बुटवलमा प्रदर्शनी तयारीको काम तिब्र

बुटवल ।
रुपन्देही उद्योग संघ बुटवल नेपाल उद्योग परिसंघ, काठमाडौं तथा लुम्विनी प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा बुटवलमा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ आगामी पौष ७ गतेदेखि १९ गतेसम्म आयोजना हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव २०७९ को तयारीको काम अगाडी बढेको छ ।
प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिएपछि कामले तिब्रता लिएको संघले जनाएको छ । तयारीका क्रममा भौतिक निर्माण तथा प्रदर्शनीमा सहभागी हुने उद्योग प्रतिष्ठानहरुको दर्ता प्रक्रियाका लागि आवश्यक कामहरु अगाडी बढेको प्रदर्शनी सदस्य सचिव हरि बहादुर खत्रीले बताए ।
यसैक्रममा निर्देशन तथा कार्यान्वयन समिति बैठकले स्टल दर्ता उपसमिति विस्तार गरिएको छ । प्रदर्शनी मुल समितिका सहसंयोजक दिलिप सापकोटाको संयोजकत्वमा विस्तार गरिएको उपसमितिको सहसंयोजकमा महेश थैव रहेका छन् ।
यसैगरि सदस्यहरुमा उपेन्द्र अग्रवाल, यमलाल भटट्राई, देवानन्द पाण्डे, किरण खरेल, अखिलेस गुप्ता, मुरारी भण्डरी र विश्वमणी भुसाल रहनु भएकोछ । गठित समितिले प्रदर्शनीमा भागलिन आउने उद्योग, प्रतिष्ठान तथा प्रविधिहरुको छनौट गरि त्यसको व्यवस्थापन गर्ने, स्वदेशी उत्पादनहरुको सहभागिता बढाउने तथा स्टललाई आर्कषक बनाउने योजना बनाएको रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपसमितिका संयोजक सापकोटाले बताए ।
नया व्यवस्थापनका साथ आयोजना हुन लागेको प्रदर्शनीमा समावेश गरिने उद्योग प्रतिष्ठानका उत्पादनहरु पनि उत्कृष्ट हुने उनको भनाई छ ।
स्वदेशी उद्योगको संरक्षण गर्नु पर्ने सन्देश आम रुपमा फैलाउनु पर्ने दायित्वसंगै उद्योगीले आफ्ना उत्पादनको उचित मूल्य र गुणस्तरीय उत्पादन उपभोक्तामाझ पु¥याउन एक साझा थलोका रुपमा विकास गरिएको प्रदर्शनीमा कुनै प्रकारको कमी आउन नदिने लक्ष्य राखिएको मूल समितिका संयोजक माधव प्रसाद पौडेलले बताए । त्यसैको तयारीका लागि संघका पदाधिकारी, पूर्व अध्यक्षहरु, सल्लाहाकारहरु, सदस्यहरु तथा उद्योगहरु निस्वार्थ भावले लागी परेको उनको भनाई छ ।
तयारीकै क्रममा संघको एक प्रतिनिधि मण्डल मंगलवारबाट पूर्वका औद्योगीक नगर तथा उद्योग प्रतिष्ठानहरुको भ्रमणमा जाने भएको छ । प्रदर्शनीमा सहभागिता जनाउन अनुरोध गर्दै विभिन्न उद्योग प्रतिष्ठानहरुमा पुग्ने योजनासहित भ्रमण टोली जान लागेको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए । त्यसक्रममा सो प्रतिनिधि मण्डलले चितवन, हेटौडा, विरगंज, पोखरा लगायतका औद्योगीक क्षेत्रहरुमा रहेका उद्योग प्रतिष्ठानहरुको भ्रमण गरि प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा आमन्त्रण गर्ने जनाइएको छ ।
यस पटकको आयोजनामा नयाँ उत्पादन र प्रविधी प्रदर्शनीलाई विशेष प्राथमिकता प्रदान गरिने भएको छ । प्रदर्शनीमा करिब ४०० स्टल रहने छन् । प्रदर्शनीमा सहभागि हुन आउने उद्योगहरुलाई उत्पादनका प्रकृति हेरेर छुट्टाछुट्टै पेभेलियनको व्यवस्था गर्ने योजना सहित काम अगाडि बढाइएको छ ।
राष्ट्रिय औद्योगिक प्रदर्शनीमा देशभरका उद्योगीहरुको सहभागिता गराउने लक्ष्य राखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार