

बुटवल । जेठ १६ गते बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका हवलदार सुवास अधिकारीको मृत्युमा रक्षामन्त्री पूर्ण बहादुर खड्का जोडिएका छन् । दुर्घटना भवीतव्य भएपनि जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोलानजिकै कारलाई बसले ठक्कर दिँदा कारका चालक सशस्त्र प्रहरीका हवलदार सुवास अधिकारीको मृत्यु भएको थियो । सो दुर्घटनामा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा. सञ्जु खाती खड्काको पनि निधन भएको थियो ।
रक्षामन्त्री खड्काले आफ्नी भाई वुहारी वीरेन्द्रनगर नगरपालिका–७ निवासी डा. सञ्जु खाती खड्कालाई रारा घुमाउन व्यक्तिगत प्रयोजन सहित पदिय दुरुपयोग गर्दै कार चालकका रुपमा सशस्त्रका हवलदार अधिकारीलाई काठमाडौंबाट पठाएका थिए ।
तर बा १३ च ८२५३ नम्बरको कार धनगढीबाट पूर्वका लागि छुटेको मे १ ख ३३३५ नम्बरको बस संग ठोकिन पुग्दा र्दुघटनामा डा. सञ्जु र अधिकारीको मृत्यु भएको थियो । मृतक सशस्त्र प्रहरीका हवलदार अधिकारी गोरखाको आँपपिपलका हुन ।
प्रहरी हवलदार अधिकारी कसरी डा. सञ्जुको चालक बन्न पुगे भन्ने विषय पनि सशस्त्र प्रहरी बल भित्र अहिले अनुसन्धानको विषय बनेको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले हवलदार कसरी चालकको रुपमा खटाइ भन्ने बारे अहिले छानविन भइरहेको बताए । उनले अधिकारीले कसको आदेश अनुसार व्यक्तिगत चालक बनेर गएको विषयमा पनि आफुहरुले छानविन गरिरहेको बताए ।
रक्षामन्त्री खड्काले सशस्त्र प्रहरी बललाई समेत जानाकारी नदिई व्यक्तिगत प्रयोजन सहित डा. सञ्जुको चालक बनाएर पठाउँदा अधिकारीको मृत्यु भएको भन्दै अहिले खड्काको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
युवा नेता रवि किरण हमालले सशस्त्र प्रहरीलाई चालक बनाएर पठाउने उपप्रधानमन्त्री खड्काले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन ।
सामाजिक सञ्जालमा उनले शक्तिको दुरुपयोग रक्षामन्त्री खड्काले गरेको भन्दै छानविन समेत हुनुपर्ने बताएका छन् ।
चालक हवलादर सुवास अधिकारीको परिवारले दाहसंस्कारसमेत गरिसकेका छन् । त्यस्तै डा. सञ्जुको दाहासंस्कार पनि जेठ १९ गते गत शुक्रबार गरिएको छ । मृतक अधिकारीको परिबारले भने यस बारे केही बोल्न चाहेका छैनन् ।
पालुङटार नगरपालिका वडा नं. ३ गोरखाका वडा अध्यक्ष रविन्द्र अधिकारीले घटना बारे परिबारका कुनै पनि सदस्यले मिडियामा बोल्न नखोजेको बताए । घटना दुःखद भएको भन्दै यस बारे आफुलाई पनि धेरै जानकारी नभएको उनले बताए ।