बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ शनिबार एक विशेष समारोहका बीच सम्पन्न गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा र भावी योजनाबारे चर्चा गरिएको थियो।
समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले विद्यालयको सफलताको आधार नै विद्यार्थीको बहुआयामिक विकास भएको उल्लेख गरे । उनले भने, “हामी विद्यार्थीलाई अक्षर मात्र चिनाउँदैनौँ, उनीहरूभित्र लुकेको प्रतिभा प्रस्फुटन गराएर असल नागरिक बनाउन केन्द्रित छौँ।”

सो अवसरमा बोल्दै प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत मधुसूदन बेलबासे र विद्यालयका सल्लाहकार डा. विष्णुप्रसाद शर्माले विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गरे। कार्यक्रमको अध्यक्षता गरिरहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद मरासिनीले विद्यालय, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले नै उत्कृष्ट नतिजा सम्भव भएको बताउनुभयो। उनले थप भने, “उत्कृष्ट अंक मात्र हाम्रो लक्ष्य होइन, प्रविधिमैत्री र व्यवहारिक शिक्षा दिँदै संस्कारयुक्त समाज निर्माण गर्नु हाम्रो दायित्व हो।”
वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने एसईई (SEE) परीक्षामा शतप्रतिशत नतिजा दिलाउन सफल विषयगत शिक्षक र उत्कृष्ट कर्मचारीहरूलाई नगद पुरस्कारसहित सम्मान गरियो। समारोहमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक तथा साहित्यिक कलाहरू प्रस्तुत गरेका थिए।

शिक्षकद्वय सिमरन थापा र ब्युटी रसालले सञ्चालन गरेको उक्त कार्यक्रममा अभिभावकहरू मञ्जु भट्टराई र कृष्णप्रसाद न्यौपाने, पूर्व विद्यार्थी बिपिन मरासिनी तथा अध्ययनरत विद्यार्थीहरू अप्सना पराजुली, आयुस्का वि.क. र बोनिसा भुसालले विद्यालयको शैक्षिक वातावरण र आफ्ना अनुभवहरू राखेका थिए ।










