बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

उद्योग हाँक्दै महिला, यसरी बने बुटवलमा सफल

बुटवल शिवनगरकी वसन्ती खत्रीले अचार उद्योग चलाउन थालेकाे ठ्याक्कै २४ वर्ष भयो । २०५३ सालमा ५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कुनै बेला पातमा पोको पारेर अचार बेच्ने वसन्तीले उत्पादन गरेकाे अचारकाे स्वाद आज विदेशमा बस्ने नेपालीसम्म पुग्ने गरेकाे छ । ७१ वर्षीया वसन्ती वर्षमा ६० लाख रुपैयाँकाे कारोबार हुने गरेकाे बताउँछिन् । यसमा उनले १५ देखि २० लाख बचत गर्छिन् । उनकाे हिसाबमा महिनाकाे डेढ लाख रुपैयाँ कहीँ जाँदैन ।

उनले आँप, अकबरे खुर्सानी, लसुन, लप्सी, सिन्की, मूला, कागती, करेला, मेथीलगायतबाट २४ प्रकारको अचार बनाउने गरेकी छन् । खासगरी कोसेलीमा बढी प्रयाेग हुने अचारले धेरैलाई लोभ्याउने गरेकाे छ ।

कुनै पनि रसायन प्रयोग नगरिकन घरेलु माध्यमबाट तयार गरिने अचार देश तथा विदेशमा कोसेलीको रूपमा बढी माग हुने गरेकाे उनी बताउँछिन् ।

जिल्लामा सफल महिला उद्यमीको परिचय बनाएकी वसन्तीले विभिन्न पुरस्कारहरू पनि पाइसकेकी छन् । पश्चिम नेपालका विभिन्न शहरमा आयोजना हुने साना ठूला सबै कृषि, उद्योग तथा व्यापार मेला अनि महोत्सवमा उनको अचार अनिवार्यजस्तै बनेको छ ।

बुटवल –१३, बेलबासकी जमुना सुवेदी गार्मेन्ट उद्योग चलाउँछिन् । ४ वर्षदेखि सौर्य गार्मेन्ट सञ्चालन गरेकी जमुनाले ११ जनालाई रोजगार दिएकी छन् । सानो लगानीबाट उद्योग सञ्चालन गर्न सकिने र परिवारलाई पनि साथ दिन सकिने भएकाले उद्योग सञ्चालन गरेको जमुना बताउँछिन् ।

१२ लाख लगानीबाट सुरु भएको उद्योगमा अहिलेसम्म ७० लाख रुपैयाँ लगानी भइसकेको उनले बताइन् । कोरोना महामारीका समयमा प्रदेश सरकारलाई पीपीईसमेत उपलब्ध गराएकी जमुनाले जाडोयाममा स्वेटर, कुर्तालगायत उत्पादन गर्छिन् भने गर्मीयाममा टिसर्ट, सर्ट उत्पादन गर्दै आएकी छन् ।

उनले गार्मेन्टमा उत्पादित समान बुटवल, भैरहवा, कपिलवस्तु, चितवनका मुख्य बजारमा बेच्छिन् । जमुना कच्चा पदार्थ सहज भएमा उद्यममा लागेकाहरू सधैँ फाइदामा जाने बताउँछिन् । तर, कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने र दक्ष कामदारसमेत नपाएको गुनासो उद्यमीहरूले गर्ने गरेका छन् ।

बुटवल उपमहानगरपालिकाद्वारा गठित उपप्रमुख महिला उद्यमशीलता विकास समितिको सञ्चालक सदस्यसमेत रहेकी जमुना उद्यममा आउनुअघि निजीक्षेत्रमा काम गर्थिन् । बीबीएस उत्तीर्ण उनी अहिले गार्मेन्टमा आफैँ कटिङको काम गर्छिन् ।युट्युब हेरेर गार्मेन्टसम्बन्धी धेरै कुरा सिकेकाे उनी बताउँछिन् ।

वसन्ती र जमुनाजस्तै रुपन्देहीमा उद्योग व्यवसायमा लागेका महिलाकाे संख्या बढ्दाे छ । रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम बोहोरा पछिल्लो समय महिलाहरू उद्योगमा जाेडिन थालेकाे बताउँछन् । पुरुषभन्दा अब्बल ढंगले महिलाले उद्याेगहरू चलाएकाे उदाहरण रुपन्देहीमा रहेकाे उनकाे भनाइ छ ।

उनका अनुसार जिल्लामा कतिपय महिलाले ठूला उद्योगका साथै घरेलु उद्योगसमेत चलाउँदै आएका छन् । सबैभन्दा बढी बुटिक, होजेयारी, अचार बनाउने, हस्तकला, पार्लर, तयारी पोशाक, होटल, रेस्टुरेन्टलगायत उद्मम व्यवसायमा महिलाकाे उत्साहजनक सहभागिता देखिएकाे उनकाे भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ६ हजार ६ सय ६७ उत्पादनमूलक, ४ हजार २ सय २६ सेवामूलक, २ हजार ३ सय १४ पर्यटन, १ हजार ८ सय ४ कृषि तथा वनजन्य र सूचना तथा सञ्चार उद्योग एउटा सञ्चालनमा छन् ।कार्यालय प्रमुख लक्ष्मण लम्सालका अनुसार यी उद्योगमा झण्डै ३० अर्बभन्दा बढी लगानी छ ।

पछिल्लो डेढ वर्षमा मात्रै १ हजार ९ सय ४८ नयाँ उद्योग खुलेका छन् । जिल्लामा सञ्चालित घरेलु तथा साना उद्योगहरूमा मात्रै ३२ हजारले ३ सय १० जनाले रोजगारी पाएका सरकारी आँकडाले देखाउँछ । यीमध्ये २४ हजार ९ सय १९ पुरुष छन् भने ७ हजार ३ सय ९१ महिला छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार