

बुटवल । रुपन्देहीको मुख्य शहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन गरिने भएको छ ।
मंगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ ।
समितिले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका तार व्यवस्थापन गर्ने, अव्यवस्थित र अनावश्यक तार हटाउने काम गर्ने कार्यदलका संयोजक विद्युत प्राधिकरण बुटवल केन्द्रका प्रमुख सुरेश कुमार महतोले बताए ।
सडकमा अव्यवस्थित रहेका तारहरुले शहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएकोले तार हटाएर शहरलाई सफा र सुन्दर बनाउने कामलाई अघि बढाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले शहर क्षेत्रभित्रका अव्यवस्थित तारका कारण कैयौं दुर्घटना भएको, जनधनको क्षति भएको, शहर अव्यवस्थित र कुरुप देखिएकाले मंसिरभित्रमा सबै तार व्यवस्थित गरिने बताए ।
‘जुन जुन सेवा प्रदायक संस्थाका तार अव्यवस्थित छन्, त्यो व्यवस्थापन गर्ने, अनावश्यक तारहरु हटाउने र तारहरुमा कम्पनीको ट्याग लगाउने काम छिटै अघि बढ्छ’ उनले भने ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केबुल टिभी, इन्टरनेट सेवा प्रदायक संघ लगायतका निकायको उपस्थिति थियो ।