केही वर्षअघि बाँझो रहेको बगर अहिले हरियाली छ । एक युवाले शीतल चिनी खेती सुरु गरेसँगै शुद्धोधन गाउँपालिका-१ को बगरमा हरियाली छाएकाे हाे ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका-१ मा एकीकृत अर्ग्यानिक कृषि फार्म स्थापना गरेर झविन्द्रप्रसाद पौडेलले शीतल चिनीको खेती गर्दै आएका छन् । तीन बर्षअघिदेखि सञ्चालनमा आएको यो फार्मले खेती सुरु गरेकै वर्षदेखि आम्दानी गर्दै आएको छ । शीतल चिनी भनेर चिनिने (मोरिंगा) खेती यो प्रदेशकै ठूलो खेती हो ।
तीन बिघा क्षेत्रफलमा पौडेलले शीतल चिनीको खेती गर्दै आएका छन् । यो एक प्रकारको जडीबुटीयुक्त खेती हो । लगानी गरेकै वर्षबाट आम्दानी गर्न सकिने शीतल चिनीबाट तीन वर्षमै पूर्ण रुपमा उत्पादन लिन सकिने फार्म सञ्चालक पौडेलको भनाइ छ ।
ससानो बिरुवाका रुपमा बढ्ने यसका हाँगाहरु काटेर पात जम्मा गरिन्छ र प्रशोधनका लागि बिक्री गरिन्छ । यसको पातबाट बन्ने धुलोबाट धेरै प्रकारका औषधि बन्ने उनी बताउँछन् ।
किलो कै ५५० रुपैयाँ
शीतल चिनी बलौटे माटोमा धेरै सप्रिन्छ । प्रशोधनकर्ताले प्रतिकिलो ५ सय ५० का दरले खेतबाट नै उठाउने गरेका छन् ।
रुपन्देहीमा अहिले उत्पादन भइरहेको शीतल चिनी पीकेएमवान जातको हो । तीन बिघा क्षेत्रफलमा १० लाख रुपैयाँ लगानीबाट शीतल चिनीको खेती पौडेलले सुरु गरेका हुन् ।
सुरुमा यस क्षेत्रमा तल चिनी उत्पादन भए पनि प्रशोधन गरी बिक्री गर्न रुपन्देही बाहिर पठाउनुपर्ने बाध्यता भए पनि अहिले बुटवल १२ तामनगरमा सुधा सञ्जीवनी शीतल चिनी उद्योग स्थापना भएको छ ।
शीतल चिनी (माेरिंगा) के हो ?
माेरिंगा (मुनगा) नेपालको तराई तथा मध्य पहाडमा छिटो तयार हुने बिरुवा हो । मानव शरीरलाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्त्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट यो बिरुवाबाट बन्ने औषधिमा पाइन्छ ।
लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने यो बिरूवा बलौटे माटोमा पनि सप्रन्छ । यसलाई मानव खाद्य पदार्थ, औषधि, रंग, घाँस तथा पानी शुद्धीकरणमा प्रयोग गरिन्छ ।
यो विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमा ड्रम स्टिक भनिन्छ भने जराको गन्ध मूलाको जस्तो भएकोले होर्सर्याडिस पनि भनिन्छ ।
दक्षिणी भारतमा माेरिंगा, नेपालको तराईमा सोहजन, सहजन, मुन्गा र पहाडमा शीतल चिनी नामले चिनिन्छ । यसका विभिन्न प्रजातीमध्ये माेरिंगा ओलिफेरा बढी लाभदायक तथा चमत्कारी मानिन्छ ।
यस्ता छन् विशेषता
यसको पातमा गाँजरमा पाइने भिटामिन ए (बिटाकेरोटिन) भन्दा १० गुणा बढी, सुन्तलामा भन्दा सात गुणा भिटामिन सी, दूधमा भन्दा १० गुणा बढी क्याल्सियम, पालुंगाेमा भन्दा २६ गुणा बढी फलाम, गहुँमा भन्दा १५ गुणा बढी फाइबर, अण्डामा भन्दा ३ गुणा तथा गाईको दूधमा भन्दा २ गुणा बढी प्रोटिन, रायोमा भन्दा ३ गुणा बढी भिटामिन ई र केरामा भन्दा १५ गुणा बढी पोटासियम पाइन्छ ।