बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार

बुटवल — उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न के पुरस्कार दिने ? विद्यालयको शैक्षिक गुणस्तर सुधार्न कस्तो उपाय अपनाउने ? यसका अनेकौं विधि होलान् । रूपन्देहीको मायादेवी गाउँपालिकाको सुन्डी माविले भने उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिने गरेको छ । विद्यालयले ८ वर्षदेखि विद्यार्थीलाई उत्कृष्ट भएबापत भैंसी दिँदै आएको हो ।

प्रधानाध्यापक सतिशचन्द्रमणि त्रिपाठीले विपन्न विद्यार्थीलाई पढाइमा निरन्तरता दिन सहयोग होस् भनेर भैंसी पुरस्कार कार्यक्रम ल्याएको बताए । ‘विद्यालयमा लोध, हरिजनलगायतका अति विपन्न परिवारका विद्यार्थी छन् । कतिपय अभिभावकको जग्गा छैन । गरिखाने सीप छैन,’ उनले भने, ‘यस्ता अभिभावकले छोराछोरीलाई बीचमै पढाइ छुटाउँछन् । भैंसी पाएपछि त्यसको कमाइले परिवार चल्छ र छोराछोरीको पढाइ छुट्दैन ।’

भैंसी पुरस्कार पाउन कक्षामा उत्कृष्ट भएर मात्र पुग्दैन । लेखन सीप, पठनशैली र सिर्जनात्मक क्षमता बढाउनुपर्छ । सिर्जनात्मक विद्यार्थी छान्न हरेक वर्ष विद्यालयले फरक–फरक प्रतियोगिता गरेर पुरस्कृत गर्छ ।

यस वर्ष अघिल्लो बुधबार पुस्तक समीक्षा प्रतियोगिता भयो । विद्यालयको पुस्तकालयमा भएका करिब ९ हजार पुस्तकमध्ये विद्यार्थीलाई पुस्तक छान्न दिइयो । छानेको पुस्तक पढेर त्यसको समीक्षा गर्न लगाइयो । कक्षा १ देखि ३, ४ देखि ६, ७ देखि ८, कक्षा ९ र १० को छुट्टाछुट्टै समूह बनाएर समीक्षा गर्न लगाइएको थियो । पहिलो र दोस्रो हुने ८ विद्यार्थीले भैंसी उपहार पाए । ‘विद्यालयमा अभिभावकसहित भेला बोलाएर प्रत्येकलाई मुर्रा जातको ६० हजार रुपैयाँ पर्ने ब्याउने भैंसी दिइएको हो,’ प्रधानाध्यापक त्रिपाठीले भने, ‘छोराछोरी उत्कृष्ट भए बाआमा आएर भैंसी लान्छन्, अति खुसी हुन्छन् ।’

विद्यालयले भैंसी पुरस्कार दिने भएपछि अभिभावकमा पनि आफ्ना छोराछोरी उत्कृष्ट बनाउने प्रतिस्पर्धा चलेको छ । यस वर्ष एकै घरका दुई भाइबहिनी उत्कृष्ट भए । कक्षा ३ मा अध्ययनरत विद्या मल्लाह र किसन मल्लाह प्रथम र द्वितीय भए । ‘गरिब थियौं । छोराछोरीलाई कापी–कलम पनि कसरी जुटाउने र पढाउने भन्ने थियो,’ पुरस्कृत विद्यार्थीका बुबा राजकुमारले भने, ‘अब यिनै भैंसी पालेर पढाउँछु ।’ भैंसीको आम्दानीबाट छोराछोरीको डाक्टर बन्ने इच्छा पूरा गरिदिने उनले बताए ।

