
बुटवल । बुटवलमा मंसिर भित्रै अर्को नयाँ केवलकार सिद्धार्थ केवलकार सञ्चालनमा आउने भएको छ ।
हाल बुटवल बाट बसन्तपुर सम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ । मंसिर देखि सिद्धार्थ केवलकार सञ्चालनमा आउने तयारी भए संगै यी दुई केवलकारले यस क्षेत्रमा आर्थिक एवं पर्यटकिय गतिविधि चलायमान गराउने अपेक्षा गरिएको छ ।
सिद्धार्थ केवलकार प्रा.लीका अध्यक्ष राजेन्द्र सिंह गुरुङले अबको डेढ महिना भित्र केवलकार सञ्चालन गर्ने तयारी अनुसार अन्तिम चरणका कामहरु भइरहेको बताए ।
‘योजना अनुसार निर्माणको काम सम्पन्न भएको भए दुई बर्षमा सम्पन्न हुने थियो । तर विविध कारण सम्पन्न हुन सकेन । अब रोपवे जडान गरेर परिक्षण गर्ने अन्तिम तयारीमा छौ । तिहार लगत्तै सुरु गर्ने योजना बनाएका छौ’ उनले भने ।
ीसद्धार्थ केवलकारको तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ०७७ फागुन ९ गते शिल्यनास गरेका थिए । शिल्यनास गर्दा २ बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
केवलकारको अलवा त्यहाँ रिसोर्ट सहितका अन्य पुर्वधार निर्माण हुने प्रा.लीले जनाएको छ । यी सवै परियोजनाको कुल लागत १ अर्ब रहेको छ । केबलकार सञ्चालन पछि बुटवलको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको प्रा.लिका अध्यक्ष गुरुङले बताए ।
सिद्धार्थ केवलकार र लुम्बिनी केवलबारको निर्माणको सुरु १ साता फरकमा गरिएको थियो । तर चन्द्र ढकाल समुहले लुम्बिनी केवलकार द्रुत गतिमा निर्माण गरी सञ्चालनमा ल्याइसकेका छन् ।
टिकटदर १ हजार तोकेपनि सुरुवातको चरणमा छुट भन्दै ७ सय कायम गरिएको छ । बेला बेला चाडपर्वको छुट भन्दै ५० प्रतिशत सम्म छुटमा लुम्बिनी केवलबारले टिकट विक्रि गर्ने गरेको छ ।
एक हजार टिकटदर कायम हुँदा चर्को विरोध भएपछि लुम्बिनी केवलकारले रकम घटाएको थियो । अब सिद्धार्थ केवलकार सञ्चालनमा आएमा यात्रुले बढिमा ५ सयमै केवलकारको यात्रा गर्न पाउँनेछन् ।
सिद्धार्थ केवलकारमा भने बुटवलकै ८० भन्दा बढि लगानीकर्ता छन् । देउराली डाँडादेखि दुई किलोमिटर केबलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ । यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।
बुटवल बजारको अवलोकन गर्दै हरियाली जंगलको माथीबाट गरिने केबलकारको यात्रामा प्राकृतिक दृश्यावलोकन समेत गर्न सकिने भएकाले पनि नुवाकोटमा सिद्धार्थ केवलकार सहजै सञ्चालन हुने प्रा.लीले बताएको छ ।
अध्यक्ष गुरुङका अनुसार मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकोले केबलकारको संचालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने छ ।
पच्चिस वटा गोण्डला रहेको केबलकारमा शुरुआतमा दैनिक ५ हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक १० हजार सम्म यात्रु बोक्न सक्ने छ ।