
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लोप हुन लागेको आरन पेशाको संरक्षणका लागि औजार तथा सामग्री वितरण गर्ने भएको छ ।
गाउंघरमा परम्परागत रुपमा चलिरहेका आरन पेशा लोप हुने अवस्थामा पुगेको भन्दै नगरपालिकाले औजार वितरण गर्न लागेको जनाएको छ । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले लामो समयदेखि आरन पेशा गर्दै आएका व्यवसायीहरुलाई औजार तथा सामाग्री दिन लागिएको बताए ।
नगर प्रमुख खांणले तिलोत्तमाले सबै पेशा र व्यवसायलाई समान रुपमा हेर्ने गरेको र नगरपालिकाले सहयोग गर्न सक्ने सबै कुरामा आवश्यक समन्वय गरी अभिभावकीय भूमिका निर्वाह गर्ने बताए ।
नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चँैधरीले आरन व्यवसायीहरुलाई आवश्यक पर्ने सामाग्री प्रदान गर्नका लागि ३ लाख बजेट विनियोजन गरिएको र यो वर्ष पनिआवश्यक बजेटको विनियोजन गरिएको बताईन ।
गतवर्ष विविध कारण कार्यान्वयन हुन नसकेको बजेट यसवर्ष भने कार्यान्वयनमा लैजाने उनले बताईन ।
नगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत विनोद ज्ञवालीले आरन व्यवसायीलाई आवश्यक पर्ने औजार तथा साम्रागीहरुको विवरण संकलन भइरहेको र अहिलेसम्म ६ जना व्यवसायीले औजार तथा सामाग्री आवश्यक रहेको भनि नगरपालिकामा जानकारी गराएको बताए ।
तिलोत्तमा नगरपालिकामा वडा नं. ६ का लिलाबल्लौ विक, तिलोत्तमा १३ की अमृता विके, तिलोत्तमा १७ का प्रेमबहादुर विश्वकर्मा, तिलोत्तमा १७ कै टेकबहादुर कामी, तिलोत्तमा १६ का भागबहादुर विश्वकर्माले हाते ग्रेन्डर, ग्रील मेशिन कटर र गेलेन्डर, ड्रिल मेसिन, पंखा रन्दा लगायतका सामानको माग गरेको ज्ञवालीले बताए ।