
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सर्वसाधारणले निशुल्क दान गरेको रगतको मुल्य लिनु गलत काम भएको बताएका छन् । सामुदायिक अस्पतालमा अझै पनि शुल्क लिने काम हुनु लज्जास्पद भएको भन्दै उनले निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास भएको प्रणाली गलत भएको बताए ।
शेरचनले रक्तदानप्रति जनचेतनालाई बढाउने गरि कार्यक्रमहरु चलाउन जरुरी रहेको बताए
। रक्तदान–मानव जीवनमा अतुलनीय, अनुकरणिय काम नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले आफु जिम्मेवार पदमा हुंदासमेत निशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेको दुखेसो गरे ।
कार्यक्रमको प्रदेश प्रमुख अमिक शेरचनले ७८ औं पटक रक्तदान गरेका रक्तदाता कृष्ण चौहानलाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे का थिए । यसैबिच हाम्रो रगत नामक पुस्तक बिमोचन, हाम्रो रगत गित सार्वजनिक गरिएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व÷कर्तव्य हो भने निशुल्क रगत पाउनु नैसर्गिक अधिकार हो भन्ने मुल नारालाई सफल बनाउने गरि देशभर अभियान सफल हुदै गएको बताए । शतक रक्तदाताको परिचय बनाएका अध्यक्ष कर्माचार्यले १ सय ७३ पटक रक्तदान गरेका छन् । सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैक खोल्न पाउने भनिएपनि त्यो कार्यान्वन हुन नसकेको उनले दुखेसो गरे ।
कार्यक्रममा बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेल, ले रगत दिने काम पुरानो भएको भन्दै नयां प्रविधि भित्राउनुपर्ने बताए । प्लेटलेस मात्र बितरण गर्न सके एउटा रक्तदातालाई न्याय हुने र उसले ३ हप्तामा पुनः वितरण गर्न सकिने उनले बताए । समयअनुसार नया मेशिनहरु भित्राउन जरुरी रहेको उनले बताए । समयसापेक्ष प्रविधिको प्रयोग गरि रगत वितरणलाई स्मार्ट रुपमा लैजान जरुरी रहेको उनले सुझाव दिए ।
समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निशुल्क रगतको अभियान गाउंगाउंमा पु¥याउन सकिने सम्भावना रहेको बताए । सरकार यस बिषयमा चासो नदिदा बिरामीहरु पीडित हुनुपरेका दुखेसो गरे । नेपाल रेडक्रस सोसाइटीलाई एकलौटी रुपमा ब्लड बैंकको जिम्मा दिनु गलत भएको भन्दै स्थानिय स्वस्थ्य पालिकाहरुमा ब्लड बंैक खोल्न सकिने दाबी गरे । स्वयंसेवी रक्तदाताहरुको योगदानप्रति सरकारको चासो नदिनु दुखदायी भएको भन्दै जनप्रतिनिधिहरु थोरै भएपनि रगत अभियानमा लाग्न सुझाव दिए । अबको सरकारले रगत निशुल्क नगरे बजेट पछि आफू अनसन बस्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढेको ब्यापारिकरणको प्रवृत्ति रोक्न सरकारको पहल जरुरी रहेको बताए । सरकारी सेवाका फाईदा हुनेखानेले लिने र आर्थिक समस्यामा रहेकाहरु भने यसबाट बन्चित हुनुपर्ने समस्या देखिएको उनले दुखेसो गरे ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक थापा (क्षेत्री) ले ३१ हजार पिन्ट यो वर्ष रगत वितरण गरेको दाबी गरे । देशभर नै रुपन्देहीबाट रगत वितरण गर्ने काम भएको र निशुल्क रगतको अभियान थालेको बताए । रुपन्देही जिल्लाका १४ पालिकाहरुमा सम्झौता भएर निशुल्क रगत दिने काम शुरु गरेको बताए । परिचयपत्रको आधारमा निशुल्क रगत दिने काम गरेको उनले बताए ।