पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण बुटवलमा बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते उफ् गर्मी ! रुपन्देहीको गुरौलीबाट अनुमति बिनै नदीजन्य पदार्थ उत्खनन् ३० लाखको लगानीमा तिलोत्तमामा क्रिकेट खेलाडीको सम्मानमा बन्यो आइटी पार्क (तस्वीरहरु) दाङबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन भजन प्रतियोगिताको उपाधी बडा नम्बर ५ लाई साउनदेखि बायोमेट्रिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै तिलोत्तमा                
समाचार :

५ हजार बाट सुरु गरिएको तरकारी खेतीलाई गुल्मीकी चेली धनुले बनाइन् ३० लाखको

ठूलो क्षेत्रफलमा लगाइएको तरकारीबारीको अघिल्तिर सडक छेउमा एउटा सानो घर छ। आँगनमा क्याप्सिकम भरिएका क्रेटको आडमा बसिरहेकी थिइन् एक युवती।

३० वर्षीया उनको नाम धनु अधिकारी हो। उनैले फलाएका ती क्याप्सिकम बजार जान ठिक्क परेका छन्। नजिकै रहेको एउटा प्लटमा होचा बोटहरूमा क्याप्सिकम फलेका थिए। जोडिएको अर्को बारीमा लटरम्म गोलभेँडा फलेका थिए। कतै भर्खरै रोपिएका बिरूवा, कतै फूल फूल्न थालेका तरकारीका बोट देखिन्थे।

भरतपुर महानगरपालिका–१६ विजयनगरमा धनुले ८ बिघा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएकी छन्। गुल्मी घर भएकी उनले २०७६ सालको भदौबाट चितवनमा तरकारी खेती सुरू गरेकी हुन्।

‘भदौमा तीन बिघा जमिन भाडामा लिएर गोलभेँडा र सिमी लगाएँ, राम्रो फल्यो। बिक्री गरेर राम्रो आम्दानी पनि भयो,’ उनले भनिन्, ‘तरकारी खेतीले सुरूआतमा उत्साहित बनाएको थियो। तर केही समयमै कोरोना महामारी फैलिएर समस्या आउन थालिहाल्यो।’

कोरोना र लकडाउनसँग जुद्धै भए उनी तरकारी खेतीमा निरन्तर लागिरहिन्।

तीन बिघाबाट सुरू गरेको खेती बढाएर उनले आठ बिघा पुर्‍याएकी छन्। त्यहाँ गोलभेँडा, क्याप्सिकम, करेला, भन्टा, घिरौंला, चिचिन्डा, लौका, फर्सी, काँक्रो, सिमी, बोडी लगायतका विभिन्न तरकारी फलाएर बिक्री गर्दै आएकी छन्।

‘ऊ त्यो १५ कट्ठा बारीमा पोहोर काँक्रो लगाएकी थिएँ। दुई लाख रूपैयाँ खर्च भयो। जब काँक्रा बिक्रीका लागि तयार भयो, किलोको २ रूपैयाँ पनि भाउ आएन,’ उनले सुनाइन्, ‘धेरै काँक्रा बारीमै कुहियो। लगानी डुब्दा त डिप्रेसन नै होला जस्तो भयो।’

उनी बिस्तारै सम्हालिइन्। यस वर्ष कात्तिकमा ६ कट्ठा जमिनमा मात्रै काँक्रो लगाइन्। एक लाख ४० हजार रूपैयाँ खर्च भयो। त्यो काँक्रोले ६ लाख रूपैयाँभन्दा बढी आम्दानी दियो।

‘किलोको ६० रूपैयाँमा बारीबाटै बिक्री भयो। ५ लाख हाराहारी त नाफा नै भयो,’ उनले खुसी हुँदै सुनाइन्, ‘यसबाट मैले समस्या पर्दा आत्तिन हुँदैन भन्ने पाठ सिकेँ।’

बजारमा आइरहने उतारचढावका कारण सधैं उस्तै आम्दानी हुँदैन भन्ने उनले बुझेकी छन्। त्यसैले बिचलित नभई निरन्तर लागिरहने हो भने प्रगति गर्न सकिने रहेछ भन्ने लाग्न थालेको छ।

धनु गाउँबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा पढ्न काठमाडौं पुगेकी थिइन्। पत्रकारिता विषयमा प्लस-टु र स्नातक तह सकिन्। केही समय पत्रकारिता पनि गरिन्। यो पेसाले धेरै समय तान्न सकेन।

‘मलाई सधैं अरूले भन्दा नयाँ केही गरौं जस्तो मात्रै लागिरहन्थ्यो। के गर्ने भन्ने ठ्याक्कै निर्णय गर्न भने सकेकी थिइनँ,’ उनले भनिन्, ‘काठमाडौंबाट चितवन आउँदा यहाँ म जत्तिको उमेरको युवती व्यावसायिक कृषिमा लागेको देखिनँ। यसैमा प्रयास गरौं कि भन्ने लाग्यो।’

