


रूपन्देहीस्थित तिलोत्तमा- ३, शंकरनगरकी प्रतिमा पन्त चुरा, पोते, जुत्ता, चप्पल बिक्री गर्छिन् । २७ वर्षको उमेरमा श्रीमान् गुमाउँदाको पीडा भोगेकी प्रतिमाको काँधमा परिवारको जिम्मेवारी, छोराछोरीको शिक्षा, घर व्यवहारको जिम्मेवारी छ ।
यी जिम्मेवारी वहन गरिरहेकी प्रतिमाले आफ्नो व्यवसायलाई पनि अगाडि बढाइरहेकी छन् ।
प्रतिमाका श्रीमान् गंगाराम पन्त मालवाहक ट्रक चलाउँथे । २ असोज २०६७ मा गंगाराम बुटवलबाट स्याङ्जा जाँदै थिए । गंगारामले चलाएको ट्रक पाल्पाको आर्यभन्ज्याङमा दुर्घटनामा पर्यो । गंगारामको मृत्यु भयो ।
श्रीमान्को मृत्यु हुँदा प्रतिमाको छोरो ४ वर्षको थियो छोरी ८ वर्षकी थिइन् । जानकीनगरमा एकतले घर थियो ।
उनलाई श्रीमान् गुमाउँदाको पीडा त थियो नै, सँगसँगै आगामी दिनको चिन्ता पनि थियो । ‘जिम्मेवारी बढेको थियो । के गर्ने ? छोराछोरी कसरी पाल्ने ?,’ प्रतिमा पुराना दिन सम्झन्छिन् ।
‘श्रीमान् गुमाएपछि सुरुमा आत्तिएँ.’ व्यवसाय सुरु गर्दाका दिन सम्झँदै उनी भन्छिन्, ‘सम्पत्तिका नाममा सानो घर र केही जग्गा थियो । तर, लगानीका लागि केही गरौँ भने पैसा थिएन । त्यसैले सुरुका केही वर्ष भैँसी पाल्ने र तरकारी तथा मकै लगाएर बिक्री गर्ने सोच बनाएँ ।’
मकै रोपेर र भैँसी पालेर जीविका चलाउँदै आएकी प्रतिमाले पाँच वर्षअघि शंकरनगरस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाबाट ५ दिने बुटिक तालिम लिइन् । तालिमपछि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको उनी सुनाउँछिन् ।
त्यसपछि तिलोत्तमा नगरपालिकाबाट बुटिकसम्बन्धी, चुरा, जुत्ता, चप्पल, पोते बनाउने तालिम लिइन् । ‘सहकारीले बाटो देखाइदियो । मेहनत आफूले गरेँ,’ प्रतिमा भन्छिन्, ‘तालिम लिएपछिको हौसलालाई व्यावसायिक रूपमा लैजाने गरी अघि बढेँ ।’
त्यसपछि उनले घरैमा चुरा, पोते, चप्पल बनाउन मिहिनेत गरिन् । उनलाई सीता मल्लले साथ दिइन् । दुवैले पैसा उठाएर सामान किने । सामान प्रतिमाकै कोठामा राखे । ‘निरन्तरको प्रयासपछि बिक्री गर्न मिल्ने सामान तयार भयो जस्तो लागेपछि बजारमा लैजान थालियो,’ उनले भनिन्, ‘घर-घरमा पनि डुलाइयो ।’
चुरा, पोते, जुत्ता, चप्पल बनाउन सक्ने भएपछि प्रतिमालाई तालिम दिन अन्य जिल्लाबाट बोलाउन थालियो । सीप सिकेको १ वर्षपछि नै उनले तालिम दिन थालिन् ।
उनी अहिले पनि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, बाँके, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा गएर तालिम दिन्छिन् । ‘तालिम नहुँदा घरमा बसेर सामान बनाउँछु । हाटबजारमा लगेर बिक्री गर्छु । तालिम हुँदा त्यसैमा व्यस्त भइन्छ,’ उनले भनिन् ।
‘काँधमा ठूलो जिम्मेवारी थियो । छोराछोरी पढाउनु, हुर्काउनु थियो । सुरुमा कहिले सहकारीको साधारणसभा, कहिले वनको साधारणसभा, कहिले साना किसान सहकारीको साधारणसभामा लगेर बिक्री गर्थेँ,’ प्रतिमा भन्छिन्, ‘तर, अहिले धेरै सहज भएको छ ।’