

बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बर्षको अवधिमा १८० वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । ०७९ जेठ २ गते यो विमानस्थलमा पहिलो पटक कुँवेतको जजिरा एयरलायन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
जजिराले यो विमानस्थलबाट कुवेतका लागि एक सय २६ वटा उडान गरेको छ । हाल भने जजिरा एयरवेजले यात्रु नपाएपछि गत वैशाख ६ गतेदेखि उडान बन्द गरेको छ । हिमालय एयरलाइन्सले मलेसियाका लागि ३४ वटा चार्टर उडान गरेर रोकेको छ । विमानस्थलका अनुसार एक बर्षको अवधिमा १४ हजार आठ सय ३० जना यात्रु यो विमानस्थलमा आएका छन भने २० हजार एक ३८ जना यहाँ बाट प्रस्थान गरेका छन ।
मंगलबार मात्र राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि मलेसियाका लागि व्यावसायिक उडान थालेको छ । साताको एक दिन मलेसियाको राजधानी क्वालालम्पुर–भैरहवा हुँदै काठमाडौं नियमित उडान सुरु भएको हो ।
मंगलबार बिहान चार बजेर आठ मिनेट जाँदा क्वालालम्पुरबाट उडान भरेको नेपाल वायु सेवा निगमको न्यारोबडी विमान आठ बजेर ४२ मिनेटमा भैरहवामा अवतरण भएको थियो । ९१ जना यात्रु बोकेर आएको विमानमा भैरहवा झर्ने ३१ जना थिए । भैरहवा ओर्लिएको एक घण्टापछि विमान काठमाडौं प्रस्थान गरेको थियो । अब हरेक मंगलबार यो रुटमा नियमित उडान भर्ने निगमले जनाएको छ ।