कृषि पेसामा होमिने निर्णय गर्दा उनीसँग पाँच हजार रूपैयाँ मात्रै थियो। लगानी मात्र होइन, उनको निर्णयप्रति परिवार पनि सहमत थिएन।

‘यो उमेरको केटी कृषिमा लाग्नु हुँदैन भन्ने मेरो परिवारको धारणा थियो। मैले त निर्णय गरिसकेकी थिएँ। केही पैसा सापटी लिएर जग्गा भाडामा लिएर काम सुरू गरिहालेँ,’ उनले सुनाइन्।

केही नयाँ गरौं भन्ने हुटहुटी र आँटले कृषिमा हामफाले पनि सुरुआती दिनमा उनले धेरै दुःख पाइन्। बल्ल–बल्ल जुटाएको पैसाले औषधि, मल, बीउ किन्न पनि नपाउँदा मनै खिन्न भएको उनी सम्झन्छिन्। एकातिर ज्याला तिर्न नसकेर खेताला रिसाउँथे, समयमै पैसा तिरेन भनेर औषधि पसले रिसाउँथे। अर्कातिर पैसा तिर्छु भन्दा पनि मल, बीउ नपाउने समस्या उनलाई थियो।

यी सबैसँग जुद्धै उनले २०७६ मंसिरतिर पहिलो उत्पादन बिक्री गरिन्। आएको आम्दानीले उनलाई हौस्यायो। त्यसपछिका केही दिनमा कोरोनाले समस्या पारे पनि उनको रफ्तार रोकिएको छैन।

भन्छिन्, ‘साथमा पाँच हजार मात्र हुँदा सुरू गरेको व्यवसाय बढाएर ३० लाख रूपैयाँ लगानीको बनाएकी छु। बिस्तारै परिवारले पनि साथ दिन थालेको छ।’

नयाँ केही गरौं भन्ने आफ्नो चाहनाले मूर्त रूप लेला भन्ने आशा जागेको छ उनी बताउँछिन्।

अहिले लगानी थप्नुपर्दा सहयोग गर्नेको पनि कमी छैन। उनको काममा दैनिक कम्तीमा दस जना खेताला खट्छन्, उनी आफैं पनि खट्छिन्।

युवाले कृषि कर्म गर्न खोज्दा आफ्नै परिवार र समाजलाई बुझाउन सबभन्दा गाह्रो पर्ने गरेको अनुभव धनुको छ।

उनका अनुसार परिवार र समाजले कृषिबाट केही हुँदैन भन्ने ठान्छ। योभन्दा अरू क्षेत्रलाई सुरक्षित ठान्छ।

‘उहाँहरू हाम्रो काम, मेहनत, परिश्रम, पसिनालाई सम्मान गर्नुहुन्छ तर सरकारको नीति देखेर दिक्क हुनुभएको छ। बाली बीमा, औषधि, मल, बीउ केही नहुने, काम गर्छु भन्दा जमिन नपाउने, यस्तो भयंकर गाह्रो पेसामा आफ्ना मान्छे नलागून् भन्ने हुँदो रहेछ।’

रेसुंगा कृषि फर्म सञ्चालन गरेको तीन वर्षपछि बल्ल उनले दर्ताको प्रक्रिया सुरू गरेकी छन्। तर उनलाई सरकारी निकायबाट अनुदान लिनु छैन।

भन्छिन्, ‘अहिलेसम्म सरकारलाई कर बुझाउन सकिनँ। अब दर्ता गरेर सरकारलाई पनि बुझाउन सक्ने अवस्थामा पुगेकी छु। समाज र देशका लागि केही गरौं भनेर लागेका युवा किसानलाई अनुदान दिएर मात्र होइन खेती र बजारको वातावरण बनाएर प्रोत्साहन गरियोस् भन्ने चाहन्छु।’

उत्पादनका लागि आवश्यक जमिन, मल, बीउ, औषधि, कृषि बीमा उपलब्ध गराउने, किसानको उत्पादनको उचित मूल्य पाउने व्यवस्था गरिदिने हो भने युवाहरू उत्साहित भएर कृषि पेसामा लाग्न सक्ने उनी बताउँछिन्।

‘म त अब यो पेसामा रमाउन थालिसकेँ। कसैले फ्री भिसा, फ्री टिकटमा, सित्तैमा अमेरिका नै लैजान्छु भने पनि म खुसी हुन सक्दिनँ अब। मलाई कृषि कर्मले नै धेरै खुसी दिइरहेको छ,’ उनले भनिन्।
सेतोपाटी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार