‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

४० जना भन्दा बढिकी आमा–मैनादेवी

मैनादेवी भण्डारी ।

२०१८ सालमा तनहुँको जगरकोट गाविसमा उनको जन्म भएको हो । उनका बुबा भगवत शर्मा लामिछाने हुन् भने आमा पेमाकुमारी लामिछाने । उनले २०६२ सालमा तिलोत्तमा नगरपालिका- ६ मा अनाथ आश्रम स्थापना गरिन् । उनी अहिले पनि सो आश्रम सञ्चालन गरिरहेकी छन् । ५९ वर्षको उमेरमा पनि मैनादेवी आश्रमकै काममा लागिपरेकी छन् ।

८ कक्षा पढ्दै गर्दा १४ वर्षको उमेरमा स्याङ्जाको तत्कालीन कुवाकोट गाविस वारिकुनाका रामचन्द्र भण्डारीसँग उनको विवाह भयो । विवाहपछि पनि उनले १० कक्षासम्म पढिन् । सेन्टअप परीक्षा पनि दिइन् । फाइनल परीक्षा भने फेल हुने आशंकाले दिइनन् ।

घरबाट विद्यालय टाढा । त्यसमाथि बुहारीलाई पढाउनु हुँदैन भन्ने सामाजिक मान्यता । त्यही कारण बिहेपछि नियमित रूपमा विद्यालय जान सकिनन् । नियमित विद्यालय जान नसकेपछि पास गर्छु भन्ने नलागेकाले एसएलसी नदिएको उनले बताइन् ।

मैनादेवीलाई बाल्यकालदेखि नै सामाजिक कार्यमा रुचि थियो । गाउँमा बुबाले गरेको समाजसेवाबाट उनी प्रभावित थिइन् ।

उनको परिवार रूपन्देही झर्‍यो । बाल्यकालदेखि उनमा रहेको समाजसेवा गर्ने रुचिमा श्रीमान् रामचन्द्रको पनि साथ रह्यो । त्यसपछि उनले अनाथ र असहायहरूका लागि काम गर्ने योजना बनाइन् ।

२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाज कल्याण परिषदमा उनले संस्था दर्ता गरिन् । २०६२ सम्म मैनादेवीले सिलाइकटाइ, अचार बनाउने, उद्घोषण तालिम सञ्चालन गरिन् । त्यस्तै असहायहरूलाई न्यानो कपडा वितरणलगायतका सामाजिक काममा पनि उनी संलग्न रहिन् । उनले २०६२ सालमा भने आत्मशान्ति अनाथ आश्रमको स्थापना गरिन् ।

आश्रम स्थापना गरे पनि त्यसको आयस्रोत केही थिएन । आर्थिक स्रोत नभएपछि उनी एउटा हातमा थाल, एउटा हातमा चामल उठाउँदै गाउँ डुलिन् । गाउँबाट उठेको मुट्ठीदानले आश्रमका असहायहरूको जसोतसो साँझ बिहानको छाक टर्थ्यो ।

सुरुका दिनमा उनले धेरै दुःख पाइन् । उनलाई गाउँलेले गाली मात्र गरेनन्, लौरो लिएर लखेट्ने कामसमेत गरेको ताजा स्मरण छ उनीसँग । दिनभर दाल चामल उठाएर पनि छाक टार्न हम्मेहम्मे पर्थ्यो । बिस्तारै सहयोगीको नजर उनको आश्रममा पर्न थाल्यो । दिनहरू केही सहज बन्दै गए ।

अहिले भने मैनादेवी खुसी छिन् । आमाबाबु गुमाएका बेसहारा बालबालिकाको सेवाबाट आत्मशान्ति पाएको उनी बताउँछिन् । तीन जना बालबालिकाबाट सुरु गरेको आश्रममा ३६ जना अनाथ बालबालिकाले सहारा लिइसकेका छन् । अहिले पनि १३ बालबालिका आश्रममा छन् ।

‘४० जना भन्दा बढीलाई यहाँबाट बिदाइ गरियो । त्यसमध्ये कतिपय इन्जिनियर, सब-ओभरसिएर पनि बने । कोहीले पढाउने पनि भए,’ उनले भनिन्, ‘त्यसैले पनि आज मलाई खुसी लाग्छ ।’

आश्रममा रहेका सबै बालबालिका तिलोत्तमा मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा पढ्दै छन् । स्थापनाका सुरुका वर्षमा दुःख व्यहोरे पनि अहिले भने उनलाई आश्रम सञ्चालनका लागि केही सहज भएको छ ।

मैनादेवीले यही आश्रमका लागि २६ वर्ष दिएकी छन् । विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगबाट अहिले पाँचकोठे भवन बनेको छ । श्रीमान् रामचन्द्रले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिएका छन् । उनले त्यही जग्गामा भवन बनाएकी छन् ।

‘आश्रमकै लागि २६ वर्ष बिताएँ । अब आश्रम बन्द नहुने गरी स्थापित भएको छ । आश्रम बन्द हुँदैन । म रहुँला, नरहुँला, आश्रम चलाउन सक्ने मान्छे पनि मैले तयार गरेकी छु ।’  उनले भनिन् ।

आत्मशान्ति अनाथ आश्रमबाट परिवर्तन भई हाल आश्रमको नाम ‘रामचन्द्र मैनादेवी अनाथ आश्रम’ भएको छ । मैनादेवीको एउटै इच्छा छ, ‘प्राण पनि यही आश्रमै जाओस् ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित