भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा

रुपन्देही–२ मा आगामी निर्वाचनलाई लक्षित गर्दै विकास, औद्योगिक विस्तार र सुशासनको स्पष्ट योजनासहित नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) चुनावी अभियानमा सक्रिय देखिएका छन्। सफल उद्यमी, समाजसेवी तथा राजनीतिक व्यक्तित्वका रूपमा परिचित शर्मा आफ्नो अनुभवलाई नीति निर्माण तहमा प्रयोग गर्दै क्षेत्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित निर्वाचनमा होमिएको बताउँछन्।

शर्माका अनुसार रुपन्देही–२ भौगोलिक अवस्था, व्यापारिक इतिहास र उपलब्ध जनशक्तिका कारण आर्थिक सम्भावनाले भरिपूर्ण क्षेत्र हो। विशेषगरी बुटवल ऐतिहासिक व्यापारिक सहर भए पनि अब परम्परागत व्यापारबाट आधुनिक औद्योगिक तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ रूपान्तरण आवश्यक रहेको उनको धारणा छ। औद्योगिक विकासबिना आर्थिक समृद्धि सम्भव नहुने भन्दै उनले औद्योगिक क्रान्तिमार्फत आयात प्रतिस्थापन, निर्यात वृद्धि र स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताए।

उद्योग सञ्चालनका क्रममा भोगेका नीतिगत र कानुनी जटिलताले आफूलाई राजनीति प्रवेश गर्न प्रेरित गरेको उनको भनाइ छ। समस्या बुझ्ने व्यक्ति नीति निर्माण तहमा पुगेमा सुधार सम्भव हुने विश्वासका साथ प्रतिनिधिसभामा जाने निर्णय लिएको उनले स्पष्ट पारे।

आर्थिक विकासका लागि उनले बुटवल औद्योगिक क्षेत्र विस्तारलाई प्राथमिकतामा राखेका छन्। साथै लामो समयदेखि चर्चामा रहेको मोतिपुर औद्योगिक क्षेत्रलाई शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुटवललाई आईटी हबका रूपमा विकास गर्ने योजनाअन्तर्गत डिजिटल स्टार्टअप इन्क्युबेसन सेन्टर, टेक्नोलोजी पार्क, फ्री वाइफाइ जोन, सीसी क्यामेरा सहित सुरक्षित सहर अभियान तथा डिजिटल सीपमूलक तालिम सञ्चालन गरिने उनले बताए। आईटी, बैंकिङ, बीमा, उद्योग र व्यापारलाई एउटै आर्थिक इकोसिस्टममा जोड्दै पश्चिम नेपालको आर्थिक केन्द्र निर्माण गर्ने उनको लक्ष्य छ।

स्वास्थ्य क्षेत्र सुधारलाई उनले अर्को प्राथमिकताका रूपमा अघि सारेका छन्। रुपन्देही–२ का अस्पतालहरूको स्तरोन्नतिसँगै लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना उनले प्रस्तुत गरेका छन्। यसबाट विशेषज्ञ चिकित्सक उत्पादन, अनुसन्धान तथा गुणस्तरीय उपचार सेवा विस्तार हुने अपेक्षा गरिएको छ। आम्दा अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र ७० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण व्यवस्था गर्ने योजना पनि उनले अघि सारेका छन्।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई निजी विद्यालयसरह प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ। कक्षा १२ सम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने वातावरण निर्माण गरिने उनले बताए। उच्च शिक्षातर्फ लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने तथा विभिन्न सामुदायिक क्याम्पसहरूको स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। प्राविधिक शिक्षामा जोड दिँदै इन्जिनियरिङ तथा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरिने उनको भनाइ छ।

शहरी विकासअन्तर्गत तिलोत्तमा र सैनामैनालाई हरित, सुरक्षित र प्रविधिमैत्री सहरका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ। खानेपानी, ढल व्यवस्थापन, फोहोर प्रशोधन, ट्राफिक व्यवस्थापन र नदी किनार करिडोर निर्माणमा विशेष ध्यान दिइनेछ। तिनाउ र दानव नदीलाई स्वच्छ तथा आकर्षक बनाउँदै पर्यटन प्रवर्द्धन गरिने तथा पुरानो बटौली क्षेत्रलाई हेरिटेज जोन घोषणा गर्ने योजना रहेको उनले बताए।

ग्रामीण क्षेत्रलाई कृषि हबका रूपमा विकास गर्दै कृषिजन्य उत्पादनलाई उद्योगसँग जोड्ने रणनीति पनि उनले अघि सारेका छन्। किसानलाई लगानी, बजार सुनिश्चितता, सिँचाइ विस्तार, कृषि बीमा र उत्पादन बिक्री केन्द्र स्थापना गरिने योजना रहेको छ। ‘एक घर–एक रोजगार’ अवधारणामार्फत कृषि र साना उद्योगबाट स्थानीय रोजगारी सिर्जना गरिने उनको भनाइ छ।

साथै पारदर्शी कर प्रणाली, उद्योगमैत्री कानुनी व्यवस्था, मजदुरको सामाजिक सुरक्षा, तथा सामाजिक रूपमा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्यको सेवा–सुविधा रकम स्वास्थ्य सुरक्षा कोषमा खर्च गर्ने घोषणा समेत उनले गरेका छन्।

मतदातासँग अपिल गर्दै शर्मा रुपन्देही–२ लाई उद्योग, आईटी, शिक्षा, स्वास्थ्य र कृषिको सन्तुलित केन्द्र बनाउने स्पष्ट रोडम्याप आफूले प्रस्तुत गरेको बताउँछन्। विकासलाई व्यवहारमा उतार्न इमानदार प्रयास गर्ने प्रतिबद्धतासहित उनले मतदाताको विश्वास नै आफ्नो सफलताको आधार हुने विश्वास व्यक्त गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित