


लुम्बिनीमा सरकार विस्तारको तयारी तीव्र पारिएको छ ।
सरकार विस्तारको तयारीमा लागेका लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले बुधबार नै आफ्नो सचिवालय विस्तार गरेका छन् । गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेलाई नियुक्त गरेका छन् । यसअघि उनले प्रमुख स्वकीय सचिवमा कृष्ण कुमाल, स्वकीय सचिवमा अमृत गिरी र प्रेस संयोजकमा टीका बस्नेतलाई नियुक्त गरेका थिए । प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त न्यौपाने बुटवल–११ का स्थायी बासिन्दा हुन् । पूर्वमाओवादी न्यौपाने नेकपा विभाजनपछि एमालेमै रहेका थिए ।
२०७४ को निर्वाचिनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका न्यौपाने नेकपापछि एमालेमा लाग्दा माओवादीबाट कारबाहीमा परेपछि प्रदेशसभा सदस्य पद गुमेको थियो । २०७९ को प्रदेशसभा सदस्यमा भने रूपन्देही १ (२)बाट पराजित भएका थिए । एमालेको चितवनमा सम्पन्न दसौं महाधिवेशनबाट उनी पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सरकारका काममा राजनीतिक परामर्श, समन्वय र नीति निर्माणमा सहयोग गर्ने गरी न्यौपानेलाई बुधबार नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारका प्रवक्ता एंव मन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री गिरीले सचिवालय विस्तारसँगै सरकार विस्तारको पनि तयारी गरेको बताए । उनका अनुसार शुक्रबारसम्म सरकार विस्तार हुनेछ । सरकार विस्तारका लागि मुख्यमन्त्री गिरी आफैंले सरकारलाई समर्थन गरेका माओवादी र साना दलसँग संवाद गरिरहेका छन् । लुम्बिनी प्रदेशमा एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा र नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन गरेका छन् । ८७ सदस्यीय प्रदेशसभामा गिरीलाई ५७ जनाले विश्वासको मत दिएका थिए । तीमध्ये सत्ता गठबन्धनले राप्रपालाई उपसभामुख दिएको छ ।
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर १० मा झारेको छ । १० सदस्यीय मन्त्रिपरिषद्मा एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट ३, अन्य साना दलबाट ३ मन्त्री बनाउने तयारी छ । माओवादीले अर्थसहित ३ मन्त्रीमा दाबी गरे पनि एमाले भने २ जनामा सहमति गराउने प्रयासमा छ । एमालेमा पनि मन्त्रीका आकांक्षी धेरै भएकाले सरकार विस्तारमै अलमल भएको छ । एमालेका आचार्य मुख्यमन्त्रीसँगै मन्त्रीमा नियुक्त भए पनि अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । अब बढीमा २ मन्त्री पाउने एमालेमा रूपन्देहीका भूमीश्वर ढकाल, कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका डिल्लीराज भुसाल, दिनेश पन्थी र बाँकेका रत्न थापा मन्त्रीका मुख्य आकांक्षी छन् ।
मन्त्रीका आकांक्षीलाई प्रदेश सभाका विषयगत समितिको सभापतिमा मनाएर मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री गिरीको योजना छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री आचार्यले ढिलोमा शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘अब चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने, ‘त्यसका लागि मुख्यमन्त्रीले बुधबारदेखि नै माओवादी र अन्य साना दलसँग संवाद गरिरहनुभएको छ ।’ बुधबार नै मुख्यमन्त्री गिरी र माओवादी
संसदीय दलका नेता जोखबहादुर महरा र माओवादीका पोलिटब्युरो सदस्य कुलप्रसाद केसीबीच छलफल भएको छ । छलफल सकारात्मक भएको र शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको एक नेताले बताए ।