

लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालयको अब दैनिक कार्यसम्पादनका काम स्थायी राजधानीबाटै सुरु गर्ने भएको छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट सबै काम सुरु गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अहिले प्रदेशसभा सचिवालयले दैनिक कार्य मुकाम बुटवलबाट गर्दै आएको छ । ‘प्रदेश सरकारले आफ्नो काम दाङबाट सुरु गरिसकेको छ, प्रदेशसभाको काम पनि उहीबाट गर्नुपर्छ भनेर हामीले तयारी थालेका छौं’, प्रदेशसभा सचिव दुर्भकुमार पुनले भने ।
पुनका अनुसार प्रदेशसभाका सबै कामकाज भोलि (पुस ११) देखि स्थायी राजधानीबाट हुनेछ । ‘अहिले सामान सार्ने काम भइरहेको छ, भोलिदेखि दाङबाट काम गर्छौं’, उनले भने ।
दाङ देउखुरीमा ५ करोड २० लाखमा प्रदेशसभा भवन निर्माण सकिएको छ । भवनमा केही सामान्य काम मात्रै बाँकी छ । अबको प्रदेशसभा बैठक र नव निर्वाचित प्रदेशसभा सदस्यको सपथ स्थायी राजधानीमा बनेको नयाँ भवनमा गराउने तयारी छ ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै अब कामकाज स्थायी राजधानीबाट गर्ने जनाएको छ । पुनका अनुसार प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । ‘कर्मचारी आइसक्नुभएको छ, भोलिदेखि नियमित काम यहीबाट हुनेछ’, उनले भने ।