रालय थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार