प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

गुल्मीमा आगलागीबाट २८ घरगोठ जले

गुल्मी । गुल्मीका विभिन्न स्थानमा लागेको डढेलोबाट ठूलो क्षति भएको छ । शुक्रबार र शनिबार इस्मा गाउँपालिकाको १ र ४ वडामा लागेको आगोले २७ घरगोठ र गुल्मी दरबार गाउँपालिकामा एउटा घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेर भौतिक संरचना र पशुचौपायाको क्षति गरेको छ । इस्मा– १ की वसुन्धार कुँवरको घर बंगालो पूर्ण रूपमा जलेर नष्ट हुँदा घरमा भएको सबै सम्पत्ति र गोठमा रहेका आठ बोका, पाँच बाख्रा र दुई भैँसी जलेर मरेका छन् ।

सोही ठाउँका चन्द्रबहादुर कुँवरको घर, कुटानी पिसानी गर्ने मिल, किराना पसल र बंगालो जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए । यस्तै, रमेश थापाको घरगोठ, होमबहादुर मल्लको बंगालो, लीलाबहादुर थापाको घरकटेरो, टीकाबहादुर रायामाझीको घरगोठ, गोलबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र कुटानी–पिसानी मिल, इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ, रामबहादुर थापाको घरगोठ जलेको छ ।

स्थानीय सिदुंखाको रानी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि हस्तिचौरका १५ जनाको घरगोठ र चार दर्जन पशुचौपाय जलेको उनले बताए । इस्मा गाउँपालिका– ४ को हुल र कोटकोटेरी गरेर शनिबार दुई स्थानमा डढेलो लागेको छ । हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बंगालो, सूर्य र गुन्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन् ।

इस्मा गाउँपालिका– ४ कै कोटकोटेरीमा जंगलको डढेलो बस्ती पसेपछि स्थानीय ऋषिराम खनाल, बलबहादुर दर्जी, सरिता अधिकारी, ज्ञानु अधिकारी, विमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकको घर र कगेश्वर विकको बंगालो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाउँमा पाइपहरू जलेपछि खानेपानीको प्यासमा डढेलो पीडित तड्पिएका छन् । नगद, खाद्यान्न, लत्ताकपडासहित जलेकाले पीडित परिवारको बिचल्ली भएको छ । हावासहित तीव्र रूपमा आगो बस्ती पसेकाले तत्काल उद्धारको काम भइरहेको इस्मा गाउँपालिका– ४ का वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए । उनले डढेलो नियन्त्रणको प्रयास भए पनि तत्काल सम्भावना कम भएको बताए ।

शुक्रबार र शनिबार इस्मा, रेसुंगा, गुल्मीदरबार र रुरुक्षेत्रलगायतका स्थानीय तहका विभिन्न स्थानमा डढेलो बस्तीमा फैलिएको छ । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुई दिनदेखि डढेलो लागिरहेको छ । जंगलको डढेलो बस्ती पस्दा मदाने गाउँपालिकाका केही घरमा पनि क्षति पुगेको छ । इस्मा गाउँपालिका– १ मा लागेको डढेलोका कारण ट्र्याक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका– ७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् ।

उनीहरूको हातखुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलनको कार्य भइरहेकाले आइतबारसम्म यकिन तथ्यांक आउने प्रहरीले जनाएको छ ।

शुक्रबार नजिकैको वनबाट लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ । सबस्टेशन पूर्णरूपमा क्षति हुनबाट रेसुंगा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट करिब दुई करोडबराबरको क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार महत्वपूर्ण कन्डक्टर, केवललगायत सामग्री जलेकाले प्रारम्भिक रूपमा करिब दुई करोडको क्षति भएको अनुमान गरिएको छ ।

रेसुंगा नगरपालिका– ७ को पाताल सामुदायिक वनमा डढेलो लागेपछि उनायचौरको १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारण लाइनको सबस्टेसन आगलागीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए । उनायचौरमा करिब ४१ करोडको लागतमा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा उद्धार र राहतको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । अहिले तत्काल नजलेका घरमा पीडितको खानेबस्नेसहितको व्यवस्थापन गरिएकाले आइतबार थप राहतको काम गरिने उनको भनाइ छ । उनले धेरै स्थानमा डढेलो भएकाले मानवीय क्षति हुन नदिने गरेर सुरक्षाकर्मी र स्थानीयको सक्रियता बढाएको बताए । डढेलोकै कारण करिब तीन दर्जन परिवार खुला आकाशमा बस्न बाध्य छन् । टाेपलाल अर्याल, नयाँ पत्रिका

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित