बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४औं नमराज–दिलिप स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सह–इन्चार्ज नारायणप्रसाद भण्डारीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले एक पोका रगतले पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै उनले रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठनप्रति विशेष आभार प्रकट गरे । पेशाकर्मीको हकहितका लागि संगठन स्थापना भएको उल्लेख गर्दै उनले यसलाई अझ सशक्त बनाएर जैजानुपर्ने धारणा राखे । उनले यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर गरिरहन संगठनलाई सुझाव दिए ।

कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रेमप्रसाद खनालले नयाँ बन्ने सरकारले संघीय निजामती ऐन ल्याउने विस्वास व्यक्त गर्दै कर्मचारीहरुले सेवा प्रवाहलाई अझै सहज र चुस्त बनाउनुपर्ने बताए । नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै १८ वर्ष उमेर पुगेका हरेक स्वस्थ व्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने बताए । स्व.नमराज श्रेष्ठकी छोरी रिना श्रेष्ठले संगठनले हरेक वर्ष स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरी स्मरण गर्दै आएकोमा धन्यवाद व्यक्त गरीन् ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुलीले अस्पतालहरुमा देखिएको रगतको अभावलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । संगठनले रहेक वर्ष नमराज–दिलिप स्मृति दिवसको अवसरमा चैत ६ गते रक्तदान कार्यक्रम गर्दै आइरहेको उनले बताए । कर्मचारीहरुको हकहितका लागि काम गर्दै आएको संगठनले बिभिन्न सामाजिक र रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संगठनलाई अझ बलियो बनाउन एकजुट भई अघि बढ्नुपर्ने धारणा राख्दै अध्यक्ष पराजुलीले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा कर्मभारी मिलन केन्द्र रुपन्देहीका अध्यक्ष प्रेम पोखरेल, हेपी इक्युपमेन्ट डिभिजन बुटवलका प्रमुख जयमंगल राय, नेकपा एमाले पेशागत इन्चार्ज मेघदेव पन्त, नीति अनुसन्धान आयोगका केन्द्रिय सचिव काशीराम आचार्य, कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा पेशागत इन्चार्ज कल्पना थापा, स्व.नमराज श्रेष्ठकी श्रीमती पदमकुमारी श्रेष्ठ, स्व.दिलिप न्यौपानेकी श्रीमती लक्ष्मी न्यौपाने लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संगठनका केन्द्रिय प्रतिनिधि नरमाया श्रीसले जानकारी दिइन् । सोही अबसरमा रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरीएको थियो ।
वि.सं २०६८ साल चैत ६ गते कार्यालयतर्फ जाँदै गरेको अवस्थामा नमराज श्रेष्ठ र दिलिप न्यौपाने सवार मोटरसाइकललाई बुटवलको मिलनचोकमा टिप्परले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । संगठनका उपाध्यक्ष विष्णु खनाल पन्थीको स्वागत तथा सहसचिव प्रेम केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










