

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरुले श्रद्धापुर्वक दानपेटिकामा चढाउने भेटि लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ ।
कोषले मायांदेवी मन्दिर भित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट वर्षेनी झण्डै चार करोड रुपैयां भेटि वापतको आम्दानी गर्छ ।
सोहि आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापनको काम गर्दै आएको छ । तर, कतिपय मुलुकका पर्यटकहरुले दानपेटिकामा चढाएको झण्डै १ करोड १८ लाख नेपाली रकम बराबरका विदेशी मुद्रा भने सटही नएपछि बाकसमा थन्किएका छन् । विभिन्न मुलुकबाट आउने पर्यटकहरुले आफ्नै देशका मुद्रा दान पेटिकामा चढाउने गरेपछि त्यस्ता मुद्रा वर्षौंदेखि प्लाष्टिकमा पोको पारेर राखिएको छ ।
नेपाल राष्ट्र बैंकमा २० वटा मुलुकका मात्र मुद्रा सटही हुने भएकोले बांकि मुलुकका मुद्राहरु विकासकोषले यत्तिकै बाकसमा पोको पारेर राखेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले नेपाली १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयां बराबरका विदेशी मुद्रा सटही नभएपछि यत्तिकै राखिएको बताए ।
सटही नभई वर्षौदेखि प्लाष्टिकमा पोको पारेर राख्दा कतिपय मुद्राहरु फाट्ने र झुत्रा बन्दै गएका छन् । २०७२ साल पहिलेपनि नेपालमा सटही नहुने मुद्राहरु दानपेटिकामा संकलन हुने गरेपनि ति मुद्राहरुको बारेमा भने विकासकोषमा कुनै रेकर्ड राखिएको छैन ।
कोषाध्यक्ष भट्टराईले नेपाल राष्ट्रबैंकले यहां रहेका मुद्रा सटहीको लागि पहल गर्न सके लुम्बिनीको लागि महत्वपूर्ण श्रोत बन्न सक्ने बताए ।
दानपेटिकाबाट संकलित मुद्रामध्ये सबै भन्दा धेरै म्यानमारका ७३ लाख ४८ हजार १५८ नेपाली रुपैया बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट सटही नभई यत्तिकै थन्किएको छ । त्यस्तै ओमन, श्रीलंका, पेरु, भियतनाम, इण्डोनेसिया, कम्बोडिया, भुटान, मंगोलिया, बंगलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान लगायत ३९ देशका मुद्रा रहेका छन् ।
नेपाल राष्ट्र बैंकमा २० वटा देश बाहेकका मुद्राहरु सटही गर्ने व्यवस्था नभए पनि विकास कोषले भने हरेक पटक दान पेटिकामा संकलन भएका मुद्रा गणना गर्दै राख्ने गरेको छ ।