

लुम्बिनी प्रदेशसभामा यसपटक युवाको उपस्थिति राम्रै हुने देखिएको छ। प्रत्यक्ष र समानुपातिक गरी प्रदेशसभामा ८७ सांसद रहने छन्।
जसमध्ये २६ जना ४० वर्षभित्रकै छन्। निर्वाचन आयोगमा रहेको उम्मेदवारको विवरणअनुसार प्रत्यक्षतर्फ १० र समानुपातिक १६ जना प्रदेशसभा सदस्य ४० वर्ष वा यसभन्दा मुनि उमेरका छन्।
सबैभन्दा कम उमेर नेपाली कांग्रेसका सांसद अनुराग खड्का र जनता समाजवादी पार्टीकी सांसद अम्बिका काफ्ले हुनेछन्। उम्मेदवारी दर्ता गर्दा उनीहरू दुवैको उमेर २८ वर्ष रहेको निर्वाचन आयोगको अभिलेखमा उल्लेख छ।
स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग दाङ क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्यमा चुनिएका हुन्। अम्बिका समानुपातिकअन्तर्गत जनता समाजवादी पार्टीको महिला खस-आर्य समूहबाट प्रदेशसभा सदस्य भएकी हुन्।
कांग्रेसबाट प्रत्यक्षतर्फ रुपन्देही ४ ख का बसिउद्दन खाँ (३९), प्युठान ख का सरोज थापा (४०), समानुपातिकतर्फ धनलक्ष्मी श्रेष्ठ (४०), निमा गिरी (३५), सञ्जुकुमारी चौधरी (३२), लोकीकुमारी विक (३८), र सुशीला बादी (४०) उक्त उमेर समूहमा रहेका सांसद हुन्।
नेकपा एमालेबाट प्रत्यक्षतर्फका बाँके ३ क बाट निर्वाचित रत्नबहादुर खत्री (४०), समानुपातिकबाट सरिता पुन (३७), यमुना रोका (३९), सीता शर्मा चौधरी (३४), भगवतीकुमारी थरुनी (३५), सायरा बानु (३४) चालीस वर्षभित्रका सांसद हुन्।
माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच जना यो उमेर समूहमा छैनन्। समानुपातिकमा दिलकुमारी बुढा (३९), कृष्णा थारु (४०) छन्।
नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फका बर्दिया १ ख का राजकुमार चौधरी (३१) बर्दिया २ ख बाट सांसद भएका धर्मबहादुर चौधरी (३६), समानुपातिकतर्फ नोरीकुमारी चौधरी (३२) हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपन्देही ४ क मा निर्वाचित कन्हैया बनिया (३३), समानुपातिकतर्फ हेमा बेलबासे केसी (३७), राष्ट्रिय जनमोर्चाबाट समानुपातिकतर्फ तारा थापा (३७) यो उमेर समूहमा परेका छन्।
प्रत्यक्षतर्फ राप्रपाबाट विजयी रुपन्देही १ क का आशिष चौधरी (३४), जनमत पार्टीका रुपन्देही ५ ख बाट निर्वाचित चन्द्रकेश गुप्ता (३०) र स्वतन्त्र उम्मेदवार भएर जितेका नवलपरासी पश्चिम २ क का खड्ग बस्नेत (३६) युवा प्रदेशसभा सदस्य हुन्।