भैंसी पुरस्कार कार्यक्रमले मिहिनेती, परिश्रमी र सिर्जनशील बनाएको विद्यार्थीको अनुभव छ । त्यसमध्येका हुन्– कक्षा १० मा अध्ययनरत कवि भुज र रामलोचन हरिजन । अति गरिब परिवारका उनीहरू कक्षामा आलोपालो प्रथम र द्वितीय हुन्थे । नगद पुरस्कार जितिरहन्थे । तर, सिर्जनात्मक प्रतियोगिता जितेका थिएनन् । ‘यसपटक पुरस्कार जित्नकै लागि मिहिनेत गर्‍यौं,’ रामलोचनले भने, ‘पुस्तक समीक्षामा प्रथम र द्वितीय भएर भैंसी पुरस्कार पनि जित्यौं ।’ भैंसी पालेर उच्च शिक्षाका लागि खर्च जुटाउने उनले बताए ।

भैंसी पुरस्कार पाउन नसक्ने विद्यार्थीलाई पनि विद्यालयले निराश बनाउँदैन । उत्कृष्ट सातौंसम्म हुनेलाई ५ हजार रुपैयाँका दरले नगद पुरस्कार दिने गरेको छ ।

प्रतिस्पर्धा र पुरस्कारले विद्यार्थी टिक्छन् र शैक्षिक स्तर सुधार्छन् भन्ने विद्यालयको निष्कर्ष छ । विद्यालयमा साप्ताहिक, मासिक र त्रैमासिक रूपमा एकाइ मूल्यांकन हुन्छ र क्षमता विश्लेषण गरिन्छ । सहायक प्रधानाध्यापक तिलकराम शर्मा एकाइ मूल्यांकनपछि विद्यार्थीलाई कुन विधि अपनाएर सिकाउनुपर्छ भन्ने निचोड निकाल्ने बताउँछन् । ‘कमजोर विद्यार्थीलाई पहिलो बेन्चमा राख्छौं । कक्षाकार्य र गृहकार्य दुवैमा नजान्ने विद्यार्थीलाई ध्यान दिइन्छ,’ उनले भने, ‘शैक्षिक स्तर सुधार्न बेलाबेला अतिरिक्त कक्षा पनि चलाउँछौं ।’

प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धा गराएर पुरस्कार दिने गरिन्छ । यसले उनीहरूमा पढाइप्रति रुचि जाग्ने र प्रतिस्पर्धी बन्ने गरेको शिक्षिका विष्णुमाया घिमिरेले बताइन् ।

विद्यालयमा १ हजार ४ विद्यार्थी छन् । २०२० सालमा स्थापित विद्यालय ८ वर्षअघिसम्म अन्य सामुदायिक विद्यालयजस्तै भौतिक पूर्वाधारविहीन थियो । विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य थिए । लुम्बिनी नजिक रहेको विद्यालयलाई दक्षिण कोरियाका पर्वतारोही उम होङ गिल र उनका सहयोगीले परोपकारी काम थालेपछि विद्यालयको मुहार फेरिएको हो । भैंसी पुरस्कारको रकम उनीहरूले नै जुटाइदिएका हुन् । ५ करोडभन्दा बढीको लगानीमा २ तले आधुनिक विद्यालय भवन तयार गरिदिएका छन् । बेलाबेला आएर शिक्षण सिकाइका नयाँ अभ्यास सिकाउँछन् । कम्प्युटर र पुस्तकालय पनि उनीहरूले नै स्थापना गरिदिएका हुन् ।

विद्यालय सुधारिँदै गएपछि मायादेवीका मात्र होइन, कोटहीमाई र लुम्बिनी सांस्कृतिक नगरपालिकाका बालबालिकासमेत यस विद्यालयमा आएका छन् । यस वर्षदेखि कक्षा ११ सञ्चालन भएको छ । जसमा शिक्षा र व्यवस्थापन संकायको पढाइ हुन्छ । १४ शिक्षकमध्ये ७ जना मायादेवी गाउँपालिकाले राखिदिएको हो ।

यो समाचार कान्तिपुर दैनिकका लागि अमृता अनमोलले लेखेकी हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार