
दर्ता नभएका अटो रिक्सा सञ्चालनमा कडाई गर्न थालेपछि बुटवलमा दर्ता नभएका अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् ।
विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार बुटवलले दर्ता नभएका अटो रिक्सा सञ्चालनमा विगतदेखि नै रोक लगाउने निर्णय गरेको थियो ।
उपमहानगरपालिकाले यसअघि सञ्चालन हुंदै आएका मान्छेले तान्ने रिक्सा विस्थापित गर्दा पांच वटा रिक्सा बराबर एउटा अटोरिक्सा दर्ता गर्ने सहमति दिएको थियो । सोही अनुसार बुटवलमा १ हजार ४ सय ४० वटा अटोरिक्सा दर्ता भई संचालन भईरहेका छन् ।
दर्ता गरिएका १ हजार ४४० वटा मात्रै अटो रिक्सा संचालन गर्ने अनुमती पाएपछि त्योभन्दा बढी अटो रिक्सा आयात गरेकाहरु असन्तुष्ट रहंदै आएका थिए । बुटवलमा दर्ता भएका अटोरिक्साकै हाराहारीमा दर्ता बिनाका अटो रिक्सा सञ्चालनमा छन् । बजारको मागभन्दा धेरै अटो रिक्सा सञ्चालन हुंदा बुटवल बजारको ट्राफिक अस्तव्यस्त बनेको छ ।
नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन विनादर्ताका अटोरिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरपालिकाले बताउंदै आएको छ ।
अटो रिक्सा चालकहरुले लाखौं रुपैया लगाएर किनेका अटो रिक्सा संचालन गरि आफुहरुलाई पनि स्वरोजगार बन्न दिनुपर्ने बताउंदै आएका छन् । उनिहरुले उपमहानगरपालिकालाई अटो रिक्सा दर्ताका लागि पटकपटक दवाव समेत दिंदै आएका छन् । सोहि क्रममा केहि दिन पहिले मात्र अटो रिक्सा दर्ताका लागि दवाव दिन उपमहानगरपालिका गएका अटो रिक्सा चालकहरुले नगरप्रहरी माथी हातपात समेत गरेका थिए ।